ज्वाइँ नै लोकतन्त्र ? -बबिता बस्नेत

ज्वाइँ नै लोकतन्त्र ? -बबिता बस्नेत


केही दिनअघि नेपाली काङ्ग्रेसका नेता तथा महिनौँदेखि प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलले ‘मेरो उम्मेदवारी खारेज हुनु भनेको लोकतन्त्रको खारेजी हुनु हो’ भन्नु हुँदा अचम्म लागेको थियो । उहाँका ती भनाइहरू सुन्ने जोकोहीलाई कुनै नेताको उम्मेदवारी या पदमा तलमाथि हुनु र लोकतन्त्रको मूल्य, मान्यता र यसका आधारहरूका विषयमा एकपल्ट सोच्न बाध्य बनाएको हुँदो हो । यसै साता यो मुलुककी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवम् नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले पूर्वयुवराज पारसले आफ्नो ज्वाइँलाई नभएर लोकतन्त्रमाथि प्रहार गरेको बताउनुभएको छ । चितवनमा उहाँका ज्वाइँ रुवेल चौधरी र पूर्वयुवराज पारसबीच भएको घटनालाई नेपालको लोकतन्त्रसँग जोड्नु हास्यस्पद मात्र होइन अत्यन्तै अपरिपक्व अभिव्यक्ति पनि हो । उहाँको बंगलादेशी ज्वाइँ नेपाली नागरिक भएर नेपाली काङ्ग्रेसकै कार्यकर्ता भएका भए पनि जाँड खाएर गरेको झगडाले देशको लोकतन्त्र खतरामा पर्दैन । यो देशमा जनताले रगत बगाएर ल्याएको प्रजातन्त्रलाई नेताहरूले लोकतान्त्रिक अभ्यासका नाममा अनेकौँ प्रकारका नाटक मञ्चन गरेर बद्नाम गराउने कोसिस त गरेकै थिए, अब त तिनका नातेदारहरूले गर्ने झैझगडाहरूलाई पनि लोकतन्त्रसँग जोड्न थालियो । आफ्ना नातागोता, ज्वाइँचेला, भाञ्जाभाञ्जीको वरिपरि घुमेको कोइराला परिवारको ज्वाइँ भएकै कारण रुवेलले यो देशबाट के-के फाइदा लिइरहेका छन् भन्ने कुरा त्यसअघि यो मुलुकका सर्वसाधारणलाई थाहा थिएन । सुजाता कोइरालाको ज्वाइँ भएकै कारण उनीमाथि गरिनुपर्ने प्रहरी कारबाहीहरू हुन नसकेका कुरा पनि यही घटनापछि बाहिर आयो । हिजोका दिनमा रुवेल चौधरी यो मुलुकका जनताको चासोका विषय थिएनन्, उनी यो देशमा बस्छन् भन्ने पनि धेरैलाई थाहा थिएन, मतलब पनि थिएन तर अबका दिनमा उनी नेपालीहरूका निम्ति गम्भीर चासो र सरोकारका व्यक्ति हुन । रुवेलमाथि लागेका आरोपका विषयमा निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर नल्याउने हो भने सुजाता कोइरालाका ज्वाइँ भएका कारण मात्र नभएर यो देशमा बसेर गैरकानुनी धन्दा गर्ने विदेशी नागरिकका रूपमा उनीप्रति सबैको चासो रहिरहनेछ ।
आफ्ना सन्तान र आफन्तहरूमाथि विशेष मोह हुनु मानवीय स्वभावको कुरा हो, धेरै-थोरै यो सबैमा हुन्छ । यति हुँदाहुँदै पनि कतिपय घटना यस्ता हुन्छन् जसको विषयमा प्रतिक्रिया दिनुअघि मानिसले सोच्नुपर्ने हुन्छ, विशेषगरी सार्वजनिक पदमा रहेका मानिसले । अहिलेको अवस्थामा सुजाता कोइराला रुवेलकी सासू मात्र होइन यो देशकी उपप्रधान तथा परराष्ट्रमन्त्री पनि हुनुहुन्छ । उहाँ कसरी त्यहाँसम्म पुग्नुभो – किन पुग्नुभो – नेपाली काङ्ग्रेसमा उहाँभन्दा योग्य मानिस नभएर या उहाँको कूटनीतिक योग्यता, क्षमता बढी भएरलगायतका कुराहरू वर्तमानमा गौण हुन् । इतिहास जे भए पनि, कसैलाई मन परे पनि नपरे पनि उहाँ अहिले यो देशका करिब अर्ढाई करोड नेपालीकी परराष्ट्रमन्त्री हुनुहुन्छ । परराष्ट्रमन्त्री भएपछि उहाँले यो देशका निम्ति, नेपालीको शिर उचो हुने के-के काम गर्नुभो यो छलफलको विषय हुनसक्छ त्यो अलग कुरा हो । प्रधानमन्त्रीको औपचारिक भ्रमणमा भारत किन जानुभएन या पछि कस्तो प्रतिक्रिया दिनुभो, साउदी अरबका राजकुमारलाई यो देशको सर्वोत्कृष्ट सम्मान दिने घोषणा गरिसकेपछि बाहिर प्रचारमा ल्याउनै नहुने