कविताको कमाल -कोरङ्गी प्रेम

कविताको कमाल -कोरङ्गी प्रेम


एकताका मेरो रुचिको विषय भनेको संगीत थियो । त्यो बिनाको जीवन कल्पना पनि गर्न सक्तिनथें । त्यसैले म सानो छँदा अगेनो माथिको खोपीमा रहेको बूढो रेडियोले एकै छिन सुख पाउँथेन । गाई बाख्रा चराउँदा होस् या भाइ वहिनी हेर्दा अथवा बाबु बाजेको बिंडो थाम्नलाई गोरु जोत्दासमेत सुख पाउँथेन त्यो रेडियोले । साँझ विहान गाउँघर डुल्दा छड्के पारेर रेडियो भिरी ठाँटिएर शानले हिंड्दा बेग्लै शान हुन्थ्यो यो ठागुको (ठूलेको) । संखुवासभा सुदूर पूर्वी पहाडी जिल्ला भएकोले रेडियो नेपालको प्रसारणहरु स्याँ-स्याँ गरेर प्रष्ट नसुनिने तर रेडियो खरसाङ र अल इण्डिया रेडियोचांहि ल्कियर । अल इण्डिया रेडियोबाट मीठा-मीठा हिन्दी गीत बज्ने हुनाले सबैले अल इण्डीया नै सुन्थे । त्यति मीठो गीत गाउने रेडियो थाहै नपाई हाम्रा नेताहरु झैं पोइल जाँदा यो ठागुको भोक निन्द्रा सबै हराउँथ्यो । पर्नु पीर पर्थ्यो यो ठागुलाई । त्यो कसरी भने जब बुवा कोलवीरे (तास) मा गोलखाँडी जान्थे रेडियो पोइल गइहाल्थ्यो । त्यसो त पोइल जानेमा अरुहरु पनि ताँती लाग्थे । जस्तै भकारामा बाँधेको पठ्याक्री, कुखुराको भाले अनि हातमा बाँधेको घडी । अझ रमाइलो कुरा त के थियो भने रेडियो र घडी चांहि जति बूढो भयो त्यति नै पोइल जान्थ्यो । महिनापिच्छै, हप्तैपिच्छे हुँदा-हुँदा दिनैपिच्छे । आज फूल बहादुरसँग, भोलि राम बहादुरसँग, पर्सि सुन बहादुरसँग आदि ।

जब ०४८ सालमा उच्चशिक्षा अध्ययन गर्न भनी मञ्जुश्रीले बसालेको बस्ती छिरें मेरो सांगीतिक यात्रा निकै फस्टायो । मेरो बसाइ सानोठिमी भक्तपुरको छात्रवासमा थियो । सोही छात्रावासमा मेरो मामा युवराज गुरुङ पनि बस्नुहुन्थ्यो जो बरियात क्रममा वार्डेन पछि तेश्रो तहमा हुनुहुन्थ्यो । हाल एनआरएन बेल्जियमको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँकै साथी सहायक वार्डेन जो हाल अनौपचारिक शिक्षा केन्द्रमा अधिकृत हुनुहुन्छ र एक अर्का साथीचांहि रेडियो बेइजिङ चाइनामा नेपाली भाषा विशेषज्ञ हुनुहुन्छ । यी ३ उस्तादहरुको माझमा मेरो सांगीतिक यात्रा राम्रैसँग मौलायो । बूढाहरु पालैपालो मादल, गितार र हार्मोनियम बजाउँथे मचांहि घोक्रो फुलाएर नारायण गोपाल बनी टोपल्थेँ । अलिकति लाज अनि धेरै रहरहरुको माझ घोक्रो फुलाएर चिच्याउँदा पेटको लाम्टा दुखेर हुरुक्कै हुन्थेँ । रहरै रहरमा मैले एक साँगीतिक यात्री भेटेँ आले मगर थरको नामचाँहि नेताहरुले भुले झै भुलेँ अहिले । म गाउँबाट आएको सानो ठिटो रातो गाला अनि हातखुट्टामा ननिख्री कटि्ठएर