राजनीतिकदलहरुले के निम्त्याउँदैछन् ?

राजनीतिकदलहरुले के निम्त्याउँदैछन् ?


-सुमल कुमार गुरुङ,
मेरो एकजना सुबेदारनी बज्यै थिईन् मलाई निकै माया गर्ने । म त्यस्तै सात-आठ वर्षको थिएँ । हिउँदमा हाम्रो गाउँमा घाम अलि ढिलो उदाउँछ । उत्तर फर्केको पहाडी गाउँ, माथि पञ्चासे डाँडाले गर्दा घाम ढिलो झुल्किन्छ र जाडो याममा निकै कठ्याङ्ग्रिने जाडो हुन्छ । बज्यैले गोलमरिच हालेको नूनचिया खुबै पिउँथिन् र घर आउने सबैलाई गोलमरिच चियाबाट स्वागत गर्थिन् । जाडो याममा पिएको त्यो गोलमरिच हालेको चियाको स्वाद अहिले पनि म सम्झन्छु । बज्यैले बेलाबखत एउटा कुरा भन्ने गर्थिन्, ..अघि नाप्नु चारहात, पछि नाप्नु बारह हात.. । सानोमा मैले पटक-पटक बज्यैले भनेकी ती शब्दहरु सुन्ने गर्थें तर, मेरो कलिलो मगजमा त्यसको अर्थ खुल्ने थिएन र बुझ्ने कोशिस पनि कहिल्यै गरिनँ । बिस्तारै ठूलो हुँदै गएँ र म जवान भएँ । हाम्रो घर र सुबेदारनी बज्यैको घरको बीचमा घोडाको एकपाखे तबेला थियो । एकदिन म पल्टनबाट बिदामा आएको बेला घोडाको तबेलाको अघिल्तिर धान कुट्ने ढिकी भएको घरको छानामाथि घाम तापिरहेको बेलामा घरबाट बज्यै निस्किईन् र मलाई ..अब नातिको विवाह गरिदिने हो, कुन भाग्यमानीलाई दुलही बनाएर ल्याउने हो बाबु ? बाबु जहिले पनि केही गर्दा अघि नाप्नु चारहात पछि नाप्नु बारहहात.. भनिन् । त्यही बचपनमा सुनेको शब्द दोहोरियो । म बज्यैलाई श्रद्धाले हेरेँ अनि ..हुन्छ बज्यै, विवाह गर्नुपर्ला.. भनेँ । बज्यैले टाउकोमाथि हात राखेर धेरै आशीर्वाद भट्टयाउँदै मलाई केही सोच्न बाध्य गराईन् । पढे-लेखेकी होइनन् बज्यै, तर, बज्यैले मलाई ठूलो अर्ती दिएकी थिईन् । बज्यैको कुरा, मान्छे सदा चनाखो भएर कुनै पनि काम गर्दा योजनाबद्ध तरिकाले धेरैपछि सम्मको सोच राखेर काम गर्नुपर्छ भन्ने अर्थ मैले बुझें ।

शतरंज (बुद्धिचाल) खेल्दा प्राय आफूले चालेको मोहरालाई चौतर्फी कवच राखेर पछिसम्मको कैयौवारबाट बच्ने बिचार गरेर चाल अघि बढाउँछ । त्यसरी नै कुनै पनि योजना बनाउँदा धेरै पछिसम्मको सोंच राखेर योजना बनायौं भने त्यो योजनाले दिगो सफलता प्राप्त गर्न सकिन्छ । प्रसंग नेपालको राजनीनिकदलहरुको खिचलोले र कमजोर व्यवस्थापनले गर्दा नेपाल जस्तो गरीब विकासोन्मुख राष्ट्रको विकास भइरहेको छैन । विकासका लागि धेरै पछिसम्मको सोच राखेर ऐक्यबद्धता जाहेर गर्नुपर्ने अहिलेको समय हो । तर, त्यो भइरहेको छैन । सबैले आफ्नो भविष्यको सुरक्षाबारे सोचेका हुन्छन् । पछिसम्मका लागि केही न केही जोहो गर्ने सोचमा जीवन गुडिरहेको हुन्छ । तर, देशको बारेमा र देशवासीको सामूहिक हितबारे कसले सोच्ने ? देशहितको योजना कहिले बनाउने ? यहाँ त आफ्नै स्वार्थ र पार्टी स्वार्थमा गुमराह भइरहेका छन् ।

