वर्तमान शिक्षा प्रणाली र शिक्षाबाट उब्जेका केही प्रश्नहरु

वर्तमान शिक्षा प्रणाली र शिक्षाबाट उब्जेका केही प्रश्नहरु


-सुमल कुमार गुरुङ,
शिक्षा भनेको नजानेको कुनैपनि विषयमा कसैबाट अथवा कुनै माध्यमबाट ज्ञान हासिल गर्नुलाई भनिन्छ । कुनै पनि शिक्षा हासिल गर्नको लागि गुरु चाहिन्छ र गुरुबिनाको शिक्षा अधुरो हुन्छ अर्थात् कुनै न कुनै रुपमा नजानेको विद्या हासिल गर्नको लागि गुरुको उपस्थितिले महत्वपूर्ण भूमिका निभाउँछ । गुरु र शिष्य बीचको सम्बन्ध प्रगाढ र घनिष्ट हुनुप्छ तब शिष्याले सम्पूर्ण विद्या हासिल गर्न सकिन्छ । प्राचीन समयमा गुरुको स्थान माथिल्लो तहमा राखिन्थ्यो । महाभारतको पात्र एकलव्यले गुरु-दक्षिणास्वरुप गुरु द्रोणाचार्यलाई आफ्नो हातको दाहिने अँगुठा काटेर दिएको घटनाले गुरुप्रतिको श्रद्धा र भक्तिलाई दर्शाउँछ जबकि उनले द्रोणाचार्यलाई केवल गुरुको प्रतिक बनाएर स्वयं धनुर्विद्या सिक्दै आएका थिए । गुरुलाई श्रद्धा र भक्ति गर्ने प्रेरकमुलक अर्को कथा मैले पाँच कक्षामा पढ्दा पाठ्यक्रममा समावेश गरिएको “अरुणीको गुरु-भक्ति” पढेको थिएँ । त्यस कथामा पनि गुरुलाई हामीले श्रद्धेय भावले हेर्नु पर्दछ र गुरुको आदेशलाई कदापि उलंघन गर्न हुँदैन भन्ने संदेश कथाबाट सम्प्रेषण गरिएको थियो । दिनभरिको लागि अरुणिलाई खेतमा गएर धानखेतमा पर्याप्त पानी हाल्नु पर्ने आदेश थियो । खेतमा जाँदा पानीको कुलो भत्किएर कुलोको पानी खेततिर लगाउन सकिरहेको थिएन । धेरै प्रयासपश्चात् खेतमा पानी हाल्ने काम विफल भएपछि अरुणिले स्वयं कुलोमा सुतेर पानी छेकेका थिए । यसरी थुन्दा पानी खेतभित्र गइरहेको थियो । उनले गुरुको आदेशलाई पालना गरेर खेतमा पानी नभरुन्जेल कुलोमा नै पानी थुन्दै सुतिरहे । बेलुकि अबेरसम्म अरुणि आश्रम नफर्केकाले गुरुले अरु शिष्यहरुद्वारा अरुणिलाई खोज्न पठाउँदा कुलोमा सुतिरहेको भेट्टाएका थिए । तत्कालीन अवस्थामा गुरुको मान-मर्यादा र ईज्जत ठूलो थियो । गुरुकुल प्रणालीको शिक्षा केही दशक अघिसम्म नेपालमा पनि प्रचलित थियो जहाँ ज्ञानगुणका शिक्षा लाभ गर्नका लागि शिक्षार्थीहरुले गुरुलाई बडो ईज्जत, त्यागी तथा अनुशासित भएर गुरुको सानिध्यमा समय बिताउने गर्दथे ।
हजारौ वर्षको समयक्रममा शिक्षासम्बन्धी धेरै परिवर्तनहरु आए । उहिले भारतवर्षमा स्थापना भएका तक्षाशिला विश्वविद्यालय (झण्डै २४०० वर्षपहिले, वर्तमान पाकिस्तानको ट्याक्सिला जिल्लामा पर्दछ) र सम्राट हर्षबर्धनको पालामा सातौ शताब्दीमा स्थापित नालान्दा विश्वविद्यालयहरु इतिहासमा उल्लेखित प्राचीनतम शिक्षा केन्द्रहरुमा पर्दछन् । विश्वको अर्को