शून्यको आवाज र मानसिक चित्कारहरु

शून्यको आवाज र मानसिक चित्कारहरु


-प्रकाश के.सी.,
यो प्रयोग होइन । आविस्कारक बन्ने कुनै चाहना अन्तर्निहित भएर रहेका छैनन् । कौतूहलता पटक्कै जागेको होइन । फगत, समय हुँदो हो पर्याप्त, सायद । त्यसैले झ्याल ढोका पूर्ण बन्द गरेकोछु । बत्तीहरु निभाएको छु । र यस्तो अन्धकारमा छु कि, आफैलाई देख्दिनँ । निष्पष्ट अन्धकारमा म अस्तित्वविहीन भएको छु । हुन सक्छ, त्यही अस्तित्वहीन अवस्थाको ‘पन’ जो हमेशा शून्यतामा निर्लिप्त हुन्छ, को आवाज सुन्न चाहेको छु ।

‘आदि’ र ‘अन्त’को बीचमा हामीले जीवन भोग्छौं र ती अवधिभित्र सुन्न, चाहने अनि सक्नेदेखि लिएर सुन्नै नचाहने र नसकिने पनि सुन्छौं । श्रवण गरिएका कथ्यहरुमा जीवन खोज्छौं, भोग्छौं, आदर्श पहिल्याउँछौं वा पहिल्याउन खोजेजस्तो गर्छौं । यो अवधिभरि हामी भ्रममा हुन्छौं, सोबारे पार हुन्छौं या कतै त्यसै पेण्डुलमजसरी झुलिरहन्छौं । ‘आदि’ र ‘अन्त’को बीचमा जीवन भए, ‘आदि’ र ‘अन्त’मा के हुन्छ त ? ‘आदि’ र ‘अन्त’मा शून्य हुन्छ । मानव जीवन शून्यबाट शुरु भएर शून्यमा विलाउँदछ । ‘अगाडि’ र त्यसपछिको ‘पछाडि’को बारेमा आशावादीहरुले जति नै लामो नाम दिए पनि, जति नै सम्भावनाहरु बाँडे पनि, त्यो निर्विकल्प रुपमा शून्यमा हराउँदछ । र यहीँ त्यो शून्य, जो ‘आदि’ र ‘अन्त’मा हुन्छ, लाई श्रवणीय भनाएका छन् ती ज्ञाताहरुले जसले जीवनको अर्को अध्याय पनि हुने मान्दछन् ।

काठमाण्डौबाट नेपालगन्ज जाने क्रममा तराईको एक बाटोमा गाडी बिग्रिएको सम्झना आउँछ । स्केलले कोरेको जस्तो लामो अनि सीधा बाटोमा अर्को गाडीको पर्खाइमा बसेको हुन्छु । गर्मीको चकमन्न मध्यान्हमा तनक्क तन्किएको त्यो लामो सडकमाथि आगोको जस्तो राप उडेको हुन्छ । सर्वत्र चकमन्न र सुनसान भएको सडकको दृश्यपटलको अर्को छेउको पर, पर एक सानो आकृति देखिन्छ । धेरैबेरपछि अचानकै शून्यताको सो अवस्थामा एक अत्यन्तै मिहीन आवाज आउँछ । उक्त आवाज मधुरो ध्वनि, ‘ऊँ’ जस्तो सुनिन्छ । म सडकको बायाँ हात उठाएर उभिरहेको हुन्छु, केही बेरमा उक्त गाडी हुत्तिएर अगाडि बत्तिन्छ र धेरैबेरमा उपल्लो छेउतिर सानो हुँदै पर पुग्छ । गाडीको ठूलो ‘घुइँ…….’ आवाज मधुरो हुँदै गई विलिन हुनुभन्दा अगाडि उही ‘ऊँ’ जस्तो लाग्ने ध्वनिपछि सानो आकृति भएर गाडी शून्यमा विलाउँदछ । त्यही घडी कुनै एक वैदिक-ज्ञाताको कुरा सम्झेको थिएँ । ‘आदि’ र ‘अन्त’ मा ‘ऊँ’ हुन्छ । मेरो अनुभवमा पनि त्यस्तै लाग्यो । र ‘आदि’ तथा ‘अन्त’ भनेको मानव जीवनमा जन्म तथा मृत्युको ‘अगाडि’ तथा ‘पछाडि’को अवस्था हो । अनि त्यही अवस्था नै शून्य हो । त्यसैले शून्यको आवाज पनि कतै उही ‘ऊँ’ जस्तै हुन्छ कि भन्ने मेरो अनुमान मात्र ।

