– श्रीविक्रम भण्डारी
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय च्याम्पियनसिप’को उद्घाटन गरेपछि प्रतियोगिता शुरु भएको छ । १ महिनासम्म चल्ने उक्त च्याम्पियनसिपमा विभिन्न २९ खेल समावेश गरिएको छ । लामो समयसम्म राष्ट्रिय प्रतियोगिताको आयोजना नहुँदा उक्त खडेरीको खाडललाई पुर्न तीन वर्षअघि राष्ट्रिय खेलकुद परिषद्ले लुम्बिनी च्याम्पियनसिपको आयोजना गरेको थियो । तत्कालीन समयमा राखेपको सदस्यसचिव युवराज लामा थिए । देशका प्रमुख शहरलाई केन्द्र बनाएर आयोजना गरिएको लुम्बिनी च्याम्पियनसिप आयोजना भए पनि त्यो मात्र च्याम्पियनसिपमा सीमित भएको थियो । साँचो अर्थमा भन्नुपर्दा उक्त च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीले प्रतिस्पर्धा गरे पनि राष्ट्रिय खेलको कुनै झल्को देखिएको थिएन, प्रतियोगिताको आयोजना निकै फितलो थियो । जुन उद्देश्यअनुरूप लुम्बिनी च्याम्पियनसिपको आयोजना गरिएको थियो त्यसमा राखेप आंशिक रूपमा पनि सफल हुन सकेन । सकारात्मकभन्दा नकारात्मक परिणाम दिएकै कारण त्यसपछि लुम्बिनी च्याम्पियनसिप एकादेशको कथामा परिणत भएको थियो ।
तर, विडम्बना ! अहिले त्यही लुम्बिनी च्याम्पियनसिपको सिको गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नाम मात्र परिवर्तन गरेर ‘राष्ट्रिय च्याम्पियनसिप’ आयोजाना गरेका छन् जुन यतिबेला आफैंमा चुनौतीपूर्ण मात्र नभई औचित्यताको प्रश्नमा घेरिएको छ । के राष्ट्रिय च्याम्पियनसिपले आफ्नो औचित्य पुष्टि गर्न सक्ला ? त्यो अहिले अहम् विषय बनेको छ । छोटो समयमा महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई दृष्टिगत गरी आयोजना गरिएको यो च्याम्पियनसिप उक्त प्रतियोगिताहरूका लागि फलिभूत होला त्यो अहिले चर्चाको विषय बनेको छ । प्रतियोगिता गर्नु राम्रो हो, तर हचुवा र स्वार्थसिद्ध गर्न आयोजित प्रतियोगिताको परिणाम कस्तो आउँछ, त्यसको उदाहरण लुम्बिनी च्याम्पियनसिप बनिसकेको अवस्थामा अब राष्ट्रिय च्याम्पियनसिपले कस्तो उपलब्धि हासिल गर्छ र नयाँ राष्ट्रिय हिरो जन्माउनमा कति सार्थक हुन्छ त्यो च्याम्पियनसिपपछिको परिणामले देखाउनेछ । अन्यथा चार करोड ३१ लाख खर्च गरेर आयोजना गरिएको राष्ट्रिय च्याम्पियनसिप पनि एकादेशको कथामा परिणत हुने पक्का छ । स्मरण रहोस्, लुम्बिनी च्याम्पियनसिप गर्दा पनि राखेपले ३ करोड ९० लाख लगानी गरेको थियो ।
यतिबेला सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा सम्पन्न भएको ठीक एक वर्ष भएको छ । आठौँ राष्ट्रिय प्रतियोगिता मध्यपश्चिमाञ्चलमा आगामी वर्ष आयोजना गरिने पक्का भइसकेको छ । जसका लागि अहिले जोडतोडका साथ कार्य सञ्चालन भइरहेको छ । तर, यतिबेला राष्ट्रिय च्याम्पियनसिपको आवश्यकता किन प¥यो त्यो अहिले प्रश्नचिह्नको घेरामा परेको छ । प्रतियोगिता आयोजनाको सम्बन्धमा समेत अनेक टीकाटिप्पणी हुन थालेका छन् । यसभन्दा अघि कात्तिक ९ गतेदेखि सञ्चालन गरिने भनिएको राष्ट्रिय च्याम्पियनसिप प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको कारण देखाउँदै पछि धकेलिएको थियो । युवा तथा खेलकुद मन्त्रालयले पनि राष्ट्रिय च्याम्पियनसिपको आवश्यकता नभएको भन्दै नगर्न–नगराउन भनेर राखेपलाई पत्राचार गरेको थियो । तर, अहिले मुलुकले राजनीतिक काँचुली फेरेको अवस्थामा राष्ट्रिय च्याम्पियनसिपको आयोजना हुनु कुनै नौलो कुरो होइन । सदस्यसचिव विष्टका अनुसार राष्ट्रिय च्याम्पियनसिप आगामी वर्ष सन् २०१८ मा इन्डोनेसियामा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता र नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई मध्यनजर गरेर आयोजना गरिन लागेको हो । साथै विष्टले यसै प्रतियोगिताको आधारमा ती प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीको छनोट गरिनेसमेत जनाएका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा सम्भावित पदक जित्ने खेलभन्दा पनि अन्य खेलहरूलाई राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता गराउँदा यो च्याम्पियनसिपले आफ्नो औचित्य पुष्टि गर्ने कुरामा अहिले शङ्का उत्पन्न भएको छ । यो च्याम्पियनसिपमा समावेश गरिएका २९ वटा खेल जसमा एकाधलाई छोडेर कसैले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाउन सकेका छैनन् र भविष्यमा पनि सम्भव देखिँदैन । तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो र एथलेटिक्सबाहेक अन्यले एसियाली खेलकुदको त कुरै छोडौँ दक्षिण एसियालीमा समेत उत्कृष्ट प्रदर्शन गर्न नसकेको अवस्थामा छ । यस्तोमा राष्ट्रिय च्याम्पियनसिपमा त्यस्ता खेलहरू समावेश गर्नुको अर्थ के हो ? त्यो आफैँमा प्रश्नवाचक बनेको छ । यसको अर्थ अन्य खेललाई राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता गराउनुहुँदैन भन्ने कदापि होइन । यहाँ सदस्यसचिव विष्टले भनेझैँ अन्तर्राष्ट्रिय प्रतियोगिता एसियन गेम र सागलाई मध्यनजर राखेर यो च्याम्पियनसिपको आयोजना गरिएको हो भने सम्भावित पदक जित्ने खेलहरूको राष्ट्रिय च्याम्पियनसिप गरेको भए राम्रो हुन्थ्यो भन्न खोजिएको मात्रै हो ।
राष्ट्रिय च्याम्पियनसिपमा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीसहित २९ खेलका चार हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । जसमा दुईवटा तेक्वान्दो, कराते, पौडी, टेबुलटेनिस, भारोत्तोलन, स्क्वास, आर्चरी, खोखो, भलिबल, ह्यान्डबल, कुस्ती, फेन्सिङ, सुटिङ, गल्फ, साइक्लिङ, लनटेनिस, ट्रायाथलन, फुटबल, ब्याडमिन्टन, ट्रायाथलन, फुटबल, ब्याडमिन्टन, सफ्टटेनिस, जुडो, बास्केटबल, कबड्डी, एथलेटिक्स, सेपाकताक्रो र बक्सिङ रहेका छन् । यी खेलका प्रतियोगिता काठमाडौं, पोखरा, इटहरी, बुटवल, रूपन्देही र विराटनगरमा हुनेछन् । त्यस्तै राष्ट्रिय च्याम्पियनसिप हुनुअघि नै केही खेलका प्रतियोगिता सम्पन्न भइसकेका छन् । जसमा पौडी, ट्रायाथलन, कराते र लनटेनिस रहेका छन् । यी प्रतियोगितामा सदस्यसचिव विष्टले उद्घाटन र समापन समारोहमा उपस्थिति जनाएर लालमोहर लगाइसकेका छन् ।
पुस १० गतेदेखि राष्ट्रिय च्याम्पियनसिपअन्तर्गतका खेलहरूको प्रतियोगिता सञ्चालन हुनेछ । जसमा तेक्वान्दोका खेलले विशेष चर्चा पाएका छन् । यसर्थमा कि यो च्याम्पियनसिपमा तेक्वान्दोका छुट्टाछुट्टै दुईवटा प्रतियोगिता हुँदै छन् । एउटै खेल भएर पनि राखेपमा समानान्तर सङ्घको रूपमा दुईवटा तेक्वान्दो सङ्घ दर्ता भएकाले यस्तो स्थितिको सिर्जना भएको हो । अब दुवै खेलबाट आफ्नो तौल समूहमा स्वर्ण पदक जित्ने खेलाडीले पुनः उत्कृष्टता साबित गर्नुपर्नेछ । त्यसका लागि पुनः यी दुई सङ्घका स्वर्ण पदकधारी खेलाडीले एक–आपसमा प्रतिस्पर्धा गर्नुपर्नेछ । जसले बाजी मा¥यो त्यही खेलाडी राष्ट्रिय खेलाडीको रूपमा चयन हुनेछ र बन्द प्रशिक्षणका लागि ढोका खोल्नेछ । यस्तो जटिल अवस्थाको सिर्जना भएपछि आफूले दुवै समानान्तर सङ्घहरूलाई एक बनाउन खोजे पनि राखेपको मान्यता त्यसमा रोडा बनेको सदस्यसचिव विष्टले जनाएका छन् । साथै सातौँ राष्ट्रियमा दुवै टिमले एकै भएर खेले पनि अहिले सङ्घले खेल सञ्चालन गर्ने भएकाले दुवैले नमानेको खुलासा गरेका छन् ।
प्रतिक्रिया