आङ सान् सू किईको ६५औं जन्मदिन

आङ सान् सू किईको ६५औं जन्मदिन


लण्डन । बर्माकी विपक्षी दलकी नेतृ, आङ सान् सू किईले ६५औं वर्षागाँठ पूरा गरेकी छिन् । विगत २० वर्ष देखि सैनिक शासकहरुले नजरबन्द कैदमा उनलाई राखेका छन् । संसारभरि उनको वर्षगाँठको अवसरमा उनको रिहाइको लागि अवाज उठाइएका छन् । नोवेल पुरुष्कार प्राप्त नेतृलाई उनको समर्थनमा कदर गर्दै राष्ट्रसंघ, बेलायत र अमेरिकाबाट म्यानामारका सैनिक सरकारलाई पत्र लेखेका छन् । उनको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सन्देश पठाएका छन् ।
म्यानामारमा लोकतन्त्रको पुनरस्थापना, मानवअधिकार र परिवर्तनका लागि नेतृ सू किईले अदम्य साहस देखाएर कृत संकल्पित रहेकी हुनाले अमेरिकी राष्ट्रपति बराक ओबामाले प्रशंसा गरेका छन् । ओबामाले “म फेरि एकपटक बर्मेली सरकारलाई आङ सान् सू किईको रिहाइ र सम्पूर्ण राजनीतिक बन्दिहरुलाई रिहाइ गर्नको लागि भन्दछु” भनेर व्यक्त गरेका छन् । “म्यानामार सरकारले लगातार अन्यायपूर्ण नजरबन्द गरेकाले आफ्नै शासनको अन्यायको छाप आफ्नो देश र जनतामा ऐना सरह छर्लंग भएको सिद्ध भएको छ” भनेर बेलायती प्रधानमन्त्री क्यामरुनले लेखेर पठाएका छन् ।
स्मरण रहोस्, सन् १९९० मा आङ सान् सू किईका पार्टी नेशनल लीग फर डेमोक्रेसीले चुनावमा भारी मत ल्याएर विजय भएको थियो, तर, उनलाई आफ्नो कार्यभार सम्हाल्न सैनिक शासकहरले कहिल्यै दिएनन् । असम्वैधानिक तवरले दमन गरेर उनलाई कैद गरेका हुन् । अहिलेको नयाँ संविधानले उनलाई अब आउने अक्टोबर महिनाको चुनावमा भाग लिन बञ्चित गरेको छ । सैनिक शासनको यो एउटा लज्जास्प्रद कार्य रहेको भनी अन्तर्राष्ट्रिय समुदायले भर्त्सना गरेका छन् । आङ सान् सू किईका समर्थकहरुले उनको वर्षगाँठको अवसरमा ६५वटा मइनबत्ती बालेर जन्मोत्सव मनाए र ६५वटा परेवाहरु (शान्तिको प्रतीक) उनलाई सम्मान गर्नको लागि गत शनिवारको दिनमा उडाएका थिए । नेसनल लिग फर डेमोक्रेसीका कार्यकर्ताहरुले उनको जन्म दिवसको अवसर पारेर राज्यभरि २००० वृक्षारोपन गर्ने योजना बनाएका छन् । जापान, न्यूजिल्याण्ड, अमेरिकालगायत सम्पूण विश्वमा उनको अभियानमा समर्थन गर्नको लागि मइनबत्ती बालेर एैक्यबद्धता जाहेर गरेका छन् ।-श्रोत – नेट, सुमल, मेस