भाग युनानमा पनि महान दार्शनिकहरु सुकरात, प्लेटो र अरस्तुको पनि लगभग यही तक्षाशिला विश्वविद्यालय अस्तित्वमा रहेको समयका समकालीन थिए । गुरु र शिष्य बीचको सम्बन्ध र शिक्षाको विकास त्यस बेला गुरुहरुको प्रमुख भूमिका रहने थियो भन्ने कुराहरु त्यसबेला रचिएका कृतिहरुमा पाइन्छन् । पश्चिमी शिक्षा प्रणालीको प्रभाव पछिल्लो समयमा आएर पुरा विश्वभरि फैलियो । शिक्षाको क्षेत्रमा पश्चिमी शिक्षा प्रणालीमा कुनै भेदभाव देखिँदैन, तसर्थ विश्वभरि यो शिक्षापद्धति लोकप्रिय बन्दै आयो । नागरिक अधिकारको वकालत गर्ने बेलायतजस्ता राष्ट्रमा शताब्दी पहिलेदेखि योग्यताको आधारमा मान्छेलाई स्थान दिने चलन स्थापित भइसकेको थियो । शिक्षा क्षेत्रमा सबैलाई स्वतन्त्र अधिकार दिएर शिक्षा लाभ गर्ने प्रचलन पश्चिमेली राष्ट्रहरुमा उहिले नै शुरु भइसकेको थियो । तसर्थ पश्चिमेली राष्ट्रहरुमा शिक्षा क्षेत्रमा कसैको शक्ति प्रयोग गरेर वातावरण बिथोल्ने प्रयास रहेको पाइँदैन । तर पनि, यी मुलुकहरुमा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थानहरु र राज्यबाट सञ्चालन हुने स्कुलहरुमा साधारणतया भिन्नता देख्न सकिन्छ । संसारभरिका प्राय सबै राष्ट्रहरुमा निजी र सरकारी स्कुलहरुमा यो फरक देखिन्छ । सम्पन्न व्यक्तिका बच्चाहरु पढ्ने निजी स्कुलहरु र गरीबहरुका लागि पढ्ने सरकारी स्कुलहरुका शैक्षिक स्तरमा रेखा विभाजन भएको भेट्टाउँछौ । नेपालको परिवेशमा पनि निजी स्कुलहरु तीव्र गतिमा खोल्ने परम्परा बस्दै आएको छ । कानूनले व्यवस्था गरेबमोजिम परीक्षाहरु उत्तिर्ण गरेर मान्यतास्वरुप प्रमाणपत्रहरु हासिल गर्नुपर्छ । निजी अथवा सरकारी कुनै पनि स्कुलमा पढेता पनि शैक्षिक योग्यताको प्रमाणपत्र तोकिएको परीक्षा उत्तिर्ण गरे मान्यताको हिसाबमा बराबर मानिन्छ । तर, शैक्षिक स्तरको सवालमा निजी र सरकारी स्कुलका विद्यार्थीहरुमा गुणात्मक फरक देखिन्छ । व्यावसायिक दृष्टिकोणबाट हेर्दा निजी स्कुलहरु सधै प्रतिस्पर्धात्मक दौडमा प्रभावित देखिन्छन् र भरसक अभिभावक र विद्यार्थीहरुलाई आकर्षण गरेर व्यावसायिक मुनाफा गर्ने कोशिसमा हुन्छन् । अर्कोतर्फ सरकारी स्कुलहरुमा प्रतिस्पर्धात्मक जस्तो भावनाको प्रभाव देखिँदैन र कर्मचारी र शिक्षकहरुमा “राजाको काम कहिले जाला घाम” भनेझै टोटल पूरा गर्ने काम मात्र भइरहेको अभास देखिन्छ । त्यसैकारण एउटा सवाल उठ्छ, सरकारी विद्यालयहरुमा पढेर किन स्तरीय शिक्षा प्राप्त गर्न सकिन्न ? दशकौंदेखि यो सवाल अनुत्तरित छ ? सरकारबाट सञ्चालित स्कुलहरुका शैक्षिक स्तर र पढाउने शिक्षकहरुको योग्यताको स्तर कसले अनुगमन गर्ने ?
