अल्लो : बनस्पति एक उपयोग अनेक

अल्लो : बनस्पति एक उपयोग अनेक


– छविलाल बगाले

नेपालका विभिन्न भुभागमा ठूलो सिस्नो, लेकाली सिस्नो, भांग्रे सिस्नो, पुवा जातका नामले चिनिने अल्लो बहुउपयोगी बनस्पति हो । अल्लोलाई विदेशीहरुले निलगिरी नेटलको नामले चिन्छन् । यो बनस्पतिको नरम मुना, पात, बोक्रा र जराका भागहरू निकै उपयोगी मानिन्छ । यसको काण्डको बोक्रा कपडा, डोरी तथा विभिन्न घरायसी सामाग्री निर्माणका लागि प्रयोग गरिन्छ ।

अल्लोको कलिला मुना सागको रूपमा तरकारी खान प्रयोग गरिन्छ । यो वनस्पतिको पात टाउको तथा शरिर दुखेको, ज्वरो, क्षयरोग र पिसाबको गडबडीको लागि अचुक औषधीको रुपमा लिने गरिन्छ । यस्तै यसको जराको रस मधुमेहका बिरामीका लागि अति नै उपयोगि मान्ने मानिन्छ । यता तन्त्रमन्त्र धारीहरुले डमरु बनाउँदा पनि अल्लोको धागो प्रयोग गर्दछन् ।

परम्परागत रुपमा जनजातिहरूले भाङ्ग्रा, नाम्ला, थैला आदि बनाउन मात्र प्रयोग हुने गरेको अल्लोको परिभाषा अहिले परिवर्तन भएको छ । जङ्गलमा पाइने अल्लो सङ्कलन गरेर अहिले आधुनिक प्रयोगमा आउने धागोका साथै त्यसबाट विभिन्न किसिमका कपडा उत्पादन हुन थालेको छ । करिव १५ सयदेखि ३ हजार मिटरसम्मको उचाईका जंगलमा पाइने अल्लोको प्रयोग हिजो आज नेपालका कार्पेट उद्योगहरूले पनि गर्न थालेका छन् । अल्लोका कपडा जापान, बेल्जियम, चीन लगायतका देशमा निर्यात समेत हुने गरेको छ । तर प्रशस्त अल्लो पाइने भएपनि लमजुङमा पनि अल्लोले ब्यवसायीकता पाउन भने सकेको छैन ।

लमजुङका उच्च पहाडी क्षेत्रहरुमा प्रशस्त मात्रामा पाइने अल्लोको सदुपयोग हुन नसक्दा अल्लो मासिँदै गएको छ । जिल्लाका १४ भन्दा बढि गाविसका जङ्गलमा पाइने अल्लो स्थानीय बासीन्दाको आय आर्जनको भरपर्दो श्रोत बन्न सक्ने भएपनि यसलाई ब्यवसायिक बनाउन पहल कतैबाट भएको छैन । अल्लोको उत्पादनलाई ब्यवसायिक बनाउन सके लमजुङको मौलिक उत्पादनको रुपमा विश्वभर पठाउन सकिन्छ । तीन दशक अघिसम्म नेपालमा अल्लोको कपडा बनाउने गरिएपनि पछिल्लो समय लोप हुदै गएको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाको भनाई छ ।

अहिले अल्लोको कपडाको बजार मूल्य प्रतिमिटर ८ सय देखि १२ सय रुपैयाँसम्म छ । विगतमा सदरमुकाम बेसीशहरमा लमजुङ कोसेली घरले अल्लोका कपडा विक्री गर्दै आएपनि पछिल्लो समययता अल्लोको उत्पादनमा कमी आएपछि यसको ब्यवसायिक उत्पादनमा भने गिरावट आएको छ । हिजोसम्म गुरुङ समुदायले भांग्रा, कोट लगायतका सामाग्री बनाउन मात्र प्रयोग गर्ने अल्लोबाट हिजो आज झोला, गलबन्दी, जुत्ता, चप्पल, कोट, पाइन्ट, जुहारी कोट लगायतका सामान बन्ने गरेका छन् । अल्लोको माग राम्रंो रहेपनि माग भए अनुसार उत्पादन गर्न भने सकिएको छैन् ।

राष्ट्रिय रुपमा अल्लोबाट निर्मित कपडाको माग उच्च रहेकोले उद्योग बाणिज्य महासंघले विभिन्न जिल्लाहरुमा अल्लोको उत्पादनमा विशेष जोड दिएको नेपाल एकिकृत ब्यापार रणनिति (एनटिआइएस) का कार्यक्रम संयोजक शिव न्यौपानेले बताए । उनले लमजुङमा अल्लोको प्रचुर संभावना भएकोले अल्लोको छुट्टै उद्योग स्थापना गर्नुपर्ने बताए ।

