कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यसपालीको चुनावमा कांग्रेसले बहुमत ल्याएरै छाड्ने दावी गरेका छन् ।प्रदेशका राजधानी छिटो तोकिने बताएका छन् ।
गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याएरै छाड्ने बताए ।
उनले भने,‘काँग्रेसले बहुमत ल्याउँछ ल्याउँछ.., अबको सरकार काँग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो ।’ देउवाले चुनाव लगत्तै प्रदेशको राजधानी छिटो तोकिने समेत बताए ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरे ।
प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका उनले सो मतदान केन्द्रबाट छैटौँपटक मतदान गरेका हुन्। मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किएका छन् ।
प्रतिक्रिया