तमूहरुका महान पर्व यूकेमा सम्पन्न

तमूहरुका महान पर्व यूकेमा सम्पन्न


यस पालिको ल्होसार ब्रुकवुडस्थित विस्लेक्याम्पमा तमू प्येल्हुले र रिडिङस्थित रिभरमिड लेइजर कम्पलेक्समा तमू धिं आआफ्नै शैलीमा उत्साहपूर्वक मनाएका छन् । एकै दिनमा भएको सो ल्होसारकोकार्यक्रमलाई तमूहरुले उत्साहजनक रुपमा आफ्नो सहभागिता दिएको थियो भने दूतावासबाट पालैपालो दुबैमा प्रमुख आतिथ्यपूर्ण उपस्थिति जनाएका थिए ।

तमू प्येल्हु संघ यूकेको ल्होसार कार्यक्रम

लण्डन । हिजो विहान ११ बजेबाट मध्य रातसम्म ब्रुकवुडस्थित विस्लेक्याम्पको ठूलो हलमा तमू प्येल्हु संघ यूकेले तमूहरुको महानचाड ल्होसार भव्यताको साथ मनाएको थियो । पौष पन्द्र गते प्रत्येक वर्ष नेपाल अधिराज्यलगायत गुरुङ समुदाय पुगेका विश्वका अनेकौ राष्ट्रहरुमा तमूहरुका महान चाडलाई गुरुङहरुले मनाउने गर्दछन् ।

ल्होसारलाई औपचारिक अनि पारम्परिक रुपले मनाउन प्रतिवद्ध रहेको प्येल्हू संघले सँधैजस्तो यो साल पनि रिती तथा विधिपूर्वक तमू पुजारीहरुद्वार पूजा लगाई विहानैबाट शुरै भएको सो ल्होसारमा तमू वयस्कदेखि लिएर युवाहरु पनि लाइनमा बसेर रुपा(सातोको डोरो) पुजारीहरुबाट लगाउन उद्दत लाग्नेगरी सहभागीहरुको सदभाव स्पष्ट रुपमा देखिइको थियो । सहभागीहरुको अत्यधिक सहभागितालाई धान्न गाह्रो भएको सो कार्यपछि औपचारिक कार्यक्रम रहेको थियो ।

संघका अध्यक्ष जगत गुरुङको अध्यक्षतामा बसेको सो चरणमा बेलायतका लागि नेपालका राजदूत डा. सुरेशचन्द्र चालिसे प्रमुख अतिथि थिए भने अन्य विभिन्न संघसंस्थाका अध्यक्ष अनि प्रतिनिधिहरु अन्य अतिथिहरु रहेका थिए । सोही औपचारिक कार्यक्रममा तमूहरुका शिक्षामा भएको प्रगतिको उच्चतालाई ध्यानमा राखेर तिनलाई राजदूतको हातबाट प्रशंसित गरिएको थियो भने एक पुस्तकको पनि विमोचन गरिएको थियो । सो औपचारिक कार्यक्रममा प्राविधिक कारणले गर्दा मञ्चको केहीपछाडि पनि राम्ररी सुन्न नसक्ने बेलामै राजदूतलगायतकाले आआफ्ना मन्तव्य राखेका थिए । मिडियाहरुलाई कार्यक्रमलाई कभर गर्नको लागि यथेस्ट प्रवेश प्राप्त थियो । खाना खाने क्रममा निक्कै लामो लाइनमा बस्न वाध्य भएका केही सहभागीले आयोजकले यस्तो अप्ठ्यारोलाई सामना गर्न नसकेको आरोप लगाएका थिए भने हलमा धूपको अत्यधिक धूँवाले कार्यक्रमको शूरुमा पारेको भए पनि केहीपछि त्यो हराएको थियो ।

नेपाली राष्ट्रिय गीतबाट शुरु भएको कार्यक्रमपछिको अर्को साँगीतिक कार्यक्रममा विभिन्न नृत्य तथा गायनहरुको ३० वटा प्रस्तुतिको प्रदर्शनी गरिएको थियो । पारम्परिक, सडक, आधुनिक, नाट्य नृत्यहरुलगायत विविध फिल्मी नृत्यहरु पति प्रस्तुत गरिएको थिए । सम्पूर्ण स्थानीय बालबालिका तथा युवाहरुबाट प्रदर्शन गरिएको सो कार्यक्रमले उपस्थित तमूहरुलाई यथेस्ट मनोरन्जन दिलाएको थियो । आफ्नो संस्कृति तथा परम्परालाई थाँती राख्न जागरुक भएका लाग्ने तमूहरुले आफ्नै भेषभुषामा सजिएर कार्यक्रममा सहभागिता राखेका थिए भने प्रस्तुतकर्ताहरुले तमू भाषाका गीतहरुमा पनि नृत्य गरेका थिए, जसलाई ज्यादै रुचाइएको थियो ।

कार्यक्रमको मुख्य सञ्चालक, संघका सचिव भेगलाल तमूको रहेको थियो, जसलाई कान्ती गुरुङ, नविना गुरुङ, दीपक तमू, असिम तमू, अप्रिला तमू र सेरिना तमूले साथ दिएका थिए । पोखरामा निक्कै नै चर्चित उद्घोषिकाको रुपमा चर्चित रहेकी स्थानीय एक एफएमकी आरजे कान्ती गुरुङको उद्घोषणलाई दर्शकहरुले निक्कै मन पराएका थिए भने केही नृत्य तथा गायनहरुप्रति त्यत्तिकै असन्तुष्टी व्यक्त गर्नेहरु दर्शकहरु पनि सर्वत्र भेटिएका थिए ।