बसेको अलि-अलि लेग्रोको कारणले मलाई सानो भाइ भन्दै खिज्याउथे साथीहरु । त्यसताका ३ जना मामाहरुबीच मेरो सांगीतिक यात्रा निकै फस्टायो । उहाँहरुको अचम्म लाग्दो बाजा बजाइले मेरो जोस-जाँगरलाई निमिट्यान्न नपारे पनि समस्यामा चांहि अबश्य पार्‍यो । अधिकृत मामा यो कटमा गाउनु पर्छ ऊ कटमा गाउनु पर्छ भन्दै गुरुङ्सेनीले भेडाको ऊन फट्कारे झैं गरी गितार फट्काल्थे । चाइनामा हुने मामाचांहि मादलको पनि भाले र पोथी हुन्छ बाबु योचाँहि भाले परेछ त्यति राम्रो स्वर छैन पड्केको भन्दै तल्ला घरेबाले मुढा बनाउँदा गोरुको छाला चुटेझैं चुट्थे अनि मेरो मामाको त के कुरा आ’…गर्दै हार्मोनियमको तालमा राग अलाप्थे बूढा । अरु २ मामाहरुलाई समेत यसरी बजाऊ उसरी बजाऊ भन्दै गाइड गर्थे । मानांै उनी छोटे उस्ताद नै थिए । पछि बिस्तारै कलेजको कार्यक्रमहरुमा गाउँदै जादा पो थाहा पाएँ बुढाहरु सबै फेल । तातो न भुत्लोको बाजा बजाइ बूढाहरुको, त्यसो त मेरो गायन शैली पनि त कम विचित्रको थिएन गीत गाएको हो कि देउसीमा भट्याएको आफैं कन्फ्यूज । मैले मेरो गाउने रहरलाई मार्न सकिनँ, तसर्थ २०४९ सालतिर मेरो साथी र म सिंहदरबार छिर्‍यौं । त्यसताका त्यहाँ सर्वसाधारणलाई रेडियो नेपालको कार्यक्रमहरु हेर्ने सुविधा थियो । त्यस्तै २०४८-५० साल तिर एयरपोर्टमा पनि २० रुपैयाको टिकट काटेर २ तला माथि चढी एयरपोर्टको दृश्यावलोकन गर्न पाइन्थ्यो तर जब जनयुद्व शुरु भयो सबै बन्द भयो । त्यसताका अनुरोध गीतको कार्यक्रम ज्यादै लोकप्रिय थियो । सबैले चिठी पत्रबाट मन परेको गीतको फरमाइस गरी पठाउँथे । हामी रेडियो नेपाल परिसरमा छिर्‍यौं १ कर्मचारीले उहाँ प्रदीप राज पाण्डे हो भनी चिनाए । उहाँको “म तिम्रो शहर छोडी टाडा” भन्ने गीत खुबै हिट थियो त्यसबेला । पछि थाहा पाएँ उहाँको सबै गीतहरु एक से एक रहेछन् । त्यसबेलाका गीतहरु खुवै मेहनत गरेर गाइन्थ्यो परिणाम कर्णप्रिय हुन्थ्यो अहिले मेहनत पनि छैन मिठास पनि छैन । उहिलेका गीतहरु सुन्नलाई गाइन्थे भने अहिलेका गीतहरु हेर्नलाई गाइन्छन् । अहिले गीतको भिज्युअल छैन भने गीतको कुनै अत्तोपत्तो हुँदैन । २०४९ सालतिर हो क्यार हामी २ ले स्वर परिक्षा दियौं । ल, गाऊ भनेर स्थायी र अन्तरा गाउन लगाइन्थ्यो २-३ मिनेट गाएपछि ओके भन्थ्यो र १ महिनापछि रिजल्ट हेर्न आउनू भन्थ्यो । मैले स्वर परिक्षामा गाएको गीतको बोल

“पहिले नै हामीले गरेका थियौ, कहिल्यै नछुटिने बाचा
दुई ढुक्ढुकीको मिलन भयो, मिलन भयो आज” ।
यसरी स्वर परिक्षा त दियौं तर पास हुने छा“ट नदेखेपछि रिजल्ट हेर्न फर्केर जाने आँट गरेनौं ।

