गभर्नर सलमान तसीरको अन्त्यष्टि र पाकिस्तानमा तनाव

गभर्नर सलमान तसीरको अन्त्यष्टि र पाकिस्तानमा तनाव


लण्डन । विलियम शेक्सपियरको उक्ति “भनिन्छ दशा लाग्दा यसले आपmनो पूरा सन्तान बोकेर आउँछन्” भनेजस्तै पाकिस्तानी राजनीतिमा नयाँ वर्षको शुरुसँगै ठूलो दुर्घट्नाको संकेत बोकेर आएको छ । अस्ति ३ जनवरीको दिनमा मिलिजुली सरकारको दोश्रो ठूलो दलले सरकारको काम कमजोर रहेको आरोप लगाएर सरकारबाट बाहिरिएको छ भने त्यसभन्दा अघि अर्को सानो दल जमिएत-इ-उलेमा इस्लाम पार्टी पनि त्यस पार्टीको २ जना मन्त्रीहरुलाई निष्कासन गरेकोमा सरकारबाट बाहिरिएको थियो । हिजो दिनको उज्यालोमा नै पाकिस्तानी पिपल्स पार्टीका वरिष्ठ नेता, गभर्नर सलमान तसीरलाई उनकै अंगरक्षक मलिक मुम्ताज हुसैन काद्रीले इस्लामाबादको कोहसर बजारमा गोली हानेर हत्या गरेका थिए ।
पाकिस्तानी नेताहरु र जनताहरुले यस हत्याको भ्रर्त्सना र निन्दा गरेका छन्भने कैयौ धार्मिक कट्टरपन्थीहरुले यस हत्यालाई प्रशंसा गरेका छन् । यस हत्याले पाकिस्तानको राजनीतिक वातावरणमा थप तनाव सिर्जना गरेको छ । प्रधानमन्त्री युसुफ रजा गिलानीलगायत आज पीपीपीका हजारौं कार्यकर्ताहरु र समर्थकहरु लाहौरमा सलमान तसीरको अन्त्योष्टिमा शामेल भएका छन् । इस्लाम धर्मका प्रवर्तक तथा कट्टरपन्थीहरु र सानो दल जमात-ए-अह्ल-ए सुन्नत पाकिस्तानले यस अन्त्यष्टिमा सबै मुसलमानहरुलाई शामेल नहुन आव्हान गरेको छ र अन्त्यष्टिमा शामेल हुनेहरुमाथि हिंसात्मक कार्यवाही गर्ने धम्की दिएका छन् । यस जघन्य हत्यालाई अमेरिकी विदेश सचिव हिलारी क्लिन्टनले पाकिस्तानको ठूलो क्षति भनेर उद्धृत गरेकीछिन् । राष्ट्रसंघका महासचिव वान कि मून, बेलायती बिदेशमन्त्रीलगायत संसारभरिका नेताहरुले यस हत्यालाई निन्दा गरेका छन् । गभर्नर सलमान तसीरको हत्याको कारण पंजाब प्रान्तको ग्रामीण क्षेत्रकी एकजना अनपढ कामदार, खृष्टियन महिला असिअ बिबीलाई पाकिस्तानी प्यानलकोड इस्लाम धर्म विरोध गर्नेमाथि कारबाही गर्ने कानून उलंघन गरेको आरोपमा दोषी बनाएर आदलतले मृत्यदण्ड दिएको फैसलालाई माफी दिनको लागि अपील गरेको विषयलाई लिएर गरिएको कुरा समाचारबाट प्राप्त भएको छ ।
पाकिस्तानको पञ्जाब प्रान्त, शिखमपुरा जिल्लाअन्तर्गत पर्ने धूलाम्मे बाटो र खेतीहरुले घेरिएको सानो गाउँ इट्टनवाली जहाँ मुसलमान समुदायबीच एकलो खृष्टियन घर छ, त्यहाँबाट सन् २००९ सालको जुन महिनादेखि खृष्टियन महिला असिअ बिबीको दुर्भाग्य शुरु भएको थियो । एकदिन असिअ बिबी गाउँको एकजना मुसलमान महिलाको छेउमा वयर टिपिरहेकी थिईन् त्यतिबेला ती मुसलमान महिला पानी पिउन आएकी रहिछिन् र पानीको विषय लिएर असिअ बिबीसँग झगडा गरेकी थिईन् । झगडाको काराण एकजना खृष्टियनले मैलो गरेको पानी म पिउन सक्दिनँ भनेर झगडा शूत्रपात गरेकी रहिछन् । केहीदिनपछि त्यस महिलाले पैगम्बर