दुर्इ दशकभन्दा बढी भइसक्यो नेपालको विकासका लागि बनिने पञ्चवर्षीय योजनाहरुबारे आम जनता अहिले अन्धकारमा छन् । योजनाहरु बनाएकाछन्, तर, ती योजनाहरु कार्यलायहरुको र्‍याकभित्र रेकर्ड बनेर बसेकाछन् । योजनाअन्तर्गत निर्माण गरिएका भौतिक संरचनाहरु योजना अवधिपूर्व नै भत्किसकेका हुन्छन् । विकासको प्रसंग कोट्याउँदा प्रश्नको जवाफमा धेरै कुराहरु आउँछन् । देशको अशान्ति, असुरक्षा, हत्याहिंसाको प्रभाव, राजनीतिकदलहरुको पार्टीगत स्वार्थ, सधैको बन्द र हडतालले देशको विकासमा पूर्णविराम लाग्यो । दश वर्षे जनयुद्धले दशकौसम्मको क्षति पुर्‍याएको छ । बनाउन सयौ वर्ष लाग्छ तर ध्वंस गर्नको लागि निमेष चाहिन्छ । यसरी देशविकासको उल्टो गतिले जनता अन्यौलमा छन् । अहिले त पञ्चवर्षीय योजनाको कुरा छाडौं, देशमा प्रत्येक वर्षको सदनमा ल्याउने बजेटको खिचलोले उपहास गरेझैं लाग्न थाल्यो । दिगो योजनाको बारेमा कल्पना गर्नु मात्र रहेको छ । जहाँ सरकारको अवस्थाको बारेमा के कुरा गर्ने ? २०४६ सालपछिको जननिर्वाचित सरकारले पूरा पाँच वर्ष सरकार चलाउनको लागि किम्बदन्ति बन्दैछ नेपालमा । सरकारको भोलि के हुने हो भन्ने ठेगान छैन त्यस्तो अवस्थामा बजेट ल्याएर कसरी देशले पछिसम्मको योजना बारे निर्क्यौल गर्नसक्छ ? प्रचण्ड आफै प्रधानमन्त्रीपद त्यागेर सरकारबाट बाहिरिएका थिए । प्रधानमंत्री बन्नको लागि फेरि सकुन्जेल नाइटोदेखिको बल लगाएका थिए, तर, अफसोस प्रधानमन्त्रीको लागि आफै हरुवा भएर बाहिरिएका छन् । अब एक्लै मैदानमा रामचन्द्र दौडँदै छन्, शायद १६ पल्ट भइसक्यो । आफुपनि नबन्ने अरुलाई पनि बन्न नदिने । कुरा एउटै छ अन्तरिम संविधानको प्रावधान अनुसार उम्मेदवारी दिनै पर्ने । त्यो अन्तरिम संविधान कसले बनाएको हो ? किन सहमतिमा आउन सक्दैनन् ? यो के नाटक मञ्चन हुँदैछ ? अस्ति भर्खरै सांसद सुनिल बाबु पन्तले यही शब्दलाई लिएर, ..अब नाटक बन्द गर.. भन्ने प्लेकार्ड लिएर विरोध जनाएका थिए । भन्नाले तल्लो तप्काका सांसदहरु पनि अजित भइसकेकाछन् । अचम्म लाग्छ मलाई, जनताले संविधानसभाको निर्वाचनबाट पार्टीहरुलाई संविधान निर्माणको लागि चुनेर पठाएका थिए । तर, यो के खेल भइरहेको छ ? यहाँ त आफ्नो जिम्मेवारीको अनुभूतिसम्म नभएका सांसदहरु कहिले चीन, कहिले भारत र देशविदेशको भ्रमण गरेर मोजमस्ती गरिरहेकाछन् । सरकारको नियन्त्रण कुनै विषयमाथि छैन, लौ हेर्नुहोस्, क्यान्टोनमेन्टभित्र रहेका जनसेनाका कमाण्डरहरु चीन भ्रमणमा गएको पत्तो सरकारलाई छैन । सेना समायोजन भनेको विषयलाई सबैभन्दा पहिले नै समाधान गर्नुपर्ने हो । हजारौं मान्छेलाई समायोजन गर्ने भनेर कतिदिनसम्म उनीहरुलाई खर्च दिँदै सरकारी ढिकुटी रित्याउने हो ? अथवा ती क्यान्टोनमेन्टमारहेका जनसेनाबाट राष्ट्रहितका केही यस्ता कामहरु हुनसक्नु पर्‍यो ? जनताको खुन-पसिनाबाट प्राप्त र जश्व के त्यसै भत्ता खाँदै बस्नका लागि तिरेका हुन् ?

