[निवन्ध]रातो राहदानीभित्रका सपनाहरु

[निवन्ध]रातो राहदानीभित्रका सपनाहरु


-लारा,
हाजरा, कालो बुर्का ओढ्दिन । काँधसम्म छाँटेको स्टेप कट कपाल । गाजलु ठूला आँखा । त्यो गाजलु आँखाको परेलीमा अल्झिएको आँखीभौंको सूक्ष्म रौंलाई हटाइदिंदै मैले सोधें-

“हाजरा, उसो भए बेलायती रातो राहदानी पाएर तिमीलाई औधी खुशी लागिरहेको छ, हगि ?”

“हो, एकदम खु्शी छु । यद्यपि, प्रष्ट हुन सकेकी छुइंन, सन्तुष्टि र प्राप्ति के हो यो रातो राहदानी मेरा लागि ? शराणार्थी बनेर वर्षौं बेघर बिताएका समयका प्रत्येक पीडाले मलाई यो स्थितिबोध दिइरहेको थियो कि, कहाँ र कसरी अटाउन सकिन्छ यो जिन्दगीलाई । आफैसँग प्रतिप्रक्ष्न गर्दैछु- एउटा सचेत ‘नागरिक’ र केवल, ‘मान्छे’ मात्रै भएर बाँचिदिनुले के साँच्चै नै गहन तथा ब्यापक अर्थ बोकेको हुन्छ ?”

“मैले बुझिनँ हाजरा ।” उसलाई भनें ।

हाजराले बुझाउन खोजी -“संक्षिप्तमा भन्नुपर्दा, वर्तमान यो अवस्थासँग दाँजेर हेर्दा मेरो जिन्दगी सामान्य देखिरहेकी छौ नि ! वास्तवमा, एक किसिमको भयंकर दुःस्वप्नबाट गुज्रिएर यो अवस्थासम्म आइपुगेको हुँ म ।”

लामो श्वासपश्चात् ऊ भन्दै गई………….-

“जलालबादका बासिन्दा थियौं हामी । राजधानी काबुलदेखि करीब १३० कि.मी. पूर्व । पाकिस्तानको दक्षिण सिमाना नजिकैको सुन्दर शहर । नब्बेको दशकको मध्यसमय । तालिवानहरुको बिगबिगी । राजधानी काबुलमाथि अतिक्रमण गर्नुअघि जलालबाद मुख्य नाका थियो तालिवानहरुको । राजनैतिक अस्थीरताको भयंकर द्वन्द्वमा कसरी बिते मेरा किशोर दैनिकीहरु बताउन सक्दिन ।”

“थाहा थिएन, के भइरहेको थियो । रातारात पाकिस्तानको भूमिमा हुन्थ्यौं कहिलेकाहिं हामीहरु । मेरा अन्य धेरै आफन्तहरु पाकिस्तानस्थित शराणार्थी शिविर पहिले गइसकेका थिए । आधारभूत अभावभन्दा पनि राजनैतिक अस्थीरताको चपेटभित्र भीषण सन्त्रासमा बितायौं । शून्य शहर । बन्द विद्यालय । बन्द बजार । सबै बन्द । कर्फ्यु लागेका रातहरु । अस्थायी शिविरमा बितायौं । झरीमा बितायौं । उष्ण तापमा बितायौं । चिसोमा बितायौं । अनिंदो बितायौं । भोको बितायौं । गरीबी एवं अशिक्षामा बितायौं । महाशून्यमा बितायौ ।”

“थाहा छ ! यस्तो परिस्थितिमा बाँच्नका लागि सिंगो मुलुक सोँच्दैनन् मान्छेले । टेक्नका लागि सानो आँगन नै प्रिय हुँदोरहेछ । आफ्नो जिन्दगी पनि खुबै प्रिय लाग्दोरहेछ । आखिर, आत्महत्या गर्न पनि त आँट चाहियो । जीवनमोह पनि अनौंठो नै हुँदोरहेछ । वास्तवमा, बाँच्न तथा आत्महत्या दुबैका समान प्रतिभा चाहिंदोरहेछ । ममा त्यस्तो खास प्रतिभा केही नभए पनि कमसेकम बाँच्ने आँट गर्दैछु ।”

फिस्स हाँसी हाजरा । पानी रंगको लिपग्लस उसको ओंठमा टल्कियो ।

पूर्वीय लण्डन । इसेक्सको यो सानो टाउन । हामी लञ्च ब्रेकमा छौं । हाजरा निक्कै खुशी देखिन्छे । हिजो बेलायती रातो राहदानी पाएको खुशीयालीमा लञ्चको भुक्तान उसैले गरी ।

