गुर्खा कपः नेपाली पर्वको रूपमा स्थापित

गुर्खा कपः नेपाली पर्वको रूपमा स्थापित


यूकेमा अनुमान गरिएअनुसार एक लाखभन्दा केही बढी नेपालीहरु बसोबास गर्दछन् । जुगौंबाट यहाँ जमेर व्यापार व्यवसाय गर्नेहरु, विभिन्न रोजगारी गर्नेहरुलगायत पढ्नेहरु यसरी यूकेमा बसोबास गरे तापनि एकै ठाउँमा नबस्ने तथ्याङ्कलाई आधार मान्दा नेपालीहरुको जमघट हुने स्थान, वा दिन हुनु अत्यन्तै जरुरी थियो । हुन त यहाँ विभिन्न जातिका नेपाली समुदायहरुका आआफ्नै जातीय चाडपर्वहरु छन् र तिनमा राम्रै नै उपस्थिति हुने गर्दछ तर तिनले समूल नेपाली मूललाई समेट्न सक्दैनन् । दशैं-तिहारहरुलाई वर्तमान नेपाली राजनीतिभित्रको जातीय सोँचले साँघुरो दायराभित्र पारेको छ । नेपालीहरुको महान चाड भन्दाभन्दै अहिले दशैं-तिहार हिन्दूहरुका महान चाड भनाउन थालिएको छ, यद्यपि, अझै नेपालको जनसङ्ख्याको ६८.८७ प्रतिशत जनता हिन्दू धर्मावलम्बी भएको सन् २००३को सरकारी र अर्ध सरकारी तथ्याङ्कले खुलाएको छ र ६८.८७ प्रतिशत भनेको वहुमत हो र वहुमतका साझा पर्व नै राष्ट्रिय पर्व अर्थात् राष्ट्रको साझा पर्व हो तर पनि जातीय नजरहरुले दशैं तथा तिहारलाई शासक पक्षको चाड भनेझैं गरी पन्छ्याउँदै लगेको परिप्रेक्ष्यमा यहाँ यूकेमा सो अवसरलाई साझा अवसर मान्न र मनाउनका लागि प्रयत्न गर्न सकिँदैन तर निरन्तरताको कारणले अनि विशाल परिसरको पर्याप्तताले गर्दा गुर्खा कपको अवसर विस्तारै यहाँ नेपाली पर्वको अवसरको रुपमा स्थापित हुँदै गएको छ ।

नेपालीहरुको वर्षको एकपटक भेला हुने अवसरको रुपमा रहेको गुर्खा कपलाई सोही पर्यायमा मात्र सम्झनु अत्यन्तै अन्याय हुन आउँछ । नेपालीहरु भेटघाटको लागि मात्रै पनि जम्मिने होइनन् यहाँ, गुर्खा कप र फुटबलको पनि त्यत्तिकै उचाइमा महत्व रहेको छ । लगभग साठी, पैंसट्ठीवटा विभिन्न समूह र समुदायलाई प्रतिनिधित्व गर्दै सहभागिता दिने फुटबल क्लवहरु र तिनका प्रतिस्पर्धात्मक खेलहरुलाई प्रत्यक्ष रुपमा हेर्न आउने दर्शकलगायत अतिथिहरुको उपस्थितिलाई कम आँक्न सकिँदैन । फुटबल खेलमा नेपाली खेलाडीहरु विस्तारै प्रगति गर्दै गएका छन् र यस खेलले नेपाली भावनामा पनि न्यानो स्थान बनाउँदै लगेको छ । त्यसरी एकदिने फुटबल प्रतियोगितामा विजयी हुँदै गुर्खा कप जित्नु, मात्र एक टाइटल जित्नुमा मात्र सीमित नराखी विजयी टिमहरु व्ा उत्कृष्ठ खेलाडीहरुका लागि तिनको खेलजीवनको एक भरपर्दो प्लेटफर्म बन्न आयोजक तयार हुनु पर्ने देखिएको छ । कपको प्रसिद्धी र जनसहभागितालाई आधार बनाएर आयोजकले चाहिँदो क्यास गराउन नसकेको भान हुन्छ । यस कपका लागि नेपाली व्यवसायीहरुलगायत देशी र विदेशी व्यवसायीहरुबाट स्पोन्सरशिप प्रशस्तै ल्याउन सकिन्छ । खेलाडी तथा समूहको खेलभविष्यको लागि पनि स्पोन्सरशिप खोज्न सकिन्छ । खेलाडीहरुको उत्कृष्टतालाई आधार बनाएर तिनलाई व्यवसायिक बनाउनेतर्फ स्पोन्सर खोज्ने वा संस्था आफै नै लाग्न सक्दछ । इभेन्टलाई अझ विस्तारित गर्नका लागि मिडियाहरुसँग साझेदारी गर्न सक्दछ । इभेन्ट प्रसिद्ध भएकोले विज्ञापन दिन नपर्ने सोँच नराखी इभेन्टलाई अझ आम बनाउन सक्दछ संस्थाले ।

