नुवाकोटमा वामको अग्रता, पच्छ्याउँदै रामशरण महत

नुवाकोटमा वामको अग्रता, पच्छ्याउँदै रामशरण महत


प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

बिहीबार साँझदेखि शुरु भएको मतगणनाको आज बिहान ६ बजेसम्मको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ तीन हजार ३३३ मतका साथ अग्रस्थानमा रहनुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार डा रामशरण महतले दुई हजार ८७१ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा तीनहजार ७० मतको साथ अग्रस्थानमा रहनुभएको छ । नेकाका उम्मेदवार अर्जुननरसिंह केसीले एक हजार ९७० मत प्रात गर्नुभएको मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिए ।

प्रतिनिधिसभातर्फ जस्तै प्रदेशसभातर्फ पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश (क) मा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ एकहजार ५२५ मतका साथ अग्रस्थानमा रहेका छन् । भने नेकाका उम्मेदवार महेन्द्र थिङले एक हजार ४१ मत प्राप्त गरेका छन् । प्रदेश (ख) मा एमालेका बद्री मैनालीले एकहजार ७३९ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेकाका उम्मेदवार रमेशकुमार महतले एक हजार ११९ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश (क) मा एमालेका उम्मेदवार केशवराज पाण्डेले एक हजार ९४८ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ भने नेकाका उम्मेदवार जगदीशनरसिंह केसीले एकहजार ३३४ मत प्राप्त गरेका छन् । प्रदेश (ख) मा माओवादी केन्द्रका उम्मेदवार हीरानाथ खतिवडाले एक हजार ५२६ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेकाका उम्मेदवार जगतबहादुर तामाङ एक हजार ३८८ मत प्राप्त गरेका छन् ।

रासस अनुसार नुवाकोटमा प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार पद गरी कूल छ पदका लागि ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।