फेरि एकपटक चर्चा साहित्यिक 'ढोंग'हरुको

फेरि एकपटक चर्चा साहित्यिक 'ढोंग'हरुको


‘अनेसास’को अन्तर्राष्ट्रिय सञ्जालको बारेमा थाहा नपाउने कमै होलान्, अन्तर्राष्ट्रियस्तरको सो साहित्यिक समाजको धाक खासगरी अनलाइन मिडियाहरुमा धेरै नै बढेको थियो । विश्वभरका विभिन्न स्थानहरुमा जीवनको जोहो गर्दै गर्दाका नेपाली मनहरु एक भएर साहित्यिक गतिविधिलाई निरन्तरता दिएको देख्दा लाग्दथ्यो, तिनीहरु नेपाली साहित्यका लागि अति नै सजग छन्, प्रतिवद्ध छन्, तर बितेका केही वर्ष हङकङ रहने क्रममा सो संस्थाका एक हङकङ प्रतिनिधि पशन तमूको क्रियाकलापको प्रत्यक्षदर्शी भइयो र लाग्यो, वास्तवमा यसरी नामधारी संस्थामा आवद्धता राख्ने भनेको नामकै लागि मात्र हो । बिना काम गरी तमूले आफ्नो कार्यकाललाई बढाउँदै लगे र अन्ततः उनको सोही कुशलतालाई मध्यनजर राखेर सो अन्तर्राष्ट्रिय नामधारी संस्थाको ग्लोबल बैठकले त्यही व्यक्तिलाई अन्तर्राष्ट्रिय सचिव बनायो, जो हाँसोलाग्दोबाहेक केही थिएन । त्यसपछि, हङकङमा बनेको सोही संस्थाको प्रान्तीय संस्थाले स्थानीयस्तरमा काम गर्न खोजेको हो तर विशेष केही हुनसकेन । अनेसास नामको ढोंगी अन्तर्राष्ट्रिय साहित्यिक संस्था हुँदाहुँदै अर्काथरी नामका भोकाहरुले ‘विश्व नेपाली साहित्य महासँघ’ भन्ने ढोंगी संस्था टेलिफोनको माध्यमबाट खोलेका छन् । विभिन्न देशमा नागरिक हुनु र नसक्नुबीचका विविध पीडाहरु खेपेर एक प्रकारले चेप्टिएकाहरुलाई अनायासै अस्तित्वको मोह जागेको छ । तर नेपालीमा पचास प्रतिशत पनि शुद्ध लेख्न नसक्ने तिनीहरु नै अनलाइन समाचारहरुमा विशेष भएका र हुँदै गएका छन् । साहित्यलाई फैलाउनका लागि साहित्यको गहन चिन्तन गर्न सक्षम हुनु पर्नेमा तिनीहरुबाट तिनका अल्पज्ञानहरुको विज्ञापन गरिने क्रमको यस शुरुवातमा सम्वन्धित र सरोकारवालाहरुलाई नेपाली साहित्यप्रति संवेदनशील हुन आग्रह यहाँ गरिन्छ ।