विशाल जनसहभागिता रहने इभेन्टलाई आयोजना गर्नु पक्कै नै सजिलो हुँदैन । यसका लागि अत्यन्तै ठूलो संस्था चाहिन्छ र संस्थाभित्र काम गर्न चाहने स्वयंसेवकहरुको विशाल झुण्ड चाहिन्छ । लगनशीलता र प्रतिवद्धता व्यक्त गर्न समर्थ सदस्यहरुको साथले नै यस्तो प्रकारका ठूला कार्यक्रमहरु सजिलैसँग संयोजन गर्न सकिन्छ । तमू धीं यूके एक जातीय संस्था हुँदाहुँदै पनि यसले साझा चासोको कार्यक्रमलाई आम बनाएको छ । र यसलाई निरन्तरता दिनका लागि तमू धीं यूके यस कार्यक्रमको सवालमा जातीय दायराबाट फराकिलो हुन जरुरी छ । त्यसमा, संस्थाले यस कार्यक्रमको लागि छुट्टै समिति तयार गरी सो समितिमा तमू धीं यूकेभित्र र बाहिरका व्यक्तित्वहरुलाई समाहित गर्नुपर्दछ । त्यसो गर्नाले व्यवहारिक रुपमा कार्यक्रम सर्वत्र रुपले आम बन्दछ । तमू धींको वास्तविक रुपमा विशाल हुनसक्ने राम्रो मौकामध्ये गुर्खा कप प्रमुख हो भन्ने संस्थाका नेतृत्वहरुले बिर्सनु हुँदैन ।

खेलबाहेक, गुर्खा कप, नेपालीहरुको भेटघाट हुने अवसर हो । यो हरेक वर्ष, जनसहभागिताको आधारमा ठूलो बन्दै जानेछ । यसलाई यथावत वा निरन्तरता दिनका लागि जे र जस्तो मात्र नबनाई हरेक वर्ष केही न केही नविनता दिँदै लानु पर्ने हुन्छ आयोजकले । यही अवसरलाई पृष्ठभूमि बनाएर आयोजकले सो स्थलमा नेपाली फुड एक्जिविसनका लागि विभिन्न जातीय परम्परागत खानाहरुका स्टलहरु राख्न सक्दछ । आफ्नो जातीय संस्कारलाई झल्काउने पहिरन तथा चलनअनुसार सशुल्क विक्रीमा राखिने नेपाली विविध जातीय खानाहरुको उपलब्धताले नेपालीसहित विदेशी समुदायहरुलाई पनि आकर्षित गर्न सक्दछ । खानाहरुको प्रदर्शनीसहितको विक्री वितरणजस्तै जातीय भेषभुषालगायतका नृत्यहरुको प्रदर्शनी, नेपाली घरेलु उत्पादनहरुको विक्री वितरणहरु अन्य साथसाथमा आउने प्रदर्शनीमा प्रकारहरु हुन् ।

यसरी प्रदर्शनीमा राखिने स्टलहरु र सहभागिताहरुका लागि तमू धीं यूकेले अन्य नेपाली संघसंस्थाहरुसँग संयुक्त रुपमा संयोजन कार्यगत एकता राख्नु पर्ने हुन्छ, यसमा अरुको साथमा आफ्नो संस्था साँघुरो हुन्छ कि भन्ने सोँच्नुहुँदैन । तमू धीं यूकेको महत्व र उचाइ त्यसपछि झन् बढ्ने छ भने अन्य संस्थाहरुले आफू अर्काको छाँयामुनि परेको सोँच्नु पक्कै पनि निकृष्ठता नै हुनेछ ।

यसरी राखिने विविध स्टलहरुबाट आयोजकले शुल्कहरु उठाई कोष वृद्धि गर्ने वा इभेन्टको विशिष्टतालाई अझ निखार्नका लागि खर्च गर्न सक्नेछ । संस्थाहरु आफैमा एक शक्ति हो भने तिनले जुटाउने जनसहभागिताले तिनको सोही शक्तिलाई महाशक्तिमा परिणत गर्दै लगेको हुन्छ । शक्ति प्राप्त गर्नेहरुलाई समाजप्रति वा अन्यप्रति जिम्मेवारीवोध हुन जरुरी छ र सो शक्तिको सही सदुपयोग गर्न त्यत्तिकै जरुरी छ । तमू धीं यूके जसरी विस्तारै शक्तिशाली हुँदै गएको छ, त्यत्तिकै मात्रामा आम यूकेबासी नेपाली समुदायप्रति जिम्मेवारी वहन गर्न कहिल्यै चुक्नु हुँदैन ।