राजनीतिक दबावको सिर्जना शिक्षा क्षेत्रमा हुनगए शिक्षा क्षेत्र लंगडो बन्दछ र प्रत्येक पटक राजनीतिक शक्ति परिवर्तनको क्रममा यस क्षेत्रले नयाँ-नयाँ बैशाखीको साहारा लिएर अघि बढ्नुपर्छ । व्रि्रम सम्वत २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि अहिलेसम्मको सफरमा यस विद्यालयले र यस विद्यालय अन्तरगतका शैक्षिक संस्थानहरुले पछिल्लो समयमा आएर राजनीतिक दबाव र राजनीतिक शक्ति संघर्षको पीडा भोग्नु परेको छ । विगत केही वर्षहरुदेखि बेला-बेलामा घट्ने घट्नाहरुले शिक्षाको स्तरमा ह्रास आउनुको साथै यो क्षेत्र मलिन देखिन्छ । केही वर्षयतादेखि विद्यार्थीहरुले आफ्नै आदरणीय गुरुहरुलाई व्यवस्थापन र नींति नियमका कुराहरुमा विरोध गर्दै जुत्ताको माला, कालोमोसो दल्ने, विद्यालयहरुमा तालाबन्दी गर्ने घट्नाहरु सामान्य बन्न थालेका छन् । के यो वर्तमान शिक्षा प्रणालीको कमजोरी हो वा राज्य प्रशासनको कमजोरी हो – यो एउटा गतिलो सवाल बनेर नेपालीहरुको भविष्यालाई इंगित गर्दै छ । देशका लागि देश निर्माण गर्ने भविष्याका कर्णधारहरुको शिक्षामा शुरुबाट नै नकारात्मक प्रभाव पर्दछ भने त्यस जमातबाट पैदा भएका बौद्धिक क्षेत्रका व्यक्तित्वहरुको मानसिक विकासमा निश्चितरुपमा यसले ठूलो प्रभाव पार्दछ । नेपालको शैक्षिक क्षेत्रका धेरैजसो शिक्षकहरुको योग्तामा पनि प्रश्नचिन्ह छ । केही वर्षअघि मात्र अख्तियार दुरुपयोग विभागको पहलमा शिक्षा विभागलगायत नेपालका विभिन्न निकायमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र र योग्यताको अनुसन्धान हुँदा हजारौं जाली प्रमाणपत्रहरुको भण्डाफोड भएको थियो । यदि देशको प्रशासन जाली प्रमाणपत्रवाहकहरुको हातमा हुन्छ भने त्यस देशको ब्यवस्थापनमा पनि अवश्य नै प्रश्नचिन्ह लाग्छ । भारतको बिहार र उत्तरप्रदेशका नक्कली विद्यालयहरुबाट ल्याएका प्रमाणपत्रहरुलाई जाँचबुझ नगरी आफन्तहरुलाई सरकारी सेवामा लगाउने घोर अपराध गरेकाहरु उम्केकाछन् । जाँचबुझ आयोगले जाली प्रमाणपत्रवाहकहरुसम्म मात्र अनुसन्धान भएको देखाइएको थियो, तर, त्यतिबेला संलग्न लोकसेवा आयोगका अधिकारीहरुलगायत शैक्षिक क्षेत्रका अधिकारीहरुभने जम्मै चोखो बनेका छन् । कुन कारणले उनीहरुमाथि कार्यवाही भएन त्यो अझसम्म थाह हुन सकेको छैन । पञ्चायती व्यवस्थाको ३० वर्षे अवधिमा कैयौंले जाली प्रमाणपत्रको भरमा माथिल्लो ओहोदामा काम गरेर सेवानिवृत्त भइसकेका तथ्यहरु सार्वजानिक भएको छैन, न नै यस विषयमा खोजतलाश नै गरिएको छ । तर, अब यसलाई कोट्याएर केही फाइदा पनि देखिँदैन । योग्यताको कसि नाप्ने नेपालको ब्यवस्थामा शुरुबाट नै भनसुन, नातावाद र कृपावादले गर्दा हजारौं होनहार योग्य बौद्धिक क्षेत्रका व्यक्तिहरु अहिले विदेशिएका छन् ।
