दुर्घटनामा एकको मृत्यु, चार घाइते

दुर्घटनामा एकको मृत्यु, चार घाइते


सदरमुकाम बेसीशहरमा बिहीबार साँझ भएको माइक्रोबस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

काठमाडौँबाट बेसीशहर आउँदै गरेको ग १ ख २४७६ नंको माइक्रोबस बेसीशहरबजारको पुरानो बैंकचोकमा दुर्घटना हुँदा क्वहोलासोथार–४, भुजुङकी श्रीकुमारी गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकी गुरुङलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । घाइतेमध्ये चितवनकी ममता गुरुङलाई उपचारका लागि पोखरा लगिएको छ । अन्य घाइतेमध्ये रोशन गुरुङ, अञ्जली घले र दीक्षा घलेको सामुदायिक अस्पताल बेसीशहरमा उपचार भइरहेको छ ।

तीव्रगतिमा बेसीशहर बजारमा हुइँकिएको माइक्रोबसले बजारमा हिँडिरहेकालाई एक्कासि ठक्कर दिएको थियो । राससका अनुसार माइक्रो चालक दुर्घटनापछि फरार रहेको र निजको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।