कुरा ल्याएर त्यसप्रकारको बेइज्जतीपूर्ण सम्मान गर्न मिल्थ्यो कि मिल्दैनथ्यो- यी कुराहरूको मूल्याङ्कन इतिहासले गर्ला । राम्रा कामहरू भएका भए ती पनि बाहिर आउलान् यो अर्कै पाटो हो । अहिले चितवन काण्डमा सुजाताका अभिव्यक्ति जसरी सार्वजनिक भइरहेका छन् ती एउटी मायालु सासूका रूपमा मात्रै आएका छन्, यो देशको पराराष्ट्रमन्त्रीका रूपमा होइन । उहाँ जुन ठाउँमा हुनुहुन्छ त्यो स्थानमा भएका मानिसले दिने अभिव्यक्ति भनेको सत्यतथ्यका आधारमा हुनुपर्छ न कि नाता-सम्बन्धका आधारमा, त्यो थाहा पाउनका लागि उहाँले रुवेल र पारस दुवैबाट भएका भनाभनका घटनालाई बुझ्नुपर्ने हुन्छ, जुन कुरा थाहा पाउनका लागि छानबिन समितिहरू बनाइएका छन् । नेपाली सेना र प्रहरीका तर्फबाट बनाइएका समितिका प्रतिवेदन सरकारकै निम्ति हुन् र उहाँ सरकारमा हुनुहुन्छ । आफ्नै ज्वाइँ संलग्न भए पनि यो देशको परराष्ट्रमन्त्री हुनुको अर्थमा उहाँले सो घटनाको छानबिनका लागि समिति बनेकाले त्यसैका आधारमा बोल्नु उपयुक्त ठानिन्थ्यो या त दुवैलाई कानुनी दायरामा ल्याएर छानबिन गर्ने वातावरण बनाउनुपथ्र्यो । तर, त्यसो नगरी रुवेललाई नभएर प्रजातन्त्रमाथि प्रहार भएको हो भन्दै हिँड्दा यस्ता भनाइहरूले उहाँलाई हास्यास्पद र गैरजिम्मेवार मात्र बनाएका छैनन्, एउटा मन्त्रीका रूपमा उहाँप्रतिको हेर्ने दृष्टिकोण र सम्मानमा पनि कमी आएको छ, यसप्रकारका अभिव्यक्तिले सुजाता कोइरालालाई यो देशकी उपप्रधान र परराष्ट्रमन्त्री होइन स्व. गिरिजाप्रसाद कोइरालाकी छोरी र रुवेलकी सासू मात्रै बनाएको छ ।
प्रत्येक साँझ जाँड खाएर विश्वमा हजारौँ घटना हुन्छन्, केही गम्भीर प्रकृतिका हुन्छन् केही सामान्य, नेता, कलाकार, खेलाडी, राजपरिवारका सदस्यहरू, अन्य पेसाका चर्चित व्यक्तित्वहरू आदिका घटना मिडियाले थाहा पाउने प्रकारका भए ती विश्वव्यापी चर्चाका विषय बन्ने गर्छन् । सर्वसाधारणका भए कोठा, चोटा र गल्लीमै थन्किन्छन् । यसप्रकारका घटनाहरू क्षणिक चर्चाका विषय भए पनि दूरगामी रूपमा भने खासै असर गर्ने खालका हुँदैनन् तर चितवनको घटनाले भने नेपालीहरूलाई एउटा गम्भीर सन्देश दिएको देखिन्छ । यसबीचमा भएका प्रदर्शन र मानिसका अभिव्यक्तिहरूबाट भन्न सकिन्छ- नेपालीहरू आफ्नो राष्ट्र र राष्ट्रियताप्रति अत्यन्त सचेत छन् र यो विषयमा कुनै पनि हालतमा सम्झौता गर्दैनन् । यदि पूर्वयुवराज पारसलाई सो दिन धरौटीमा नछोडिएको भए घटनाले अर्कै मोड लिन सक्थ्यो । प्रदर्शनकारीमा राप्रपा नेपालको नाम जोडतोडले आयो तर प्रदर्शन गर्नेमा राप्रपा नेपालका कार्यकर्ता मात्रै थिएनन् । सर्वसाधारणसँग एफएमले लिएको आवाजमा एक वृद्धाको कुराले आर्श्चर्यचकित बनाएको थियो । घटनाको पृष्ठभूमि बाँध्दै यसमा के भन्नुहुन्छ – भन्ने प्रश्नमा उनले भनेकी थिइन्, ‘पारस जसको कोखमा जन्मिएका भए पनि मेरो नातिसरहका मानिस हुन्, मेरो नाति जतिसुकै नराम्रो होस् र छिमेकीको मान्छे जतिसुकै राम्रो होस् मेरा लागि मेरो नाति नै प्यारो हुन्छ, त्यसैले अहिले अप्ठ्यारो परेका बेला सबैले पारसलाई सहयोग गर्नुपर्छ भन्छु ।’ यसरी जुन प्रकारले जनमत उर्लिरहेको थियो त्यसलाई धान्न रुवेललाई गाह्रो पथ्र्यो । यो घटनामा अनेकौँ प्रश्नहरू आए, धेरैलाई लागेको कुराचाहिँ के हो भने अब अरू कुनै काङ्ग्रेसीजनका ज्वाइँ, साला, भतिजाले जाँड खाएर झगडा गर्दै हिँडेमा काङ्ग्रेस सभापति सुशील कोइरालाले यसैगरी विज्ञप्ति निकालेर कारबाहीका निम्ति प्रहरी प्रशासनलाई दबाब दिनुहोला कि नहोला –