मन्जुश्रीको बस्ती (काठमाण्डौ) मा मेरो जिन्दगीको महत्वपूर्ण समय संघर्षमय तरिकाले बित्यो । रोग भोग र गरिवीसँग संघर्ष गर्न मैले त्यही बस्तीमै सिकेको । अतः यो मञ्जुपत्तनसँग मेरो कहिल्यै नटुट्ने नाता सम्बन्ध बसेकोछ । त्यै बस्तीमा घाँटीमा दाम्लो (टाई) झुण्ड्याएर २-४ कौडी कमाइ गर्थें २-४ बर्षअघि । अचानक दिल्लीबाट हाम्रा नेताहरुलाई दर्शनको निम्ति डाकिए झैं मलाई पनि मेरी अर्धाङ्गीनीबाट बोलावट भयो अनि नेताले कुर्सी त्याग्न नसके झैं मैले पनि पत्नी मोह त्याग्न सकिन । परिणाम घाँटीको दाम्लो (टाई) फुकालेर २०६३ फाल्गुन १, फेब्रुअरी १३, २००७ का दिन आरएनएसीको बूढो जहाज चढी छिरेँ हङकङ, जुन दिन माओवादीका भुमिगत नेताहरु खुलामञ्चमा सार्वजानिक हुँदै थिए । जब म हङकङ छिरें मेरो जिन्दगीको अर्को पाटो शुरु भयो । रात दिन सन्चो बिसन्चो केही नभनी टाउको जोत्दा बल्ल थाहा पाएँ के हो जिन्दगी ? के हो नाता गोता ? अनि समयको महत्व ? यसरी टाउको जोत्दा-जोत्दा बिरक्तिएको मनमा बिभिन्न भावनाहरु अंकुराउँथ्यो र तिनै भावनाहरुलाई कविताको माध्ययमबाट उग्राउँदथें । मैले यसरी करिव १२-१५ वटा जति उग्राएँ हु“ला । ती कविताहरु तत्कालीन Nepal.hk ले छापिदिन्थ्यो । म खुरुखुरु उग्राइरहन्थें सो ब्लगका सम्पादक प्रकाश के.सी.ले चाँहि मेरो ऋणै खाए झैं गरी छापिदिन्थे । मेरो कविता हङकङमा सबैभन्दा पहिले यसै ब्लगले छापिदिएको थियो । अत त्यो ब्लगप्रति सदा आभारी छु । त्यै ब्लगले मलाई एउटा पगरी गुथाई दियो कविको जुन मेरो निम्ति असाध्यै भारी बन्यो । यसरी विरक्तिएको मनलाई सम्हाल्दै टाउको जोत्न थालेको पनि ३ बर्ष बितिसकेछ । यतिका बर्षपछि एक पल्ट नेपाल जानु पर्‍यो भनी चाँजोपाँजो मिलाउन थाले । सबैभन्दा पहिले त छोरी श्रेयाको पासपोर्ट बनाउन जरुरी थियो । त्यसैले Aug 14, 2009 शुक्रबारका दिन ड्यूटीबाट आबश्यक कागजात बोकेर चिम्साचुइस्थित नेपाली महाबाणिज्य दूतावासतर्फ हानिएं लन्च ब्रेकमा ।

आवश्यक कागजातका साथ फारम भरी काउण्टरमा बुझाएं । काउण्टरमा रहेको कर्मचारीले सबै कागजातहरु हेरे पछि तपाईंको एउटा कागज पुगेन भन्यो । मैले सोधें “के पुगेन” ? जवाफमा उसले भन्यो “बिवाह दर्ताको प्रमाण पत्र नेपालीमा” । “मसँग छैन भएको कागजात सबै यिनै हुन्” मैले भनेँ । “त्यसो भए फ्याक्स् गरी मगाउनुस् नेपालबाट”। अब कति हजार गोलखाँडी जाने भो भन्दै लागे कामतिर । काममा पुगेर टाउको मात्र के जोत्न थालेको थिएं withheld नम्बर आयो । फोन उठाएँ, एउटा स्त्री स्वर कानमा गुन्जियो । तिनले सोधिन “कोरङ्गी भन्ने मान्छे तपाई हो ? हाकिम