(कविता)अभाग्यशीला -हरि मानन्धर

(कविता)अभाग्यशीला -हरि मानन्धर


कहिल्यै नभेटिने
अखण्डिकृत जिन्दगीका पछ्याइहरू
निर्मिमेष दीयो बालेर
कठाङ्ग्रिएका चुस्त रातहरूमा
अवास्तविक जीवनका
अपरिस्कृत भोगाइहरू
मेरा भविष्यका पर्खाइहरूमा
अप्राकृतिक ध्वनिहरू सुनेर
अगाडि बढ्दैछन् पाइलाहरू ।

कहिल्यै नसकिने
अनियन्त्रित यात्राहरूमा
मेरा अन्तर्हृदयका पलेटीहरूबाट
असामान्यजस्यताका धूमिल पानाहरूमा
अकल्पनीय दृष्टिहरूले
खोजिरहेछन् जीवनहरू ।

म दियालो
अन्धकार हटाएर
शून्यताभित्रै
खोज्दैछु जीवनका दर्शनहरू
कतै गण्डकीका तिरहरूमा
कलाकृत शीलाहरू
अनि शीलाहरूकै बीचमा
म आफ्नो भाग्यशीला खोज्दैछु ।