अल्लोका कपडा स्वास्थ्यका लागि पनि फाइदाजनक हुने भएकाले यसको माग बढ्दो छ । सिउरुङ, घलेगाउँ, भुजुङ, गौंडा, घेर्मु लगायतका गाविसका स्थानीयले अल्लोका कपडाहरु उत्पादन गर्ने गरेका छन् । बेसीशहरमा केही उत्साही महिलाहरुले पनि अल्लोका कपडा बनाउन थालेका छन् । पर्यटकीय गाउँहरु घलेगाउँ, सिउरुङ, भुजुङ, घनपोखरा लगायतका गाउँहरुमा घुम्न जाने पर्यटकलाई गाउँको चिनोको रुपमा अल्लोबाट उत्पादित सामान विक्री गर्ने गरिएको छ । अल्लोको क्षेत्रमा विगत १२ बर्ष अघिदेखि काम गर्दै आएकी अल्लो उद्यमी पार्वती गुरुङले अल्लोबाट कपडा बनाउनको लागि धेरै झन्झटिलो तरिकाहरु अपनाउनुपर्ने भएपनि यसको माग बढि भएकोले दुःख भएपनि काम गर्न भने जाँगर आउने बताइन् ।

लमजुङमा अल्लोको राम्रो सम्भावना भएकाले नै लमजुङ उद्योग बाणिज्य संघले एक गाउँ एक उत्पादन अन्तर्गत अल्लो छनोट गरेको थियो । तर पछिल्लो समय स्थानीयस्तरबाटै अल्लोको क्षेत्रमा काम गर्ने प्रस्ताव आउन थालेको लमजुङ उद्योग बाणिज्य संघले जनाएको छ । अल्लोबाट उत्पादन हुने कपडा विदेशीहरुले पनि मन पराएकाले विदेशसमेत निर्यात हुने गरेको छ । अल्लोका सामान स्वदेशमै पनि धेरै नै खपत हुने गर्दछन । जाडो याममा न्यानो र गर्मीमा चिसो हुने अल्लोको कपडाको माग बढ्दो छ । हाम्रा गाउँघरमा त्यतिकै खेर गएको अल्लोलाई प्रशोधन गरी उद्योग नै सञ्चालन गर्न सके यसको प्रबद्र्धन भई रोजगारीको अवसर सिर्जना हुने मात्र होइन, आर्थिक उपार्जन समेत गर्न सकिन्छ ।

यसरी निकालिन्छ अल्लोबाट धागो
कार्तिक महिनादेखि माघको तेश्रो हप्तासम्म अल्लोको लोकता संकलन गर्नु उपयुक्त मानिन्छ । यस वनस्पतिको काण्डको भित्री बोक्रा नै धागो उत्पादनमा प्रयोग गरिन्छ । ‘स्थानीयस्तरमै विभिन्न प्रविधिको प्रयोग गरी अल्लोको रेसा निकाल्न सकिन्छ । रेसा उत्पादनका लागि संकलन गरिएका अल्लोका बोक्रालाई चार दिनसम्म पानीमा डुबाएर राख्न आवश्यक छ ।’ अल्लो उद्यमी पार्वती गुरुङ भन्छिन्, ‘पानीमा ढाडिएको अल्लोको लोकतालाई काष्टिङ सोडा वा खरानी राखेर उमालिन्छ । करिब दुई घण्टासम्म उमालीसकेपछि अल्लोको लोकता पुरै गल्छ । गलेको लोकतालाई खोलामा लगेर सफा पानीमा पखालिन्छ । यसरी पखाल्दा रेसाहरू एक आपुमा छुट्टिन्छन् ।’

यसरी प्राप्त भएको रेसालाई मकैको पिठो, ढुटो वा कमेरोसँग मिसाएर घाममा सुकाइन्छ । यस्तो गर्नाले अल्लोको रेसा मुलायम र सेतो रंगको हने गुरुङ बताउँछिन् । ‘दिनभरि घाममा सुकाइएको उक्त रेसालाई फेरि चुट्दै पखाल्नुपर्दछ । र घाममा सुकाउनुपर्छ ।’ उनले भनिन्, ‘यसरी उत्पादन गरिएको रेसा नै धागो उत्पादनका लागि प्रयोग गरिन्छ । अल्लोका रेसाहरूबाट धागो उत्पादन गर्न परम्परागत उपकरण कतुवा अथवा चर्खा प्रयोग गरिन्छ । धागो बनिसकेपछि यसलाई रंगमा डुबाइन्छ र सुकाइन्छ । त्यसपछि अल्लोको धागोबाट हाते तान वा आधुनिक उपकरणको प्रयोग गरी विभिन्न सामाग्री निर्माण गरिन्छ । गुणस्तरको लागि अल्लोको धागोमा सुती धागो पनि मिसाउने गरिन्छ ।’