राष्ट्रकै ‘घरज्वाइँ’ हुन् त रुवेल ?-कृपा थापा

राष्ट्रकै ‘घरज्वाइँ’ हुन् त रुवेल ?-कृपा थापा


संविधान निर्माण र सरकार बनाउने विषयमा राजनीतिक दलहरूबीच सहमति जुट्न सकेको छैन । मुलुक झन्-झन् जटिल अवस्थातर्फ धकेलिँदै छ । कामचलाउ सरकारको भरमा देश घिस्रिरहेको छ । समस्याहरू यति धेरै छन् कि कुनै पनि राजनीतिक दलहरूसँग समस्या समाधानका उपायहरू छैनन् । राष्ट्रिय सहमतिको सरकार बनाउने, शान्ति र संविधान निर्माणकोे मार्ग खुल्ला गर्ने, शान्ति-सुरक्षा र महँगी नियन्त्रण गर्ने सवालमा सधैं मत बाझिरहने ठूला दलहरूको बीचमा यसपटक एउटा इस्युमा सहमति देखियो । नेपाली काङ्ग्रेस पार्टी र उपप्रधानमन्त्री सुजाता कोइरालाको घरज्वाइँ बङ्गाली रुवेल चौधरीलाई पूर्वयुवराज पारस शाहले हवाई फायर गरे भन्ने विषयमा उठेको विवाद मिडियाका लागि ‘हट गसिप इन टाउन’ झैँ भयो । काङ्ग्रेस नेता सुशील कोइरालाले आफ्ना घरज्वाइँमाथि हवाई-फायर गर्ने पारस शाहलाई पक्रनका लागि माओवादीलगायत एमालेसँग हारगुहार गरे । काङ्ग्रेसको आदेश सधैंजस्तो शिरोपर गर्ने एमालेले यसपटक पनि आफ्नो धर्म निभाइहाल्यो, ‘पारसलाई पक्रेर कारबाही गर्नू’ भन्ने आदेश दिएर । अपराधी जोसुकै भए पनि कारबाही हुनुपर्छ तर कुनै पनि विदेशीले नेपालको राष्ट्रियतामाथि बोल्न पाउँदैन, त्यसैले सुजाताको बङ्गाली ज्वाइँलाई पनि हिरासतमा लिएर अनुसन्धान गर्नुपर्छ भन्ने कुराहरू प्रस्ट रूपमा प्रेस वक्तव्यमार्फत माओवादी पार्टीले पनि जारी गर्‍यो ।
देशमा हत्या, हिंसा र असुरक्षा बढेको छ । दिनहुँ कैयाँै मानिस लुटिन्छन्, मारिन्छन् र अपहरणमा पर्ने गरेका छन् । नेपाली जनता अपहरणमा पर्दा, हत्या हुँदा र लुटिँदा अपराधीलाई समाउन प्रहरी परिचालित गर्न नसक्ने कामचलाउ सरकारको यो कदम भने मान्नैपर्छ ।
पूर्वयुवराज पारस शाह र सुजाता कोइरालाको घरज्वाइँ रुवेल चौधरीबीचको अपसी मतभेद कुनै पनि हालतमा राजनीतिक होइन, तर रातारात यो विषयलाई राजतन्त्र र काङ्ग्रेसीतन्त्रसँग जोडेर उठाइयो । पूर्वयुवराज नेपाली नागरिक नै हुन् र रुवेल चौधरी विदेशी, व्यक्तिगत विवादलाई चुरो बनाएर काङ्ग्रेसजस्तो पार्टी रुवेल चौधरी नेपालकै घरज्वाइँ हो भन्ने उदाहरण प्रस्तुत गर्नसमेत पछाडि परेन ।
केही समय पहिले गोरखामा काङ्ग्रेसका नेता-कार्यकर्ताहरू कुटिँदा-मारिँदा र ओखलढुङ्गाका एमाले नेता छविलाल कार्कीको हत्या हुँदा उपप्रधानमन्त्री सुजाता कोइरालाले किन भन्न सकिनन् अपराधीलाई कारबाही गर भनेर । एमाले पार्टीको मातहतमा रहेको गृह मन्त्रालयले किन समाउन सकेन ती नेपाली जनता मार्ने अपराधीलाई – काङ्ग्रेसभित्रै आफ्ना कार्यकर्ता मारिँदा, नेपाली जनता मारिँदा खसी-बोका मरेझैँ ठान्ने काङ्ग्रेसले रुवेल चौधरी सुजाताको ज्वाइँ भएकै कारणले गर्दा छिटो समाउनु भन्ने उर्दी जारी गरेर नवसम्भ्रान्तवादको नमीठो नमुना प्रस्तुत गर्‍यो ।