अहिले अँध्यारो कोठामा छु । निष्पष्ट अँध्यारिएर रहेको यो कोठाका त्यसैले सबै झ्याल ढोकाहरु बन्द गरिएका छन् । अतः शून्य छ । चकमन्नता व्याप्त यस कोठामा मेरो उपस्थिति पनि शून्य भएको छ । साँझ भर्खरै छिप्पिएको छ बाहिर, तर भित्र यस कोठामा कालो रात छ । म आफ्नो धड्कन पनि सुन्न सक्दिनँ, कोठाभित्र धेरैअगाडिबाट रुमल्लिरहेका शून्यका शुष्कताहरु अझै होलान्,सायद । केही चाडहरु योभित्र भने एक्लिएर बितेका छन् । जे होस्, शून्य प्रशस्तै छ । त्यसको आवाजलाई छाम्न म अधीर भएर लम्पसारिएको छु । कोठाको नीरव चकमन्नताको पनि त आफ्नो आवाज हुनुपर्छ भन्ने मेरो मान्यता रहेको होला, या समय एक्लिएर हात परेको होला, जे होला, यसैले खोजीमा भने पक्कै रहेकै लाग्दछु ।

यो सानो परिवेश, मेरो नितान्त आफ्नो परिवेश हो । मेरो स्वामित्वमा रहेको यस परिवेशको म मालिक हुँ । र यो मेरो राज्य हो । कसैको दखल छैन मेरो वर्तमान यस परिवेशभित्र, केही वाध्यताहरुको प्रताडना पनि छैन । म अस्तित्वहीन अवस्थामा छु । काठसरी म भुइँमा लम्पसारिएको छु । मेरो आँखा अगाडिबाट सिलिङ अनि दायाँ वाँयाका भित्ताहरु हराएका छन् । नेपथ्यमा हतारका आवाजहरु छैनन्, चोर्ने, लुट्ने वा मार्ने अनि जल्ने मर्नेहरुका लागि चिच्याउँदै कुद्ने गाडीहरुका आवाज हराएका छन् । दिनभरिको थकाइलाई सराप्दै हिँड्ने कामकाजीहरुका दिकदारीहरु हराएका छन् । जिन्दगी भनेको उफ्रने हो भन्दै उफ्रने बालबालिकाहरुका हल्लाहरु हराएका छन् । न त जीवन भनेको सप्तरङ्गी इन्द्रेणी हो भन्ने ठान्ने युवाहरुका खिल्खिलाहट नै यथावत रहेकाछन् । तर पनि केही त सुनिनै पर्दछ, यस्तो चकमन्न शून्यतामा यहीं कतै केही त हुनै पर्दछ र त्यसैको प्रतीक्षामा छु, भन्छु म ।

मानिसलाई कति चाहिन्छ लम्पसारिनका लागि जमीन – मानिसको आफ्नो शरीरलाई तनक्क तन्काउन मिल्ने नै त होला मानिसको आफ्नो लागि चाहिने जमीन ! काठजसरी तनक्क तन्काएर लम्पसारिन मिल्ने वाकस र त्यसलाई सुलुत्त राख्न सकिने एउटा खाडल नै त हो मानिसको स्वामित्व ! बाकसभित्र लम्पसारिएको शरीरको आसपासझैं नीरव उस्तै प्रकारको प्रभाव उमार्न सक्ने मेरो वर्तमान आसपासमा उस्तै प्रकारको शून्यता सर्वत्र फैलिएको छ । शून्य र अन्धकारले यसरी धावा बोलिरहेका छन्, यसरी अट्टहास लगाइरहेका छन् कि, म त्यही चकमन्न शून्यलाई नै पहिल्याउन नसक्ने गरेर कोलाहतभित्र जाकिँदै गएकोछु । मेरो आसपासको नीरवतालाई सामन्जस्यता गर्न सक्ने किसिमको तटस्थताको अभावमा म आन्दोलित भएको छु ।

बिताइएका पहाडजस्ता समयहरुका सम्झनाहरुका चोइटाहरुले बेलाबेलामा चस्काइरहेका छन् । चसक्क घोँच्ने ती सम्झनाहरुलाई बलजफ्ती फ्याँक्छु । अतीतहरुलाई पाखा लगाउन आँटेको लगत्तै वर्तमान घडीका सयौं समस्याहरु ज्वाजल्यमान भई राँकिएर मनभित्र उम्लन थाल्दछ । कानकै जाली फुटाउला जस्तो गरी समस्याहरु चिच्याउन थाल्दछन् । मेरो शून्यलाई विथोल्न खोज्ने ती समस्याहरुलाई ज्युँका त्युँ त्यहीँ अर्थात् सँगैको वर्तमान घडीमा छोड्न मन लाग्दछ । वर्तमानले कहिले पो छोड्छ र, ती सँधै अनवरत रुपका समस्याहरु, आलश्यहरु, पीर-पीडाहरुका पोकाहरु लिएर मनलाई चारैतिरबाट कोतर्न थाल्दछन् । आधा घण्टाबाट यसरी एकोहोरिएर शून्य सुन्न खोज्दैछु, भनी हालेँ नी, जिज्ञाशा त्यस्तो होइन, आज अनायासै प्रशस्तै समय, एक्लो समय हात परेको छ, त्यसैले । समय बुढेसकालमा झन् पर्याप्त प्राप्त हुन्छन् । कतिपय कृयाकलापहरुबाट विमुख हुनु पर्ने सो बेलामा मेरा सम्हालिएर नसम्हालिने समयले मलाई कस्तो स्वरुपमा पुर्‍याउला ? अन्वेषकजस्तो लाग्ने गरी म प्रयोगमा लीन भएको छु । अचानकै भविष्यका कल्पनाहरुले चिमोट्न थालेका छन् । काठसरी लम्पसारिन मुश्किल पर्दैछ । सोँचाइहरु डरलाग्दा अनि निराशामुखी लाग्दैछन् । अँध्याराका निष्पष्टताले डरलाग्दो मुखाकृति लिन खोजेझैं लाग्दैछन् । अपार्टमेन्टभित्रका शुन्यताहरु विभिन्न स्वरुपका आवाजहरुमा मनभित्रभित्रै चिच्याउन थालेर कान फुटाउला जस्तो गर्दैछन् । वर्तमान अवस्थामा औसत जीवन बाँच्ने मानिसहरु चिन्तामुक्त हुँदैनन्, तटस्थ चिन्तक हुँदैनन्, त्यसैले पूर्या शान्त हुँदैनन्, निर्क्यौल हात पारेको लगत्तै लम्पसारिएको मेरो शरीर सँगै, अगाडि वा पछाडि डरलाग्दा आकृतिहरु लम्पसारिएका लाग्दछन् ।

