सात वटै प्रदेशका लागि सरकारले सचिव खटायो

सात वटै प्रदेशका लागि सरकारले सचिव खटायो


सरकारले ७ वटै प्रदेशमा प्रशासनिक प्रमुखका सचिव खटाउने तयारी गरेको छ । सात वटै प्रदेशमा मुख्यमन्त्रीको कार्यालय व्यवस्थापनका लागि सरकारले सचिव खटाउन लागेको हो ।

सरकारले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको प्रशासनिक नेतृत्वको रूपमा प्रदेशमा सचिव रहने व्यवस्था गरेको छ । सोही अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात वटै प्रदेशमा सचिव पठाउन लागेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रदेश सचिवका रुपमा हाल पाँच वटा क्षेत्रीय प्रशासन कार्यालयका सचिवलाई नै पठाउन लागिएको हो । बाँकी दुई सचिवलाई भने केन्द्रबाट पठाउन लागिएको बताइएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रदेश १ मा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, प्रदेश २ मा वरिष्ठ सहसचिव यादवप्रसाद कोइराला, प्रदेश ३ मा मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेलाई खटाइने भएको हो । यस्तै प्रदेश ४ मा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रदेश ५ मा बैकुण्ठ अर्याललाई जिम्मेवारी दिइने भएको छ । यस्तै प्रदेश ६ मा सुरेश प्रधान र प्रदेश ७ मा लक्ष्मीराज पौडेल प्रदेश सचिव रहने छन् ।