'गुर्खा कप'-२०१० उत्साहपूर्वक आयोजित

'गुर्खा कप'-२०१० उत्साहपूर्वक आयोजित


एल्डरसट, यूके । हिजो तमू धींको आयोजनामा यो वर्षको गुर्खा कप अत्यन्तै उत्साहपूर्व रुपमा सम्पन्न भएको छ । एल्डरसटस्थित क्वीन एभेन्युमा रहेको खुल्ला चउरमा आयोजित सो कपमा ४८ वटा टिमहरुको सहभागिता रहेको थियो । यूकेका विभिन्न क्षेत्रहरुबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिने टिमहरुका समाज, समूह, संस्था वा समुदायहरुलगायत यस भेलामा आफ्ना पुराना साथी-संगीहरुलाई भेट्न आउने हजारौं नेपालीहरुले भरिएको सो अवसरमा ग्रीसका राजा कन्स्टेन्स्टाइन र युवराज प्याब्लोस फिलिप्पोसको पनि उपस्थिति रहेको थियो । याद रहोस्, -सन् १९७४ देखि राजा कन्स्टेन्टाइन परिवारसहित यूकेमा बस्दै आएका छन् । सन् १९९४ को ग्रीसको तत्कालीन सरकारले एक विधान पास गरी राजा कन्स्टेन्टाइन तथा उनको पूरा परिवारको सम्पति जफ्त गरेर नागरिकतालाई अवैध गराइएको थियो, जसलाई राजाले स्वीकारेका छैनन् । मानवअधिकार सम्वद्ध यूरोपियन कोर्टमा चलेको भए तापनि ग्रीस सरकारले राजाको सम्पति फिर्ता गर्ने कुनै छाँट देखाएको छैन । इंग्ल्याण्डको हृयाम्स्टेडमा रहँदै आएका राजा कन्स्टेन्टाइनले हाल आफ्नो देश ग्रीसमा स्थायी आवासीयको प्रवन्धमा लाग्दैछन् । त्यस्तै, गुर्खा कपमा नेपाली राजदूत सुरेशचन्द्र चालिसे, यनआरयन यूकेका उपाध्यक्ष कूलप्रसाद आचार्यलगायत विभिन्न नेपाली संघसंस्थाका नेतृत्व तथा प्रतिनिधिहरुको अतिथिस्वरुप उपस्थिति रहेको थियो, जहाँ आर्मीका उच्च ओहोदाका अफिसरहरुको पनि सहभागिता रहेको थियो ।
गुर्खा कपमा राजा कन्स्टेन्टाइन र युवराज प्याब्लोस फिलिप्पोसको उपस्थितिबीचको कनेक्सनको बारेमा हाँस्दै बताउन नचाहने तमू धीं अर्थात् आयोजक संस्थाका अध्यक्ष सुवास गुरुङले, मौसमले राम्रो साथ दिने र कार्यक्रम अत्यन्तै सफल हुनेमा आफू विश्वस्त भएको मुख्य कार्यक्रमको शुरुमै बताएका जस्तै कार्यक्रम निक्कै नै सफल भएको कार्यक्रमको अन्त्यमा निचोड बनाइएको थियो । तमू धीं यूकेको प्रभाव यूकेमा स्पष्ट रुपमा सकारात्मक देखिएको छ ।
तीन हजार फिटमाथिबाट रोयाल आर्मीका चार स्काइ डाइभर सिपाहीँहरुबाट प्यारास्युटबाट खेलमैदानमा जम्प गरी कपलाई राजा कन्स्टेन्टाइनको हातमा हस्तान्तरण गरिएको थियो र तिनलाई तमू धीं यूकेले एक वक्स वियर उपहार दिएको थियो। हजारौं नेपालीहरुले निक्कै नै चाख मानी हेरिएको सो प्याराजम्पिङपछि फुटबलको अन्तिम चरणहरु मुख्य पिचमा खेलाइएको थियो । गुर्खा कप फुटबल प्रतियोगितामा भाग लिन यूकेका विभिन्न शहरहरुबाट आउने टोलीलगायत बेल्जियमबाट पनि एक टोली प्रतियोगितामा भाग लिन आएको थियो भने ती प्रतियोगिताहरु हेर्न तथा साथीसंगीहरुबी भेटघाट बनाउन ६, ७ घण्टासम्मको ड्राइभिङ गरी नेपालीहरु जम्मिएका थिए । त्यसरी भेला भएका नेपाली परिवारहरुबीच साँचो अर्थमा भ्रातृत्व देखिएको थियो ।
तमू धीं यूकेले हरेक वर्ष आयोजना गर्दै आएको यस गुर्खा कप सन् १९९७ अघि हङकङमा, गुर्खा रेजिमेन्टका गुर्खाहरुबाट सञ्चालित भई खेलिने गरिन्थ्यो र त्यही प्रतियोगिताको कपलाई गुर्खा कप भन्न थालियो भने ९७ पछि यूकेले हङकङ छाडेपछि यहाँ सोही नाममा सञ्चालन गरी निरन्तरता दिने काम गरियो । अहिले पनि गुर्खा कपमा यूवा समूह र भेटेरेन समूह गरी दुर्इ भिन्दाभिन्दै समूहहरु छुट्याइएको हुन्छ । ४८ वटा युवा समूह र १६ वटा भेटेरेन समूहहरुबीच भएको हिजोको प्रतियोगितामा युवा समूहबाट मङ्गोलियन भान्जा यूकेले यो वर्षको गुर्खा कप जितेको छ भने भेटेरेन समूहमा धरान समाज यूके प्रथम भएको छ ।
बीसौं हजार नेपालीहरुको उपस्थिति हुने अनुमान गरिएको हिजोको गुर्खा कप भेलामा सोभन्दा अत्यधिक मात्रामा नेपालीहरुको सहभागिता भएको पर्यवेक्षकहरुको राय रहेको थियो । तीन हजारभन्दा बढी कारहरु र आधा दर्जन कोच वसले त्यत्रो विशाल चउरको धेरै भाग भरिएको थियो । तमू धीं यूकेले व्यवस्थित पार्किङको व्यवस्था गरेर प्रति कार तीन पाउण्ड पार्किङ शूल्क लगाएको उपस्थित गाडीवालाहरुको अत्यन्तै जायज मानिएको थियो ।
गुर्खा कपको सो भेलामा अत्यधिक मात्रामा युवाहरुको सहभागिता रहेको थियो । युवाहरुको विविध भीडहरुमा गुर्खा कप एक प्रकारको विशेष नेपाली पर्वको रुपमा रहेको लाग्दथ्यो । अधिकांश सहभागीहरुको मुख्य ध्येय भनेको वर्षपछि आफ्ना साथी, नातेदार आदिसँगको भेट गर्ने नै रहेको थियो । वृद्धदेखि बच्चाबच्चीहरु ठाउँ ठाउँमा झुरुम्म भएर गफ्फिएका यत्रतत्र देखिन्थ्यो । रेष्टुरेन्टहरु अपर्याप्त लाग्ने गरेर सोअगाडि लामो क्यूहरु लागेको जताततै देखिन्थ्यो भने सरकारी प्रहरी, सेक्युरिटी कम्पनीसहित तमू धीं यूकेकै सुरक्षा दलहरुका सुरक्षा यथेष्ट नहुने गरी मुख्यमञ्चको पछाडितर्फ, र देब्रेतर्फको चउरमा नेपाली युवाहरुबीच फाइट भएको थियो । तीनजनाले एक जनालाई छुरी हमला गरी घाइते बनाएका थिए, जसलाई फर्स्ट एड उपलब्ध गराई अस्पताल लगिनुका साथै अपराधीहरुलाई पनि पक्रिएको थियो । खासगरी नेपाली अभिभावकहरुको अभिभावकत्वमा अत्यधिक मात्रामा आफ्ना न्तानहरुउपर राख्नु तथा दिनु पर्ने निगरानीसहित शिक्षादीक्षाको कमीले गर्दा ती सन्तानहरु नियन्त्रणबाहिर जाँदै गरेकौ विचार त्यही भेलामा राखिएको थियो । बीसौं हजार मानिसहरुको भेला हुने ठाउँमा यस्ता प्रकारका घटनाहरु घट्न सक्ने अनुमान सजिलै गर्न सकिन्छ जसको लागि आयोजकहरुले गम्भीर रुपमा ध्यान दिन जरुरी छ । मानिसहरुको ठूलो चापलाई धान्न नसक्ने गरी सौचालयहरु उपलब्ध गरिएको थियो भने ती सौचालयहरुलाई पनि व्यवस्थित गर्ने समूहहरुको अभावमा केही घण्टामा नै धेरै सौचालयहरु प्रयोग गर्न लायकको नरहेको प्रशस्तै जनगुनासो सुनिएको थियो ।
नेपालीहरुको आस्थाको स्वरुपमा अनि पर्वको मानेमा स्थापित हुँदै गएको यस गुर्खा कप, यूकेबासी नेपालीहरुले गम्भीर रुपमा सम्वर्द्धन गर्दै लान जरुरी भएको छ ।
-मे.स.,
तस्वीरहरुः नरेन्द्र बस्नेत, याम तमू, वाँकी फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।