….हतारिएर फट्याक्क विजुलीको स्वीच अन गर्दछु । मेरो अपार्टमेन्ट तुरुन्तै जीवित भएको छ । झ्याल खोल्छु । हतारका, रमाइलोका, दिक्दारीका, थकथकीका अनि एक पूर्यातः जीवन्त थरी थरीका हल्लाहरु हृवात्तै भित्र छिरेकाछन् । टेबुलमाथि राखिएको ऐना हेर्न पुग्छु, एक हतास अनि निन्याउरो अनुहार देख्छु । झ्यालबाहिरको खुल्ला आकाशमा पटकाहरुका रङ्गी बिरङ्गी झिलमिलहरु आकाशमा फुट्दछन् । तिहारको भाइटीकाको साँझ, कामबाट सीधा घरमा नै फर्केको छु । तिहारभरि लण्डनको यो क्षेत्रमा रहेका भारतीयहरुले दीपावली धुमधामका साथ मनाउँदा रहेछन्, त्यसैको प्रतापस्वरुप बाहिर रमाइलैलाग्दो वातावरण रहेको छ । हतास खोलिएका झ्यालबाहिर, चाडको, हतारको, दिक्दारीको तर जीवन्त विविध हल्लाहरु छरपस्ट भएका छन् । म एक विरसिलो स्वादसँग आफ्नो परिवेशभित्र फर्किन्छु, त्यसपछि ।

धेरै धेरै वर्षपछि पनि यो वर्ष निधार खाली रहेको छ । चेरी आफ्ना दाइभाइहरुलाई टीका लगाइदिन विहानैदेखि माइतीमा पुगेकी छिन् । अपार्टमेन्टको एक कुनामा राखिएको लक्ष्मीको तस्वीर र सोअगाडि राखिएको थालीमाथिका प्रसादसँगै धूप बाल्छु, ससाना मइनहरु अपार्टमेन्टको भित्र चारैतिर बाल्छु, दीपावलीको भ्रम फैलिन्छ मेरो परिवेशमा पनि र त्यसैले तिहार एक तमासको भइदिन्छ । टीभी खोल्छु, कम्युटर अन गर्छु । बाहिरबाट हल्लाहरु अनवरत आइरहन्छन् । पटकाहरुका रङ्गीन चाक्लाहरु आकाशमा आकाशिरहन्छन् । टीभीको आवाज झन् ठूलो गर्छु । चाड सर्लक्क हुर्रिएर मेरोमा सरेको जस्तो लाग्छ । तर यहीं कतै केही टुटेजस्तो लाग्छ, केही नजिकै फुटेजस्तो लाग्छ । हल्लाहरु त्यसैले बाहिरै छुटेजस्तो लाग्छ । उज्यालो विस्तारै धमिलिएजस्तो लाग्छ । र यसरी चकमन्नता अनायासै मेरो खुल्ला परिवेशभित्र छिर्दछ । त्यसैले एक्लो, अति एक्लो लाग्दछु । निस्तो लाग्दछु । शून्यता फेरि एकपटक कोठाभित्र फैलिन्छ र त्यसको प्रभावमा म कान ढाक्न पुग्छु, शून्य जो चिच्याउँदै हुन्छ, आम रीतअनुसार उसैगरी खुल्ला परिवेशमा । अनि म सोँच्छु र बुझेजस्तो गर्छु -शून्यताको आवाज शून्यमा होइन, कोलाहलमा पो चिच्याएको सुनिँदोरहेछ ।
-ग्रीन वुड, लण्डन, भाइटीकाको साँझ