उसँगका कुराकानी मेरो कानमा दिनभर गुञ्जिरह्यो ।

हाजरा सुनाउँदै थिई-

“धेरै घमाउरो र अप्ठ्यारो कुइनेटो काटेर यहाँसम्म आइपुग्दा मान्छेका स्वाभिमान तथा सिद्धान्तहरु सम्झौताको संघारमा आएर साँच्चै नै रनभुल्ल पर्दोरहेछ । त्यही अवस्थामा छु म । मान्छेले के सोच्छन्, त्यो सोच्न सक्दिन अहिले ।”

अचानक मलाई एउटा प्रसङ्गको सम्झना आइदियो ।

मैले पनि १० वर्ष विदेशमै बिताएको थिएँ । नेपालमा छँदा कहिले पनि नरुचाएको गुन्द्रुकको झोल विदेशमा छँदा मीठो मान्दै खाएको अहिले पनि सम्झन्छु । सन् १९८४ मा लण्डन घुमेको सम्झेको छु । High Gate Cemetery, British Museum, Big Ben-West Minister Charring Cross Station, BBC House and Nataraj Restaurant in Warren Street, Greenwich Museum, Double Deck Red Bus, Buckingham Palace, Trafalgar Square, Madame Toussades, London Tube, Victoria Station, Boating in Thames अझ (Sea Link) ship cruiser (English Channel) चढेर Ostende बाट Dover पुग्दाको रात, अध्यागमन विभागमा कुइरेले मेरो हरियो पासपोर्ट हेरेर मलाई आँखा तरेको अझै सम्झन्छु । विदेश बस्दाको तीतो अनुभव मेरो । “के तिनीहरु अझै पनि त्यसरी नै आँखा तर्छन् नेपाली हरियो पासपोर्ट हातमा पर्दा -” त्यस्तो मुलुकमा कसरी नेपालीहरु आत्म-सम्मानपूर्वक बस्न सक्छन् त ?

एउटा सिंगो याम बित्दैछ ।

बेलायत बसाइको मेरो अवस्था कस्तो गुज्रँदै छ भन्ने सन्दर्भमा नेपालमा बस्नुहुने मेरा एक परिपक्व मित्रले उक्त सवाल गर्नु भएको थियो । उक्त सवालको जवाफ मसँग छैन । अध्यागमन विभागमा कुइरेले हरियो पासपोर्ट हेरेर तर्ने आँखाको प्रसंगमा-हाजराजस्तै बेलायती रातो राहदानी निकाल्ने धेरै नेपालीहरु छन् यहाँ । रातो राहदानीको मोहभन्दा अनौंठो नियति ! प्रायः उस्तै जवाफ पाएँ, ‘स्थानीय नागरिकसरह पाइने अन्य सुविधाहरुभन्दा पनि यात्रा गर्दा वैदेशिक अध्यागमनमा विभागमा ब्यहोर्नु पर्ने हरियो नेपाली पासपोर्टको तीतो अनुभवबाट बच्न सकिन्छ ।’

हामी भन्छौं- ‘आत्मसम्मान प्रत्येक सचेत नागरिकले जहीं बसेर जुनसुकै अवस्थामा पनि बोकेका हुन्छन् ।’ “कसरी विश्लेषण गर्ने आत्मसम्मान तथा स्वाभिमानका परिभाषाहरुलाई ?” हाजरालाई सोधेकी थिएँ । संक्षिप्त उत्तर थियो-‘आत्मसम्मान पनि मान्छेका भोगाइ तथा मानसिक परिप्रेक्ष्यको सापेक्षतासँग तुलना गर्न बाध्य हुनुपर्दोरहेछ ।’

हाजराको जस्तै समान पृष्ठभूमि । नेपालकै सन्दर्भमा, कैंयन् छन् तत्कालीन माओवादी जनयुद्धको दुःस्वप्नबाट गुज्रिएकाहरु । उस्तै समान पीडा र अनुभव बोकेर विस्थापित भएका नेपाली नागरिकहरु । राहदानी त के जिन्दगीभर नागरिकता नदेखेका र नपाएकाहरु नेपाली नागरिकहरु छन् मुलुकमा । आफ्नै आँगनमा हाजराजस्तैै बेघर भएकाहरु कति छन् कति । राहदानीका सवालभन्दा भोको पेटका र नाङ्गो आङ्ग ढाक्ने सवाल उनीहरुको पहिलो प्राथमिकता हो ।

