द.पू. क्षेत्रीय लण्डन तमू धिं ईकाइको ल्होछार

द.पू. क्षेत्रीय लण्डन तमू धिं ईकाइको ल्होछार


लण्डन । गत शनिवार, ०८ जनवरी २०११को दिन नव वर्ष २०११ सालको आगमनको सुखद अवसर तथा तमूहरुको ल्होछारको उपलक्ष्यमा शहीद उधमसिंह स्मारक, एसियन कम्युनिटी सेन्टर प्लमस्टिडमा दक्षिणपूर्व क्षेत्रीय लण्डन तमू धिं ईकाइको ल्होछार कार्यक्रम बडो उल्लास र खुशियाली मनाएर सम्पन्न गरेको थियो । तमूहरुको महानचाड पौष १५मा मनाउने गर्छन्, तर, बेलायतको बसाइ र यहाँको अनुकुलतालाई मध्येनजर गरेर ८ जनवरीको दिनमा ल्होछार कार्यक्रम मनाइएको थियो । कार्यक्रम दिनको १२ बजेदेखि ग्रहशान्तिको पूजाबाट शुरु गरिएको थियो । प्रतिष्ठित बौद्ध धर्मगुरु लामा प्रेमकाजी गुरुङ र उनका दुईजना सहयोगीलामाहरुको तत्वावधानमा सम्पन्न गरिएको थियो । सामूहिक ग्रहशान्तिको पूजामा ५८ जनाले पूजालाई प्रायोजित तथा सहभागी भएका थिए ।
पूजा अनुष्ठानबाट धर्मगुरु लामा प्रेमकाजी गुरुङले धर्म र जीवनबारे दृष्टान्त दिँदै अत्यन्त प्रष्ट प्रभावशाली तरिकाले विश्व शान्ति र सारा जगतका प्राणीहरुको हितका लागि प्रवचन दिएका थिए । श्रद्धालुहरुले पूजा गर्दै ७८ लाख (१०८) बत्ति प्रज्वलन गरेर ग्रहशान्तिका लागि लामाद्वारा घरमा फहराउने लोंदार, रुपा तथा आशीर्वाद ग्रहण गरेर पूजा समापन भएको थियो । कार्यक्रमको अर्को चरण समितिको औपचारिक कार्यक्रम तथा साँस्कितक कार्यक्रम गरेर उल्लासको साथ मनाइएको थियो । औपचारिक कार्यक्रम समितिका अध्यक्ष क्याप्टेन (रिटायर्ड) नारानबहादुर गुरुङले गरेका थिए । प्रमुख अतिथि डाक्टर चन्द बहादुर गुरुङ निकै पर्खाइपछि ट्राफिकको कारणले समयमा आउन नसकेकाले कौन्सिलर गम बहादुर गुरुङलाई प्रमुख अतिथिको आसन ग्रहण गराइएका थिए । अतिथिहरुमा वर्तमान तमू धिं अध्यक्ष, मुक्षेत्र गुरुङ लगायतका तमू धिं यूकेका निवर्तमान अध्यक्ष, सुवासिंङ गुरुङ, एनआरएन अध्यक्ष, सूर्यगुरुङ, महासचिव ज्ञाम गुरुङ, उपाध्यक्षद्वय कमल गुरुङ, रामचन्द्र गुरुङ (सुर्जे), गेसो अध्यक्ष पदम बहादुर गुरुङ, साफाका गेरी आर्म्स्ट्रोङ्ग, भूपू लण्डन ईकाइका अध्यक्ष चित्र बहादुर गुरुङ तथा एसियन कम्युनिटी सेन्टरका अध्यक्ष थिए । कार्यक्रम सञ्चालन भएको झण्डै डेढघण्टा पछि प्रमुख अतिथि डाक्टर चन्द्रबहादुर गुरुङ कार्यक्रममा आइपुगेका थिए ।
औपचारिक कार्यक्रमलाई समितिका सचिव डमर बहादुर गुरुङले सबैलाई स्वागत गर्दै स्वास्थ्य र सुरक्षालाई अवगत गराउँदै सञ्चालन गरेका थिए । कार्यक्रमको शुरुमा विभिन्न युनिभर्सिटीहरुबाट डिग्री हासिल गरेका दक्षिणपूर्व लण्डनक्षेत्रमा बसोबास गरेका गुरुङ विधार्थीहरुल खादा ओढाएर सम्मानित गरेका थिए । आ-आफ्नो मन्तव्य प्रकट गर्ने क्रममा अध्यक्ष क्या.रि. नारायण बहादुर गुरुङ, एसियन कम्यनिटी सेन्टरका अध्यक्ष, एनआरएन अध्यक्ष, सूर्य गुरुङ, कौन्सिलर गम गुरुङ तथा तमू धिं यूकेका अध्यक्ष मुक्षेत्र गुरुङले मन्तव्य प्रकट गरेका थिए । औपचारिक कार्यक्रमको समापन पछि विविध मनोरञ्नात्मक सांस्कृतिक कार्यक्रमको सञ्चालन उद्घोषकद्वय सूर्य गुरुङ र सुस्मिता गुरुङले गरेका थिए । त्यस कार्यक्रमको विशेष आकर्षण नेपालबाट आएका ख्यातीप्राप्त कलाकार खेमराज गुरुङ र सबिना गुरुङ थिए ।
गीत नृत्यहरुको प्रस्तुतिबीच प्लमस्टिडमा निर्माणधीन सामुदायिक भवन तथा बौद्ध गुम्बाका लागि चन्दा अनुदान गरेका व्यक्तिहरुलाई त्यस प्रोजेक्टका संयोजक श्रीचन्द्र गुरुङले सामुदायिक भवनको औचित्यबारे संक्षिप्त जानकारी दिँदै प्रशंसापत्र तथा खादा प्रमुख अतिथि तथा अतिथिहरुबाट ओढाएर सम्मानित गरेका थिए । कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा सामुदायिक भवनका लागि कैयौ चन्दादाताहरुले समेत चन्दा प्रदान गरेका थिए । कार्यक्रममा ५, ६ सय मानिसहरुको राम्रो सहभागिता थियो । अबेर रातिसम्म नाच्दै गाउँदै प्लमस्टिडवासी तमूहरुले यस सालले ल्होछर मनाए । -सुमल, मेस ।