‘प्रेस स्वतन्त्रता र प्रतिवन्ध’बीचको मिहीन रेखा

‘प्रेस स्वतन्त्रता र प्रतिवन्ध’बीचको मिहीन रेखा


-प्रकाश के.सी.,
यतिखेर पनि चीनको भूमिमा टेकेर इन्टरनेटको माध्यमबाट ‘प्रजातन्त्र’ शब्दको खोजी गर्न सकिँदैन । प्रजातन्त्रको दुहाइ दिनेहरुले चीन सरकारको सो कडाइलाई ‘प्रेस प्रतिवन्धको पराकाष्ठा’ हो भनेका छन् र त्यही समूहले गत वर्षको नोभेम्बर महिनामा ‘विकिलिक्स’को सौजन्यताबाट भएको ‘यूएसए डिप्लोम्याटिक केवल’को प्रकाशनलाई ‘प्रेस स्वतन्त्रताको पराकाष्ठा’ हो भनेका छन् । जनतालाई सूचित हुन पाउने जत्तिको अधिकार हुन्छ, त्यत्तिकै तिनलाई गोप्य रहने या राख्ने पनि अधिकार हुन्छ । प्रेसको फैलिँदो प्रभावकारितालाई ध्यानमा राखेर ‘राइट अफ इन्फर्मेशन’सँगै ‘राइट अफ प्राइभेसी’लाई पनि उत्तिकै महत्व दिएर प्रेसको ‘इन्टरप्रेटेसन’ गरिएको छ ।

गत वर्षको शुरुतिर अमेरिकी सरकारको इराक युद्धको कार्यान्वयनको बारेमा लेखिएको गोप्य डकुमेन्टलाई सार्वजनिक गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्धी पाएको विकिलिक्सका संस्थापक जुलियन आसाञ्ज अहिले एक किसिमले प्रेस स्वतन्त्रताको लागि लडिने लडाइँको नाइके भएका छन् । खासगरी, इराकमा यूएस आर्मीको अपाचे हेलिकप्टरबाट एक भ्यानमाथि गोलीको वर्षा गरिएको, जसको प्रहारले रोयर्टसको रिपोर्टरका साथै ड्राइभरलगायत १२ जना निरपराध इराकी जनताको ज्यान गएको भीडीयोको प्रकाशनपछि, विकिलिक्सले प्रेस स्वतन्त्रताको लडाइँमा अग्रणी भूमिका खेलेको हो भन्ने संसारभरका प्रेस कामदारहरुको विश्वास रहेको हो ।

विकिलिक्स एक अन्तर्राष्ट्रिय ‘नन प्रोफिट अर्गनाइजेसन’ हो जसले व्यक्तिगत, गोप्य अनि महत्वपूर्ण सूचना तथा जानकारीलगायतका कागजातहरुलाई गोप्य श्रोतको आधारमा पनि सार्वजनिक गर्ने गर्दछ । सन् २००६मा ‘सनसाइन प्रेस अर्गनाइजेसन’को छातामुनि रहेर शुरु गरिएको यस विकिलिक्सले एक वर्षभित्रै १.२ मिलियन गोप्य कागजहरु आफ्नो डेटाबेसबाट प्रकाशन गरेर संसारमा एक धाक जमाइसकेको थियो । विकिलिक्स, यूएसए, अष्ट्रेलिया, ताइवान, युरोप, र दक्षिण अफ्रिकाका चीन छोड्न वाध्य पारिएका चीनका आप्रवासीहरु, पत्रकारहरु, गणितीज्ञहरु, विशेषज्ञहरुको टोलीले तयार पारेको एक अन्तर्राष्ट्रिय सञ्जाल हो र त्यसको डाइरेक्टरमा इन्टरनेट अष्ट्रेलियाली ‘एक्टिभिस्ट तथा हृयाकर’ ३९ वर्षीय जुलियन आसाञ्ज रहेका छन् । वास्तवमा यो वेबसाइट विकिपेडियाजस्तै ‘युजर-इडिटेबल वेबसाइट’ हो ।