विगतमा विवादास्पद छवि बनाएका पूर्वयुवराज पारस शाह अहिले जनताको माझमा आमनागरिकसरह जीवनयापन गरिरहेका छन् । विगतमा पारस शाह कस्ता र के थिए त्यो बहसको विषय नभएकोले उनको व्यक्तिगत जीवनलाई कोट्याउने र मिडियामार्फत अनर्गल बहस गर्नु असान्दर्भिक हुन्छ ।
उपप्रधानमन्त्री सुजाता कोइरालाकी छोरी मेलानी जोस्टसँग विवाह गरी पारिवारिक भिसामा विगत चार वर्षदेखि उपप्रधानमन्त्री सुजाताको मण्डिखाटारस्थित निवासमा घरज्वाइँ बस्दै आएका बङ्गलादेशी नागरिक रुवेल चौधरीको विगत र वर्तमान दुवै विवादास्पद रहेको छ । सुष्मा कोइराला मेमोरियल ट्रष्टमा समेत जागिरे रहेका उनी नेपाली नागरिकता नभएको विदेशी व्यक्तिले उक्त ट्रष्टमा जागिर खाएर बसेको विषयमा विवाद बढेपछि उनले त्यो काम छाडेका थिए । चौधरी सक्रिय रूपमा गैरकानुनी क्रियालापमा संलग्न रहेको प्रमाण नेपाल प्रहरीसँग रहेको छ । तर, प्रहरी-प्रशासनले पनि सुजाताको ज्वाइँ भएकै कारणले समाउन नसकेको कुरा अगाडि आएको छ । मण्डिखाटारस्थित सुजाता कोइरालानिवासमा बसेर आपराधिक सञ्जालहरू विस्तार गर्दै बसेका चौधरीलाई पक्रन प्रहरीले हिम्मत गर्न सकेको छैन । किनभने उनी नेपालकै काङ्ग्रेसी ज्वाइँ जो हुन् । काङ्ग्रेसीहरू उच्च ओहोदामा रहँदा पदको भरपूर फाइदा उठाएर संयुक्त राष्ट्रसङ्घको मिसनमा खटिएको नेपाल प्रहरीको कल्याण कोषमा समेत ३५ करोडको घोटालाको मुख्य नायक नै चौधरी रहेका थिए । नेपालमा आउने अन्तर्राष्ट्रिय फोन बाइपास गर्ने कार्यमा समातिएका बङ्गलादेशीहरूले पनि रुवेल चौधरी नै नाइके रहेको कुरा बताएका थिए तर उपप्रधानमन्त्री कोइरालाको शक्तिको अगाडि कसैले पनि चौधरीलाई समाउन सकेनन् । बङ्गलादेशीलाई नक्कली नागरिकता र राहदानी बनाई तेस्रो मुलुक पठाउने कार्यक्रममा समेत चौधरी सक्रिय रहेको देखिएको छ । परराष्ट्रमन्त्री सुजाता कोइरालाले सामान्य कर्मचारीलाई कारबाही गर्न दबाब दिइन् तर सो गिरोहका प्रमुख नाइके चौधरीलाई भने उम्काइन् । यस्ता जघन्य अपराधमा संलग्न चौधरी आजसम्म पनि मिडियाको विषयवस्तु बन्न सकेनन् तर टाइगरटप्स काण्डमा उनी भद्र-भलाद-्मी व्यtmिको रूपमा परिचित भए । पारस शाहले विगतमा गरेका गल्तीलाई केलाउँदै रुवेल चौधरीको वर्तमानलाई ढाक्ने प्रयास गरियो । पूर्वयुवराज पारस शाहलाई पोखराबाट गिरफ्तार गरी चितवन पुर्‍याई बयान लिइयो तर सोही घटनाका अर्का व्यक्ति चौधरीसित भने प्रहरी आफैं मण्डिखाटारमा गई बयान लियो । घटनास्थलमा नै पीडक र पीडित दुवैको बयान लिनुपर्ने कानुनी व्यवस्था भए पनि सोको उल्लङ्घन काङ्ग्रेसी ज्वाइँ चौधरीले गरेका छन् । एउटै घटनामा संलग्न दुवै व्यक्तिलाई बेग्लाबेग्लै व्यवहार गरेर काङ्ग्रेसले आफ्नो पारिवारिक रवाफ देखाएको छ । सरकारी संयन्त्रहरू पनि उपप्रधानमन्त्रीको शक्तिको दबाबमा परेका छन् । यदि त्यो ठाउँमा सुजाताका ज्वाइँ रुवेल चौधरी नभएको भए प्रहरीले घोक्रेठ्याक लगाएर घिसार्दै लग्थे होला । गणतन्त्र र लोकतन्त्रको वकालत गर्ने काङ्ग्रेसले रुवेललाई बयान लिन उनको ससुराली पुगेको राज्यले गणतन्त्रको धज्जी उडाएको छ ।
