नन्इटनमा गुरुङ समाजको समर भेला

नन्इटनमा गुरुङ समाजको समर भेला


नन्इटन । यही शनिबार, नन्इटनदेखि २० माइल पर रहेको स्टानफोर्डस्थित एक हलमा नन्इटन गुरुङ समाजको समर भेला सम्पन्न भएको छ । सन् २००७ सालमा गठन गरिएको यस समाजले हरेक वर्षमा दुइटा भेलाको कार्यक्रमहरु गर्दै आइरहेका छन् । नन्इटन गुरुङ समाजका अध्यक्ष मे. पदमबहादुर गुरुङको अध्यक्षतामा एक सानो औपचारिक कार्यक्रम राखिएको थियो, जसमा समाजको भूत, वर्तमान तथा भविष्यका काम तथा कार्ययोजनाहरुउपर केही चर्चा गरिएको थियो ।
नन्इटन आमा समूहको सहयोगमा विविध खालको दोहोरी गायन राखिएको सो कार्यक्रममा पुरुष सहभागितालाई ध्यानमा राखेर छेलो र राफल प्रतियोगिता गराइएको थियो । लगभग २०० जना सो समाजसँग सम्वन्धित नेपालीहरु जम्मा भएको सो भेलामा स्थानीय समाजका अन्य परिवारहरुको पनि सहभागिता रहेको थियो । समाजका सल्लाहकार तथा नन्इटनस्थित क्रस खुकुरी रेष्टुरेन्टका सञ्चालक ओम गुरुङको विशेष प्रयासमा नन्इटनमा स्थानीय समाजसँग नेपाली समाजको राम्रो उठबस रहेको बताइएको छ ।
नन्इटन, लण्डनबाट १०३ माइल, कोभेन्ट्रीबाट ९ माइल, बर्मिन्घामबाट २० माइलको दुरीमा रहेको शहर हो । गुर्खा सिग्नलको हेडक्वाटर ब्राम्कोट नन्इटनबाट मात्र तीन माइलको दुरीमा छ । गुर्खा सिग्नलमा कार्यरत गुर्खाहरुका परिवार तथा नातेदारहरुबाट बसोबास गर्न थालिएको नन्इटनमा हाल लगभग २०० नेपाली परिवारहरु बसोबास गर्ने गर्दछन् । नेपाली विभिन्न जातजातिहरुका परिवारहरु त्यसरी सो स्थानमा बसोबास गर्दै आएका भए तापनि त्यहाँ विभिन्न नामका जातिविशेष, क्षेत्रविशेष संगठनहरु खोलिएका छन्, तर ती २०० नेपाली घरलाई समूल रुपमा एकत्रित गर्नका लागि नेपाली कम्युनिटि एस्सोसिएसन खोलिएका छन्, जसले दशैं र नयाँ वर्ष सबैलाई एकत्रित गरेर मनाउने गर्दछ ।
खासगरी विभिन्न स्थानीय व्यवसायहरुमा रोजगारीको काम गर्ने नेपालीहरुका बाहुल्यता भए तापनि नेपालीका आफ्नै स्वामित्वमा रेष्टुरेन्टहरु, केक सपहरु, प्रोभिजन सपहरु प्रशस्तै खुलेका छन् जसले नेपाली समाजलगायत अन्य समुदायसँगै वास्तविक स्थानिय समाजलाई आफ्ना ग्राहकका रुपमा बटुलेका छन् । -याम तमू, नन्इटनबाट
वाँकी फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।