गुर्खा कपको बारेमा माथि जे लेखियो, एक रिटायर्ड सिपाहींको अनुभवअनुसार लेखिएको हो तर यसबारे अहिले बुझ्दै जाँदा ‘गुर्खा कप’को इतिहास निक्कै गहिरो देखिँदै गएको छ । जङ्गबहादुर राणाले दिएको कपलाई ‘नेपाल कप’ भन्दै विस्तारै त्यसैको विस्तृत रुपमा ‘गुर्खा कप’ रहन गएको भन्ने एक अस्पुष्ट जानकारी एकातिर लागेको छ भने अर्कोतिर एक रिटायर्ड मगर गुर्खा मेजरले व्यक्तिगत रुपमा दिएको सानो ‘कप’बाट नै सोको नाम कालान्तरमा ‘गुर्खा कप’ रहन गएको भन्ने उस्तै अस्पुष्ट जानकारी हात लागेकोले यसबारे विद्वान पाठक तथा मित्रहरुलाई आफूलाई थाहा लागेको जानकारी यसै समाचारको कमेन्ट वक्समा लेखेर पठाउन या छुट्टै नै इमेलमार्फत पठाउन हुन आग्रह गर्दै कपको इतिहाससम्वन्धी अपुस्ट समाचारको सम्प्रेषणप्रति खेद प्रकट गर्दछ ।-सम्पादक