गत वर्षको डिसेम्बर २४ तारिखको दिन, वेबसाइट चलाउनका लागि आर्थिक समस्या परेको खुलाशा गर्ने विकिलिक्सको वास्तवमै भन्ने भए आर्थिक श्रोत चन्दाहरु मात्र रहेको हो । गत नोभेम्बरमा यूएसएबाट सात वर्षसम्मको कृयाकलापका चार लाख जति अति नै सम्वेदनशील अनि गोप्य कागजहरुका साथै ‘डिप्लोम्याटिक केबल’का अति महत्वपूर्ण सूचनाहरु, एक यूएसए सिपाहींबाट हात पारेपछि त्यसलाई विकिलिक्सले क्रमवद्ध रुपमा प्रकाशित आफ्ना मिडिया पार्टनर यूकेबाट गार्डियन, यूएसएबाट न्यूयोर्क टाइम्स र जर्मनीबाट डेर स्पाइजलको माध्यमबाट पनि गरेपछि भने विकिलिक्स संसारभरका विभिन्न सरकारहरुका साथै मुख्य रुपमा यूएसए सरकारका आँखामा अचानकै विझाउने काँडाजस्तो बनेर रहेको थियो र व्यक्तिको हिसावमा आसाञ्ज परेका थिए । यूएसए सरकारको दबावमा अमेरिकास्थित अमाजन सर्भरले विकिलिक्सलाई बन्द गरेकोलगत्तै स्वीडेनको सर्भरले पनि वेबसाइटलाई स्थगन गरेको थियो भने वेबलाई चन्दा प्राप्त हुने ‘पे-पल’का साथै ‘मास्टर कार्ड’हरुमा वेबको सम्पत्तिलाई ‘फ्रिज्ड’ गरिएको थियो । त्यसको लगत्तै संसारभरका विभिन्न ब्लगरहरु तथा हृयाकरहरुले विकिलिक्सको ‘मिरर वेब’हरु तयार गरी विकिलिक्सलाई यथावत राख्ने कामका साथै मास्टर कार्डलाई हृयाक गर्ने कामहरु पनि गरेका थिए । त्यसैबीच, ब्रिटेनमा ६ महिनाको भीसामा अस्थायी बसोबास गर्दै आएका अष्ट्रेलियन जुलियन आसाञ्जलाई स्वीडेनमा उनीबाट भएको दुई यौन गतिविधिलाई यौनजन्य अपराधको रुपमा दोषी भन्दै मुद्दा दायर गरेर त्यहाँको सरकारले झिकाउने प्रयत्न गरेको थियो । आसाञ्जले आफ्ना वकिलहरुका दस्तामार्फत, सो राजनीतिक आसयले ग्रसित भएको अमेरिकी चाल भन्दै ब्रिटिश न्यायालयमा स्वीडेन सरकारको प्रयासविरुद्ध लडेका थिए र गत डिसेम्बरमा नै बेलमा उनी आफ्ना एक समर्थक, ब्रिटिश जर्नलिस्ट एस्सोसिएसनका अध्यक्षाको घरमा रहँदै आएका छन् । उनको बेलको लागि विभिन्न देशका प्रसिद्ध व्यक्तिहरुले रकम उपलब्ध गराएका छन्, तिनमध्ये माइकल मूर पनि हुन् ।

क्रमवद्ध रुपमा अफगानिस्तानमा अमेरिकी अपरेशनको सात वर्षको अवधिमा सिपाहींहरुबाट अनि अमेरिकी सरकारका तर्फबाट भएका यस्ता कृयाकलापहरु जसलाई अमेरिकी सरकार लुकाउन चाहान्थे लाई आफ्ना मिडिया पार्टनरहरुका माध्यमबाट सार्वजनिक गर्दै लाने भन्ने सम्झौताको विरुद्ध खासगरी गार्डियनको अगुवाइमा न्यूयोर्क टाइम्स अनि डेर स्पाइजलले यूयसएको डिप्लोम्याटिक केवलहरु प्रकाशित गरेको भनी आफ्ना वकिलहरुका टोलीसहित गार्डियनलाई मुद्दा हाल्ने शुरमा आसाञ्ज रहेकाछन् । तर गार्डियनले अर्कै श्रोतबाट ती जानकारीहरु प्राप्त गरेको भन्ने गार्डियनसँग विकिलिक्सको मित्रता अब शत्रुतामा बदलिएको छ । प्राप्त समालोचनाअनुसार, यूएसएको सो डिप्लोम्याटिक केवललाई अति नै ‘सम्वेदनशील’ मान्ने पक्षमा आसाञ्ज रहेको र त्यसलाई सार्वजनिक गर्ने नगर्ने भन्नेमा दुविधामा रहेको भन्ने बताइएको छ ।

वास्तवमा यहाँ नै एउटा यस्तो मिहीन रेखा खिँचिएको छ कि, जसको अलिकति दायाँ ‘प्रेस स्वतन्त्रता’ रहेको हुन्छ भने वाँयातिर ‘प्रेस प्रतिवन्ध’ हुन्छ । पत्रकारहरुबाट विगत तीस वर्षमा खुलाइएको अति नै सनसनीखेज तहल्काको रुपमा लिइएको ‘यूएसए डिप्लोम्याटिक केवल’को भन्डाफोरले पत्रकारिताको महत्वको साथै खतरालाई सँगसँगै आँक्ने किसिमले हेर्न वाध्य पारेको छ । एक पार्टीले बाहिर पानी परेको छ भन्छ र अर्को पार्टीले बाहिर घाम चर्केको छ भन्छ भने पत्रकारले झ्यालबाहिर नियाँलेर हेरी पानी परेको या घाम लागेको बारे निर्क्यौल गरेर सत्यतथ्यको सार्वजनिक गर्नुपर्दछ भन्ने गरिन्छ भने पत्रकारले सत्य अनि तथ्यको मात्रै प्रकाशन नगरी कहिलेकाहिँ त्यही तथ्यहरुउपर पनि केही ‘म्यानिपुलेसन’ गरी तथ्यहरुलाई ‘सन्दर्भमुखी’ बनाउनु पर्ने आम राय छ । पत्रकारितामा हुने शक्तिलाई कसैले ‘अन्डरस्टिमेट’ गर्न सक्दैन नै, त्यसैले त्यसरी शक्तिशाली बनेको पत्रकारितामा समाज तथा राष्ट्रप्रति जिम्मेदारी पनि वहन गर्नु पर्ने दायित्व हुने गर्दछ । त्यसैले पत्रकारहरुबाटै सो मिहीन रेखालाई कसरी र कुन अवस्थामा पार गर्ने नगर्ने भन्ने स्वविचार हुनुपर्दछ भने तिनलाई दृष्टिवोध गर्ने निकायमा त्यसको स्पष्ट परिमार्जन गर्ने पक्ष सशक्त हुनुपर्दछ ।
-लण्डनबाट