हजरत मोहम्मदलाई बेईज्जती गरेको भनि असिअ बिबीलाई आरोप लगाउन थालेकी थिईन् । त्यसपछि असिअ बिबीलाई एक हुल मानिसहरुले खेदो गरेर तिनको घाँटीमा डोरीको पाशो लगाएर तिनलाई मार्नेसम्म प्रयास गरेका रहेछन् । पाकिस्तानी कानूनमा पवित्र हजरत मोहम्मदको नामलाई कलंकित गर्ने खालका क्रियाकलाप अथवा कुरा गरिएको साबित भए आदलतबाट मृत्युदण्डको फैसला दिइन्छ । सन् १९८६ सालमा पारित भएको यस कानूनअन्तर्गत हालसम्म ३६ जनालाई मृत्युदण्ड दिएको छ र त्यसमध्ये दशजनालाई आदलतमा पुर्पक्ष र बहस चलिरहेको बेलामा नै हत्या गरिएको थियो । पुरानो रिस-इवी भएकै कारण यस कानूनको माध्यमबाट निर्दोषहरु शिकार हुने गरेकाले यस कानूनलाई खारेज गर्ने पहल भइरहेको बेलामा कट्टरपन्थीहरुले यस कानून नहटाउने अडान रहेको अवस्थाले पाकिस्तानमा तनाव बढ्दै गइरहेको छ ।
असिअ बिबी निर्दोष भए तापनि तिनलाई यसै आरोपको आधारमा बन्दी बनाएर आदलतले मृत्युदण्डको फैसला सुनाएको छ । समाचारमा प्राप्त भएअनुसार एकजना कट्टरपन्थी इमाम, क्वारी मोहम्मदले असिअलाई मृत्युदण्डको फैसला सुनाउँदा हर्षले विभोर भएर खुशीको आँशु बगाएका कुरा समाचारहरुमा उल्लेख गरेका छन् । इमाम, क्वारी मोहम्मदका अनुसार ..यदि हाम्रो धर्मको विरुद्ध गएकालाई कानूनले सजा दिएर पछि माफ गरिन्छ भने हामीले कानूनलाई आफ्नै हातम लिनेछौं …. भनेर धम्की दिएका छन् ।
यस मुद्धालाई पाकिस्तानका मुस्लिम पार्टीहरुले व्यापक सडक विरोध गरेका छन् । ती पार्टीहरुका कार्यकर्ताहरुले असिअ बिबीलाई माफी गरेर मुक्त गरे अथवा यस कानूनलाई संशोधन गरेमा हत्या र हिंसामा उत्रने चेतावनी दिएका छन् । मानवाधिकारवादीहरु र खृष्टियन समुदायका संस्थाहरुले यस कानूनलाई खारेज गर्न चाहेका छन् । यस कानूनको दायराले पाकिस्तानको अल्पसंख्यक समुदायहरुको विरुद्ध बहुसंख्यक पाकिस्तानी मुसलमानहरुले थिचोमिचो गर्ने हतियार सिद्ध भएको छ । ६ महिना पहिले अल्पसंख्यक समुदायका मन्त्री शाहवाज भट्टीले यो कुरा उठाउँदा उनलाई मार्ने धम्कीहरु आएका थिए । अवश्य नै असिअ बिबीलाई राष्ट्रपतिले माफी दिनेछन् भन्ने कुरामा उनले आशा गरेका छन् । उनको अनुसार असिअ बिबी निर्दोष छिन् .. तिनलाई मुक्त गर्लान्, तर, मौल्लाहरुले जब तिनी जेलबाहिर हुनेछिन्, तब मार्नेछन् … कसरी तिनी सुरक्षित रहलिन् .. भनेर समाचारदाताहरुलाई उद्धृत गरेका छन् । असिअ बिबीको पति, साधारण ज्यालामज्दुरी गरेर खाने अशिक मसिह आफ्नो ५ जना बच्चाहरुलाई सँगै लिँदै भाग्दै हिँडिरहेका छन् । उनको केही कसुर छैन, तर, इस्लाम धर्मलाई बेईज्जती गरेको आरोप स्वास्नीमाथि लागेपछि पूरा परिवार डरले दिनभरि लुक्दै हिँड्छन् । उनलाई अपरिचितहरुबाट मद्दत दिने आश्वासन दिएका छन्, तर, उनीहरुले आफ्नो नाम बताउँदैनन् भन्दै भयभित भएर आफ्नो जीवन सुरक्षित बनाउने ठाउँको खोजीमा छन् । -श्रोत -बीबीसी, सुमल, मेस ।