-याम तमूका तस्वीरहरुसहित देब, मेस [बाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।]

तमू धिं यूकेको दशौं ल्होसार कार्यक्रम

लण्डन । हिजो साँझ साढे पांच बजेदेखि अबेर रातिसम्म रिडिङस्थित रिभरमिड लेइजर कम्पलेक्समा तमू धिं यूकेले तमूहरुको महानचाड ल्होसार भव्यताको साथ मनाएको थियो । पौष पन्द्र गते प्रत्येक वर्ष नेपाल अधिराज्यलगायत विश्वका अनेकौ राष्ट्रहरुमा जहाँ-जहाँ गुरुङ समुदाय पुगेका छन्, ती राष्ट्रहरुमा तमूहरुका यो महान चाडलाई गुरुङहरुले मनाउने गर्दछन् । गुरुङहरुको नयाँ वर्ष अथवा नयाँ वर्ग फेरिने दिन भएकोले यस महान चाडको विशेष महत्व छ । विगतमाझै तमू धिं यूकेले यसपल्ट पनि दशौं ल्होसार कार्यक्रमलाई निरन्तर रुपमा भव्य रुपमा मनाएको थियो ।

कार्यक्रमलाई औपचारिक रुपले सञ्चालन गर्नुअघि लामा प्रेमकाजी गुरुङबाट यस वर्षका लागि संसारभरिका मानव समुदायलाई हित होस् भनेर ग्रहशान्तिको पूजा गरेका थिए । औचारिक कार्यक्रम साँझ ७ बजेबाट सचिवद्वय ज्ञाम गुरुङ (महासचिव) तथा सुर्जे (रामचन्द्र) गुरुङ (सचिव) ले सञ्चालन गरेका थिए । सुवास सिंह गुरुङ, निवर्तमान अध्यक्षको अध्यक्षतामा भएको कायक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत महामहिम डाक्टर सुरेश चन्द्र चालिसे थिए । त्यस्तै विशेष अतिथिहरुमा रिडिङका मेयर, गुल खाँन, अतिथिहरुमा बेलायतका लागि नेपाली राजदूतावासका अधिकृतहरु, एनआरएन यूकेका अध्यक्ष, सूर्य गुरुङलगायत विशेष कार्यक्रमलाई प्रायोजित तथा सहयोग गरेका व्यक्तित्वहरु, तमू धिं यूकेका भूपू अध्यक्षहरु, कौंसिलर गम गुरुङ, बीएफबीएस रेडियोका म्यानेजिङ डाइरेक्टर खेम गुरुङ आदि थिए ।

यस कार्यक्रमको मिडिया पार्टनर एभरेष्ट टाइम्स् पत्रिका र नेपाल टीभीलाई बनाइएको थियो । तमू धिं जस्तो गौरवशाली संस्थाले व्यापक प्रचारप्रसारका लागि सबै सञ्चार माध्यमहरुलाई स्वागत गर्नुपर्ने कुरा सहभागीहरुले गरेका थिए । कार्यक्रममा मिडिया पार्टनर लगायत सबै संचारकर्मिहरु सशुल्क प्रबेश गर्नुपरेको थियो । सुरक्षासम्बन्धी साधारण जानकारी खुशीमान गुरुङले दिएका थिए तथा स्वागत मन्तव्य अध्यक्ष मुक्षेत्र गुरुङले व्यक्त गरेका थिए ।

औपचारिककार्यक्रमको शुरुआतसँगै द्वीप प्रज्वलन निवर्तमान अध्यक्ष तथा डाक्टर चालिसेद्वारा संयुक्त रुपमा प्रज्वलन गरेका थिए । मन्तव्य प्रकट गर्ने क्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा निवर्तमान अध्यक्षले पालैपाला आ-आफ्नो मन्तव्य प्रकट गरिसकेपछि नव निर्वाचित कार्यकारी समितिका पादधिकारी र सदस्यहरुको शपथ ग्रहण प्रमुख सल्लाहाकार डाक्टर चन्द्र बहादुर गुरुङले सम्पन्न गरेका थिए । क्रमिक रुपमा तमू धिं यूकेलाई सहयोग गरेका व्यक्तित्वहरु, आजीवन सदस्यहरु र गुरुङ समुदायका शिक्षा क्षेत्रमा सर्वोत्कृष्ट नतिजा हासिल गरेका छात्रछात्राहरुलाई सम्मानस्वरुप खादा, प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो । तर, यसपटकको डाक्टर हर्क गुरुङको सम्मानमा स्थापित ए लेभेलका लागि सर्वोत्कृष्ट छात्रछात्राको पुरस्कार प्रदान गरिएको देखिएन । जीसीएसईका लागि अञ्जली गुरुङलाई सर्वोत्कृष्ट अंक प्राप्त गरेकोमा पुरस्कार प्रदान गरिएको थियो ।

औपचारिक कार्यक्रमको समाप्तिपछि संस्कृतिक कार्यक्रमलाई सुर्जे गुरुङ, सञ्जु घले, दिवा गुरुङ र पुष्पा गुरुङले सञ्चालन गरेका थिए । स्थानीय कलाकारहको दोहोरी गीत, नृत्यहरु र लोकप्रिय नेपाली गायक खेमराज गुरुङ र सविना गुरुङले हिजो कार्यक्रममा अत्यधिक मनोरञ्जन प्रदान गरेका थिए । झण्डै डेढहजार दर्शक रहेको लेइजर सेन्टरमा मान्छेहरु अबेरसम्म नाच्दै झुमेका थिए ।

-याम तमूका तस्वीरहरुसहित सुमल, मेस [बाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।]