साहेवले खोज्नु भा छ कुरा गर्नुस्” भनिन् र फोन हाकिमलाई दिईन् । हाकिमचांहि चितवन निवासी उत्तम न्यौपाने हुनुहुन्थ्यो पछि चिनजानमा थाहा पाएँ । मैले भनेँ “हजुर सर म कोरङ्गी” । हाकिम “कोरङगी जी, तपाई त हिँडीहाल्नु भएछ, हामीले त यता-उता खोज्यौं तपाईलाई । तपाईको नपुग कागजपत्र घरमा छ कि फोन गरेर सोध्नुस्, पो भनेको त कहाँ हिँडीहाल्न भा को ? हाम्रो प्रकाशजीको nepal.hk मा कोरंङ्गी भन्ने मान्छेले कविता लेखिरहन्थ्यो त्यो तपाई नै हो ?” । “हजुर सर त्यो कोरङगी मै हुँ । यसो बचेखुचेको समयमा कोरी टोपल्थें । प्रकाश सरले निकाली दिनु हुन्थ्यो” । हाकिम साहेवले मेरो कविताको नाडी छाम्दा ठीकै पाएछन् क्यार “तपाईका कविताहरु राम्रा छन् । ल भोलि आउनुस् बिल काटेर जानुस्” भन्नु भो । ६३० डलर लाग्दो रहेछ पैसा र बिल काटेको ३ दिनपछि पासपोर्ट पाइने । एकताका मूलबाटो डटकमका एक मित्रलाई मेरो कविता यहाँको वेभसाइटमा हजुर भनेर निकै बिन्ती बिसाए पछि “कतिको दम छ, पहिले हेर्छु अनि विचार गरौंला” भन्ने जावफमा एउटा कविता नराम्ररी शहीद बनाएँ । रुकुम रोल्पाको जंगलमा यार्सागुम्बा खोजेझैं दिनैपिच्छे मूलबाटो डटकम मा तलमाथि दायाबाया टाउकोदेखि पुच्छरसम्म खोजीं हेरेँ, नामोनिसाना कत्तै नपाएपछि आफैंलाई लाज लाग्यो मेरो कविताले आलु खाको देख्दा । अनि मैले पनि नाडी छामें मेरो कविताको र त्यसै बेलादेखि कविता लेखेर उँभो नलागिने रहेछ भन्ने लाग्यो र लेख्न छाडी दिएँ । तत्कालीन महाबाणिज्यदूत केशव प्रसाद भटर्राई २४ जना सचिवहरुको लिस्टमा परी बढुवा भएर नेपाल फर्कनु भएपछि कार्यवाहक महाबाणिज्यदूत सुशील कुमार लम्सालले सम्हाल्नु भो दूतावासको कार्यभार । केही समयपछि उहाँ पनि १३ जना प्रतिस्पर्धीहरुलाई पछारेर उपसचिवमा बढुवा हुनु भो । मैले उहाँलाई फोन गरेर बधाई पनि दिएं । शारिरीक रुपमा दुबै खुटाहरु नचल्ने भएता पनि मिजासिलो ब्यबहार र हँसिलो मुहारले सबैको मन जित्नु भएको थियो । एउटा क्षमतावान, मानवीय संबेदना बुझ्ने मृदुभाषी ब्यक्तिको हातबाट मेरी छोरीले पासपोर्ट पाएकी छे । उहाँले पासपोर्टको साथ दिनु भएको बधाइ र आशीर्वादले छोरी श्रेया पनि भविष्यमा एउटा उच्च ओहोदामा पुग्न सकोस् भन्ने आशा एवँ कामना गर्दछु । अन्तमा, भूपू कार्यवाहक महाबाणिज्यदूत सुशील कुमार लम्साल ज्यू, दूतावासका कर्मचारीहरु र त्यो संगोग जुराई दिने तत्कालीन nepal.hk हाल merouk.com का सम्पादक प्रकाश के.सी. तथा merouk.com परिवारप्रति हार्दिक आभार प्रकट गर्दै सफलताको कामना गर्दछु ।
अस्तु ,११ नोभेम्वर २०१० ।
-संखुवासभा
[email protected]