समग्रमा सबैको वकालात गर्न सकिंदैन ।

“मान्छेका मनस्थितिहरु जब बिथोलिन्छ् नि ! तिमी अनुमान गर्न सक्तिनौ-देशप्रेम के हो ? यस्तो नहुँदो हो मेरो मुलुकको अवस्था यतिका जर्जर हुँदैन थियो होला । राजनीति गर्दिनँ । पोख्त नेता होइन । नत, मुलुकको संरचनाभित्र अटाउँछु । देशप्रेमका भावना तथा दर्शनका ब्याख्याहरुभन्दा बेगल यथार्थको यो धरातलमा आफैंलाई बढी माया गर्न थालेकी छु । सायद विद्रोही बन्दैछु । कहिलेकाँहि यो विद्रोहले पनि एकप्रकारको संतुष्टि दिँदोरहेछ । मान्छे हुन त, कहिले पूर्ण र संतुष्टि बन्न सक्दैनन् । या, संतुष्टि हुनुको खास अर्थ पनि नहोला ।”

उसले कुरा टुंग्याइ ।

अन्योलमा छु । सोध्न मन लागेको थियो, ‘हाजरा, साँच्चै ! बाध्यता हो कि, मोहमात्रै तिम्रोलागि यो रातो राहदानी ?’ गरीब मुलुकको नागरिक हुनुको नियति हो सायद । बास्तवमा, विकसित मुलुकको बासिन्दा बन्न खोज्दैछे यो हाजरा पनि । अनुमान मेरो । गलत पनि हुन सक्छु । यतिबेला हाजराको अनुहारका भावहरु निँयाल्दैछु । आड पाएझैं सोधें-

“के तिमी कुनै दिन आफ्नो मुलुक अफ्गानस्तान फर्किछौ ?”

“सम्भवतः कहिल्यै नफर्किन पनि सक्छु ।”

‘सुनेकी थिएँ, पठानीहरु क्ट्टर हुन्छन् तर हाजरा, तिमी निर्दयी पनि रहिछौ ।’ थप अर्को प्रश्न तेर्स्याएँ-

“आफ्नो मुलुकलाई के तिमी यतिविघ्न घृणा गर्न सक्छौ ?”

‘स्वभावैले स्वार्थी मान्छे । घृणा होइन । स्वार्थी बन्दैछु ।’ आफ्नो मत दिई हाजराले ।

भिन्न सोंच । फरक अभिमत । अलग परिणाम । अनेकन प्रतिक्रिया । रातो राहदानीभित्रका सपना या, यर्थाथ । हाजरा, समयले क्रमशः तिम्रा विगतका घाउहरु भरिँदै जालान् । दुःस्वप्नबाट मुक्त भएर तिमी आफ्नो मुलुकलाई औधी प्रेम गर्न शुरु गरौली । र, कुनैदिन तिमी जलालबाद फर्किने छौ । प्रियजनहरुसँग तिम्रो पुनर्मिलन हुनेछ ।

हाजरासँगका वार्तालापहरु टाइप गर्दैछु…………..

वैदेशिक अध्यागमन विभागमा हरियो पासपोर्टप्रतिको मानसिकता तथा आँखा तर्ने परिदृश्यहरु मेरो मष्तिष्कबाट ओझेल हुन सकेन ।

हाजराले भनेजस्तै राजनीति गर्दिनँ । पोख्त नेता होइन । न त, मुलुकको मुल संरचनाभित्र अटाउँछु । तैपनि, मुलुकको अस्थीर अवस्था, राजनैतिक कारण अथवा नेतालाई सत्तेसराप गर्नुभन्दा ‘नेपाली हरियो पासपोर्ट देख्दा हेयदृष्टि राख्ने वैदेशिक अध्यागमन विभागका कर्मचारीहरुका नजर तथा मानसिक हेपाहा प्रवृतिउपर परिवर्तन आउनसक्ने अवस्था कहिले र कसरी सिर्जना गर्न सकिएला ?’ एउटा प्रश्न त्रिशंकु बनेर झुण्डियो-‘प्रत्येक भुक्तभोगी स्वाभिमानी नेपाली नागरिकका अंतरहृदयभित्र पनि के उस्तै चिन्तन नहोला त ?’

-लण्डन,बेलायत ।