आयोजक दक्षिण अफ्रिका तीन गोलले पराजित

आयोजक दक्षिण अफ्रिका तीन गोलले पराजित


आबु धाबी । विश्वकप आयोजक दक्षिण अफ्रिकालाई उरुग्वेले ३-० ले पराजित गरेको छ । एउटा बराबरी र एउटा पराजय भोगेको दक्षिण अफ्रिकाको यात्रा अब धर्मराउन पुगेको छ। बिहीबार बिहान ३-० मा सकिएको खेलमा फोर्लान एक्लैले दुई गोल गरेका थिए। मेक्सिकोसँगको बराबरी र यो हारसँगै घरमा भएको विश्वकपमा दोस्रो चरण नपुग्दै बाहिरिने अवस्थाको नजिक पुगेको छ दक्षिण अफ्रिका। दक्षिण अफ्रिकाले दोस्रो चरणको आशा जीवितै राख्‍न अब फ्रान्सलाई जसरी पनि पराजित गर्नुपर्छ। एक बराबरी र एक विजयका साथ अब उरुग्वे भने दोस्रो चरणको निकट पुगेको छ। यसअघि उसले पहिलो खेलमा फ्रान्ससँग गोल रहित नतिजा निकालेको थियो । उरुग्वे १९३० र १९५० को विश्वकप विजेता हो ।

अघिल्लो खेलमा मेक्सिकोसँग १-१ को बराबरी गरेको दक्षिण अफ्रिकाको नकआउट खेल्ने संभावना फ्रान्ससँगको समूह चरणको अन्तिम खेलले निर्णय गर्नेछ । अन्य खेलको परिणाममा पनि उसको यात्रा निर्भर हुनेछ । विश्वकपको इतिहासमा अहिलेसम्म कुनैपनि आयोजक समूह चरणबाटै बाहिरिएको छैन ।

समूह ‘ए’ को अर्को खेलमा बिहीबार मेक्सिको र फ्रान्स भिड्नेछन्।

त्यस्तै हिजो युरो च्याम्पियन तथा विश्वकपको दावेदार मध्ये एक स्पेनलाई पराजित गर्दै स्विट्जरल्यान्डले यस पटकको प्रतियोगिता कै सर्वाधिक अप्रत्यासित परिणाम निकालेको छ। पछिल्ला १२ खेल जित्दै अन्तर्राष्ट्रिय फुटबलमा लामो लगातार विजयको कीर्तिमान राखेको स्पेनको विजय यात्रा पनि यही खेलमा भंग हुन पुग्यो। -मेस