स्तम्भकारकी धर्मपत्नीले शिक्षण पेशामा झण्डै डेढदशक बिताईन् । कैयौ स्कुलहरुमा पढाएकी र कतिपए अवस्थामा तीतो यथार्थहरु भोगेकी छिन् । नेपालको गाउँस्तरको सरकारी स्कुलदेखि नै योग्य शिक्षक छनौटमा राम्रो प्रक्रिया पुर्‍याएको हुँदैन । सबैभन्दा पहिले स्कुलको सञ्चालक समितिलाई दिएको जिम्मेवारीमा पक्षापातपूर्ण विभेदहरु भएको हामीले पाउँछौ । स्कुलको सञ्चालक समितिको अध्यक्ष पदमा साधरणतया गाउँको प्रभावशाली व्यक्ति नै बसेको हुन्छ चाहे त्यो किन अँगुठा छाप नै नहोस् । जब शिक्षक नियुक्तिको अधिकार सञ्चालक समितिको हातमा पुग्छ, त्यतिबेलादेखि नै त्यहाँ हामीले अनियमितताहरु देख्न पाउँछौ । प्रमाणपत्रको हकमा नक्कली होस् अथवा सक्कली होस्, त्यो सञ्चालक समितिको टाउको दुखाइ हुँदैन । शैक्षिक योग्यता पुगेको हुनुपर्‍यो, चाहे उसमा पढाउने क्षमता होस् वा नहोस् उसले अवश्य नियुक्ति पाउनेछ । प्रतिस्पर्धाको हिसाबमा अथवा आवेदकको योग्यताको कसि मूल्यांकन गरेर शिक्षकहरुको छनौट नहुनुले विद्यार्थीहरुको पढाइमा ठूलो असर पुगेको देखिन्छ । मैले जीवनकालमा देखेको एकजना राम्रो शिक्षकलाई दलित भएको कारणले गर्दा गाउँको स्कुलमा नियुक्ति सञ्चालक समितिले नियुक्ति दिएनन् । उनी आफ्नै प्रयासबाट पछि नेपालबाट विदेशिएका थिए । केही वर्षभित्र धेरै धनसम्पत्ति जोडेर नेपाल फर्के । उनले आफ्नै वडामा एउटा स्कुल भवन निर्माण गरेर एकजना दलित शिक्षकलाई नियुक्त गररे प्राइमरी स्कुल सञ्चालन गरेका थिए । तर, यसमापनि उनले त्यो दलित शिक्षक योग्य थियो वा थिएन, त्यो छनौट पक्षापातपूर्ण थिएन भन्ने कुरामा प्रश्नचिन्ह खडा भएको देखिएको थियो । कारण, उनले आफ्नै पहलमा नियुक्ति दिएका थिए । के उनले त्यस शिक्षकलाई योग्यताको अधारमा छनौट गरेका थिए ?
जेनतेन गाउँका अथवा शहरका सरकारी वा गैरसरकारी निजी स्कुलहरुमा विद्यार्थीहरु पढेर कक्षा दशसम्म पढाइ गर्छन्, त्यसपछि एसएलसीको फलामे ढोका पास गर्नुपर्ने हुन्छ । नेपालभरिका एसएलसी परीक्षा दिने विद्यार्थीहरु जाँच दिने बेलामा नक्कल र चिट चोर्ने नराम्रो संस्कार चलेको वास्तविकतालाई हामी नकार्न सक्दैनौं । एसएलसी दिने बेलामा कैयौं अप्रिय घट्नाहरु घट्छन् । ठाउँ-ठाउँमा गार्ड, प्रहरीहरु परिचालन गरे पनि जाँच दिने परीक्षार्थीभन्दा परीक्षार्थीर्हरुलाई चिट दिएर सघाउ पुर्‍याउनेहरुको जमात बढी देखिन्छन् । यस्तो वातावरणमा गार्डहरु आफ्नो सूरक्षाको भयमा प्रभावशाली तवरले चिट चोरनुबाट रोक्न असमर्थ हुन्छन् र प्रहरी पनि केवल आफ्नो ड्युटी बजाएर खिस्किने तरखरमा हुन्छन् । अर्को हिसाबमा स्वयं गार्डले नै चिट चोर्नमा मद्दत दिने कतिपय ठाउँमा फेला पारेका छन् । यसरी नपढेर चिटको बदौलत एसएलसी पास गरेकाहरु फेरि त्यही गाउँमा शिक्षक भएर आउँछन् भने शिक्षाको स्तर कहाँ पुग्छ ?