केही वर्ष अघिसम्म पञ्चवर्षीय योजनाहरुबारे सुनिन्थ्यो । अहिले ती सबै लुप्त भएर गएको छ । तर, यथार्थमा भन्ने हो भने नेपालको पञ्चवर्षीय योजनाहरुले आजपर्यन्त पूर्णतया सफलता प्राप्त गरेका देखिएको छैन । पहिलो पञ्चवर्षीय योजना (१९५६-६१) बीचैमा तुहेको थियो । यस योजनाले यातयातलाई प्रमुखता दिएको थियो जसबाट केवल ३० प्रतिशतमात्र काम फत्ते भएको थियो । दोश्रो पञ्चवर्षीय -१९६२-६५) योजना केवल ३ वर्षको अवधिसम्म रह्यो त्यसले केही विकास गर्न सकिएन । त्यसरी नै (१९६५-७०, १९७०-७५, १९७५-८०) तेश्रो, चौथो र पाँचौ पञ्चवर्षीय योजनाहरु मात्र बन्दै गए, तर, केही हुन सकिरहेको थिएन । यी योजनाहरुमा पञ्चायती व्यवस्थालाई सुदृढीकरण गर्ने, गाउँ फर्क अभियानजस्ता कार्यहरु देखाएर केही उल्लेखनीय उपलब्धी हासिल गर्न खोजेका थिए, तर, उल्लेखनीय त्यस्तो केही हुन सकेनन् । यातायात, शिक्षा र सञ्चारलाई लक्ष्य गरेका यी योजनाहरुले केवल केही प्रतिशत काम फत्ते गर्नुबाहेक समग्रमा लक्ष्य अनुरुप काम गर्न सकेको थिएन । त्यसरी नै छैठौं र सातौ पञ्चवर्षीय योजनाहरु (१९८०-८५, १९८५-१९९०) कृषि, सामजिक क्षेत्र र निजिकरणतर्फ विदेशी सहयोगको आपेक्षा गरेर देश विकास गर्ने जुन योजना थियो त्यो पनि सफल हुन सकेन । यहाँसम्म भयोकि दातृराष्ट्रहरुबाट प्राप्त रकम पनि सही रुपमा परिचालन गर्न असक्षम रह्यो । त्यसपछिका नयाँ नेपालका सरकारले दुर्इ दशकबितिसक्दा पनि योजनाहरुबाट केही माखो मार्न सकिरहेको छैन ।

संसारको सबैभन्दा निर्धन राष्ट्रहरुमध्येको राष्ट्र नेपालको आउने दिनहरु भयावह देख्न थालेको छ । कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भएको बेलामा मेलम्चीको पानी काठमाडौको घरघरमा ल्याएर तपाईहरुको खुट्टा धुने धारा बनाइदिन्छु भन्ने शब्द मेरा कानमा र्‍याङ्ग-र्‍याङ्ती बज्न थाल्छन् अचेल पनि । उनले बोलेका यी शब्दहरु २० वर्ष हुन आँट्यो । कानूनको अवहेलना, नेताहरुको र राजनीतिक दलहरुको खिंचातानीले गर्दा देश अत्यन्त नाजुक स्थितिको दौरबाट गुज्रिरहेको छ । यी कुरा भनिरहनु पर्ने देखिन्न, सबै प्रत्यक्ष हाम्रै आँखाले देखिरहेका छन् ।

