मार्सल सेल्फ डिफेन्स बुदो राष्ट्रिय संघ नेपालले मोरोक्कोमा भएको अन्तर्राष्ट्रिय पिस कप च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
डिसेम्बर १५ देखि १७ तारिखसम्म भएको प्रतियोगितामा नेपालका ३ खेलाडीले २ स्वर्ण र ३ रजत जितेका थिए ।
अर्जुनबहादुर रोक्का (सार्की) ले दोहोरो स्वर्ण जितेका थिए । उनले पुरुष ७० केजीको कुमेते केन र कुमेतेमा स्वर्ण जितेका हुन् । सञ्जु महर्जनले २ रजत जितेकि थिइन् । सञ्जुले महिला ६५ केजीको कुमेते केन र कुमेतेमा रजत जितेकी हुन् । ङवाङ केसाङ लामाले खुला कातामा रजत जितेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले संघको तर्फबाट स्वर्णधारीलाई १५ हजार र रजतलाई समान १०–१० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन् ।
नगद पुरस्कार संघका अध्यक्ष डाकबहादुर रानापालले व्यक्तिगत रुपमा उपलब्ध गराएका हुन् । त्यस्तै अध्यक्ष रानापाल, प्रशिक्षक वाङजु तामाङ र टिम व्यवस्थापक नुतन श्रेष्ठलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
सो अवसरमा संघका प्रमुख सल्लाकार तिलक लामालाई पोर्चुगलस्थित अन्तर्रा्ष्ट्रिय मार्सल सेल्फ डिफेन्सको मुख्यालयले उपलब्ध गराएको मानार्थ दोश्रो डानको प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो ।
लामाले पदक विजेता खेलाडीलाई हाल उपलब्ध गराइएको जत्ति नै रकमबाट आफूले पनि खेलाडीलाई चाँडै सम्मान गर्ने प्रतिबद्धता जनाएका छन । सदस्य–सचिव विष्टले आर्थिक वर्षको अन्त्यमा पदक विजेता खेलाडीलाई परिषद्ले पनि नगदसहित सम्मान गर्ने बताए ।
प्रतिक्रिया