स्तम्भकारकी धर्मपत्नी कैयौपटक एसएलसी गार्डको हैसियतमा काम गरेकी थिईन् । तिनले आफ्नो ड्युटीको दौरान नक्कल गर्नुबाट सक्दो परीक्षार्थीहरुलाई निरुत्साहित गरेकी थिईन् । अन्तिमपल्ट तिनी आजभन्दा १६ वर्ष पहिले पर्वत जिल्लाको तिलहार हाइस्कुलमा एसएलसीको गार्डको रुपमा खटिएकी थिईन् । शुरुको दिनदेखि नै एकजना छात्राले खुलेआम नक्कल गर्न थालेकीले तिनले रोकिन् र सावधान गरेकी थिईन् । त्यसको भोलिपल्ट परीक्षार्थीले सहयोगी लिएर चिट चोर्नखोज्दा पक्डाउ परिन् । चिट खोस्न जाँदा मेरी धर्मपत्नीको हातमा लेख्दै गरेकी कलमले घोंचेर चिट थुतेर फेरि नक्कल गर्न थालिन् । मेरी पत्नीको हातमा कलमको निबले घोँचेको ठाउँबाट रगत बग्न थालेपछि अर्को एकजना सहयोगी आएर मद्दत गर्न खोज्दा छात्रा अतासमा परेकी थिईन् । त्यसपछि प्रहरीको सहयोगबाट त्यस छात्रालाई बाहिर निकालिएको थियो । यो एउटा नमुना मात्र हो । नेपालको एसएलसी दिने जाँच केन्द्रहरुमा घट्ने यस्ता सामान्य घटनाहरु हुन् । एसएलसीमा मात्र नभई माथिल्लो तहका पढाइहरुमा पनि चिट वा नक्कल गर्ने परम्परा नेपाली शिक्षण क्षेत्रमा गहिरो रुपमा प्रभावित भएको छ । अब प्रश्न उठ्छ किन विद्यार्थीहरुले जाँचको बेलामा चिट चोर्छन ? के नेपालको शिक्षण प्रणालीको स्तरमा खोट छ ? के यस क्षेत्रसँग आबद्ध शिक्षकहरुदेखि व्यवस्थापन तथा शिक्षा मन्त्रालयसम्मका सबै भ्रष्ट हुन् ? किन व्यवस्थित तरिका अपनाएर नियन्त्रण गर्न सक्दैनन् ? किन विद्यार्थीहरु उग्र हुँदै शिक्षकहरुलाई बेइज्जती गर्छन् ? किन शिक्षण संस्थाहरु राजनीति गर्ने अखडा बन्न पुगेका छन् ? यी प्रश्नहरुको समाधान समयमा नै नगरे यसको विकरालस्वरुप भावी सन्ततीले भोग्नु पर्ने देखिन्छ । गुरुकुलको शैक्षिक पद्धतिलाई अनुकरण गरी शिक्षाको दीयो बालेको देशमा साँच्ची नै अहिले त्यो अरुणिको गुरुभक्तिको कथा दन्त्यकथा नै बनेको छ । एकलव्यको गुरुप्रतिको श्रद्धा र समर्पण त्यो देशमा उच्चारण गरिन्छ भने त्यो अहिले उपहास सिद्ध हुन्छ । वर्तमान शिक्षा प्रणाली, व्यवस्थापन र शिक्षाबाट उब्जेका प्रश्नहरु कहिलेसम्म अनुत्तरित रहने हो ?