विभिन्न जिल्लामा मतगणना शुरु

विभिन्न जिल्लामा मतगणना शुरु


मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरु भएका समाचार विभिन्न जिल्लाबाट प्राप्त भएका छन् । सिन्धुपाल्चोक जिल्लामा साँझ ५ बजेदेखि नै मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना शुरु भएको छ । निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख ५६ हजार ३१२ मत खसेको थियो । जिल्लामा प्रतिनिधिसभातर्फ क्षेत्र नंं १ मा १३ र २ मा नौ जना प्रतिष्पर्धामा हुनुहुन्छ ।

यस्तै, पहिलो चरणमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना रसुवामा पनि शुरु भएको छ । जिल्लामा कुल ३२ हजार ३३२ मतदातामध्ये २६ हजार ९४ मत खसेको थियो । जिल्लाबाट प्रतिनिधिसभातर्फ सात जना चुनावी प्रतिष्पर्धामा छन् ।

उता म्याग्दीमा पनि आज साँझदेखि नै मतगणना सुरु भएको छ । सदरमुकाम बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेदेखि मतगणना शुरु भएको हो । मतगणनाको निगरानी गर्न सिसी टिभी क्यामेरा जडान गरिएको छ । सो जिल्लामा ७५ हजार ५३७ मतदाता रहेकामा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

संखुवासभामा पनि दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आज साँझ ५ः३० बजेदेखि त्यहाँको जिसस सभाहलमा मतगणना शुरु गरिएको समाचार प्राप्त भएको छ । हलमा दुई भागमा मतगणना गर्ने गरी मतगणना स्थललाई तारजाली गरिएको भने तारजालीभित्र गणकहरु र बाहिर दलका प्रतिनिधिहरुलाई राखिएको छ । मतगणना स्थलमा सिसि क्यामेरा समेत जडान गरिएको छ ।

यसैगरी धादिङ जिल्लामा मतगणना आज साँझ ५ बजेदेखि नै शुरु भएको छ । त्यहाँ भिन्दाभिन्दै ६ स्थानमा मतगणना सुरु गरिएको छ भने तारजालीले घेरेर सुरक्षित बनाइएको मतगणना स्थलभित्र सुरक्षाकर्मी र कर्मचारीमात्र राखेर गणना गर्ने कार्य गरिएको मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले जानकारी दिएका छन् । धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १८ हजार १५० मतदातामध्ये ७९ हजार ४२३ जनाले मत खसालेका थिए । प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख १५ हजार ३५५ मतदातामध्ये ७६ हजार ९५० जनाले मतदान गरेका थिए ।

उता, लमजुङमा पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आज साँझ ५ बजेदेखि मत गणना शुरु गरिएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको लमजुङमा चार स्थानबाट मतगणना शुरु गरिएको छ । प्रतिनिधिसभाका लागि दुई समूह, प्रदेश सभा क र ख मा एक÷एक समूह बनाई मतगणना गरिँदै छ । मतगणनामा कर्मचारीसहित राजनीतिक दलका एक÷एक प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा कर्मचारी, दलका आधिकारिक प्रतिनिधि र सञ्चारकर्मीबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ ।

लमजुङमा प्रतिनिधि सभा सदस्यका लागि ११ जना र दुई प्रदेशमा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । एक लाख १५ हजार ४४९ मतदाता रहेको यस जिल्लामा ७७ हजार तीनसय ४० मतदाताले मतदान गरेका थिए ।

यसैगरी पाँचथरमा पहिलो चरणअन्तर्गत यही मंसिर १० गते भएको निर्वाचनपछि आज साँझ ५ बजेदेखि मतगणना शुरु भएको छ । सदरमुकाम फिदिमस्थित जिससको सभाकक्षमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा एक लाख २५ हजार २१९ मतदाता रहेकामा ७७ हजार ८०३ मत खसेको थियो ।