उहिले कुनै बेला पञ्चायती व्यवस्थाको पालामा समाचार, पोस्टरदेखि रेडियोसम्मका सञ्चार माध्यमले हरियो बन, नेपालको धन भनेर व्यापक प्रचार-प्रसार गरेर जनतालाई वनको बारेमा जनचेतना ल्याउने कोशिस गरिएको थियो, तर, बहुसंख्यक जनता नै अशिक्षित भएपछि यी कुराहरु बुझ्न सकेनन् । गाउँदेखिको नेतृत्व वर्गले नै यसतर्फ सही ध्यान पुर्‍याउन नसकेकोले जनचेतना ल्याउन असमर्थ रहेको थियो । नेपालको अस्सी प्रतिशत जनता ग्रामीण क्षेत्रमा छन् तर, जनताहरुलाई बन संरक्षणको बारेमा उचित शिक्षा गाउँस्तरबाट दिने काम नभएकोले र बेलैमा सचेत भएर नियन्त्रन गर्न नसकेकाले नेपालको बनहरु मासिँदै गए । केही वर्षयतादेखि सामुदायिक बन समितिहरु खडा गरेर केही नियन्त्रण गर्ने कोशिसचाँहि भइरहेको छ । अहिले मलाई सम्झना हुन्छ । हाम्रो गाउँमाथि बनपाला छ । धेरै वर्षअघि त्यो बनपालाको बिचबाट निकै गतिलो मनमोहक छहरा कलकलाउँदै हिउँदमा बगेको देख्न सकिन्थ्यो । त्यसैकारण खोलाको नाम पनि छहरेखोला राखिएको बुझिन्छ, तर, अहिले त्यो छहरा हिउँदमा देखिँदैन, वर्षयाममा पानी पर्दा डरलाग्दो भेल उर्लेर आएको मात्र देखिन्छ । बातावरण परिवर्तन भईरहेको छ । हिमालहरु टम्म हिउँले भरिएका देखिन्थे, तर, अहिले हिउँ पग्लँदै गएको छ, काला काला ढुंगाका धर्साहरुले जलवायु परिवर्तन भएको संकेत दिइरहेको छ । हामीले सोच्नु पर्ने र गर्नुपर्ने धेरै छन् । योजनाहरुको कुरागर्दा र भाषण गर्दा नेपाललाई एकदशकभित्र सिंगापुर बनाउँछौ भनेर नेताहरु कुर्लिन्छन् । आजभन्दा दुर्इ दशक पहिले एकजना वातावरणविदले नेपालको वातावरणीय भविष्यबारे सम्प्रेषन गरेका एउटकुरा सम्झदै छु । लेखकले नेपालमा यही हिसाबले बन मास्दै जाने हो भने खडेरी हुनेछ, नेपालका हिमशिखरहरु सबै पग्लेर जानेछन् र पानीको श्रोतहरु सबै सुकेपछि नेपाल मरुभूमिमा परिणत हुनेछ भनेर आफ्नो लेखमार्फत सचेत गराएको सम्झन्छु ।

हामीले सधै भन्ने गर्छौं, तर, त्यसलाई काममा उल्था गर्न सँधै असक्षम हुँदै आएका छौ । नेपालको सबैभन्दा ठूलो विकासको सम्भावना भनेको पर्यटन र जलस्रोतको सही उपयोग हो । पर्यटनको कुरागर्दा देशको अशान्ति र राजनीतिक अस्थिरताले गर्दा देशमा सुरक्षाको अभाव भएकोले पर्यटनक्षेत्र उदासीन छ । पर्यटकहरु आफ्नो ज्यान जोखिममा राखेर अशान्ति भइरहेका मुलुकतिर आउन चहान्नन् । त्यसैकारण पर्यटनक्षेत्रमा देशले विकास गर्न सकिरहेको छैन । ८३ हजार मेगावत विधुत क्षमता भएको हिमनदीहरु त्यतिकै खेर गइरहेकाछन् । एक प्रतिशत मात्र विद्युत उत्पादन गर्न सफल भएको छ । नेपालको ग्राहस्थ उत्पादनको सूचकांकमा विदेशबाट भित्रिएको रेमिट्यान्सको ठूलो आंकडाले राष्ट्रको आर्थिक भार थेगेको प्रष्ट देखिन्छ । तर, अहिले विदेशमा डलर र पाउण्ड कमाउनेहरुले नेपालमा पैसाको रेमिट्यान्स कम गरिरहेका छन् । भन्नको अर्थ देशको स्थितिले गर्दा नेपालीहरु पलायन भइरहेका छन् । सहमति भन्ने शब्द दिनहुँ सुनिन्छ, तर, यी नेता र पार्टीहरुले गर्न के खोजिरहेका छन् ? देशले चाहिएको छिटोभन्दा छिटो संविधान लेखेर कैयौ वर्षदेखिको गर्नुपर्ने यावत विकासका कामहरुतर्फ पटक्कै ध्यान छैन । पञ्चवर्षीय योजनाहरुअन्तर्गत वातावरण, शिक्षा, स्वास्थ्य, भौतिक संरचनाहरु, पर्यटन, विधुतिकरण, यातयात, नेपाली समाजको सन्तुलन, मित्रराष्ट्रहरुसँगको सम्बन्ध र नेपाल आफैमा आत्मनिर्भर हुने योजनाहरु कहिले आउला ? देशलाई कसले दिशा दिने ? देशलाई सही दिशामा डोर्‍याओस् भनेर जनताले सांसद बनाएर पठाएका यी नेताहरु र राजनीतिकदलहरुले के निम्त्याउँदै छन् ?