ऐतिहासिक कालमै राजतन्त्रको भरपूर फाइदा उठाउन सफल भएको काङ्ग्रेस पार्टी र कोइराला परिवार नै हो । उपप्रधानमन्त्री सुजाता कोइरालाले राजतन्त्र हटाउनुहुन्न र बेबी किङ राख्नुपर्छ भनेर चर्को आवाजमा नारा लगाएकी थिइन् तर आज उनै पारसले उनका ज्वाइँलाई बन्दुक तेर्स्याएको भन्दै विदेशबाटै ‘पारसलाई नछोड्नू’ भन्ने आदेश दिएकी थिइन् । बङ्गलादेशी नागरिक रुवेल चौधरी नेपालका लागि विदेशी नागरिक हुन् । न त उनी नेपाली नागरिक नै हुन्, न उनी काङ्ग्रेसका कार्यकर्ता नै हुन् तैपनि सुजाताले ठाडो आदेश दिएर कोइराला परिवारको रवाफ देखाएर पद र शक्तिको आडमा जेसुकै गर्न सकिन्छ भन्ने व्यक्तिवादी सोचमा बाँचिरहेको छ । गैरन्यायिक व्यक्तिले नेपालको राष्ट्रियताको बारेमा बोल्ने अधिकार छैन तर चौधरीले जे गर्‍यो त्यो सही हो भनेर अड्कल काट्दै पूर्वयुवराज पारस शाहको चरित्रबारे जथाभावी लेख्नु या बोल्नु सरासर गलत हो ।
मुलुकको राष्ट्रिय ढुकुटी खर्च गरेर विदेश सयर गर्ने उपप्रधानमन्त्री सुजाता कोइराला र उनका परिवारको गतिविधिमा नेपाली जनताले कडा निगरानी राख्नुपर्छ । सामान्य नागरिक भन्न रुचाउने बङ्गलादेशी नागरिक रुवेल चौधरीले नेपालमा के-कस्ता सञ्जाल विस्तार गरिरहेका छन्, त्यो पनि नेपाली जनतालगायत सुरक्षा संयन्त्रले पनि चासो दिनु जरुरी छ ।
टाइगरटप्स काण्डमा छानबिन समिति बनाएर राम्रो काम गर्‍यो तर देशको नीति निर्माण गर्ने तहमा बसेका नेतृत्व वर्गकै घरबाट कानुन तोड्ने काम गरिएको छ । बङ्गलादेशी नागरिक चौधरीले प्रहरी कार्यालय नगई दिएको बयानलाई मान्यता दिन मिल्छ – कानुनभन्दा माथि कोही छैन तर कानुनलाई नै स्वयम् उपप्रधानमन्त्रीको घरबाट मिच्ने काम गरियो, त्यसको विपक्षमा आन्दोलन गर्ने किन कोही छैनन् – राष्ट्रियतामाथि ठाडै प्रहार गर्‍यो भनेर हिजोका दिनमा मधेसीहरूमाथि अनावश्यक कारबाही गर्दा सडक तताउने नेपाली जनताले खै त आन्दोलन गरेको – उपराष्ट्रपतिले हिन्दी बोल्यो भनेर चोक-चोकमा टायर बाल्ने विद्यार्थी सङ्गठनहरू किन कानमा तेल हालेर बसेका छन् – बङ्गलादेशीले राष्ट्रियताका विरुद्धमा बोल्दा, आपराधिक सञ्जाल विस्तार गर्दा र कानुन मिच्दा किन कसैले टायर बाल्न सकेनन् त –
पूर्वयुवराज पारस शाहमाथि राजतन्त्रको रिस साध्ने प्रयोजनले कारबाही गरिनुहुँदैन । राजतन्त्र रहँदा युवराजाधिराज रहेका पारस शाहको स्थान विदेशी नागरिकले कदापि लिन सक्दैन । त्यसैले रुवेल चौधरीलाई पनि घटनास्थलमै राखेर बयान लिनुपर्छ । विधिको शासनमा कानुनभन्दा माथि कोही छैन । रुवेल चौधरीको संलग्नतामा फैलिँदै गइरहेको आपराधिक सञ्जालको छानबिन गरी उनलाई कारबाही गर्नु जरुरी छ । यदि लोकतन्त्रमा कानुनी राज्यले महत्वपूर्ण भूमिका खेलेको छ भने बङ्गलादेशी नागरिक रुवेल चौधरी उपप्रधानमन्त्री सुजाता कोइरालाको काङ्ग्रेसी ज्वाइँ भएको आधारबाट मुक्त हुन पाउँदैनन् ।