इन्टरनेशनल ओपन फ्रेण्डसिप तेक्वान्दो इटहरीमा

इन्टरनेशनल ओपन फ्रेण्डसिप तेक्वान्दो इटहरीमा


१२ औं इन्टरनेशनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिपको तयारी पुरा भएको छ ।

प्रतियोगिता पूर्वान्चलको इटहरी रंगशालाको नवनिर्मित कवर्डहलमा आयोजना हुनेछ । पुष १७ देखि १८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी भएको प्रतियोगिताका संयोजक राष्ट्र राईले आज पुष १२ गते आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

मैत्रिपूर्ण तेक्वान्दो च्याम्पियनसिपलाई सफल पार्न राष्ट्रिय खेलकुद परिषदले विशेष सहयोग गरेको छ । परिषदले उक्त खेलको आयोजना गर्न ३० लाख प्रदान गरेको संयोजक राईले बताएका छन् । त्यस्तै प्रतियोगितालाई सफलताको मूर्तरुप दिने नेपाल तेक्वान्दो संघले संघमा आवद्ध रेफ्रि तथा प्रशिक्षक उपलब्ध गराएर सहयोग गरेको पनि आयोेजकले जानकारी गराएको छ ।

च्याम्पियनसिपमा सहभागिता जनाउने विदेशी राष्ट्रहरुमा भारत, बंगलादेश, अमेरिका, बेलायत, अष्ट्रेलिया, कम्वोडिया, अष्ट्रिया, मोरक्को, इथोपिया, घाना, नाइजेरिया र क्यानडाका खेलाडीहरु नेपाल आइसकेको र अन्य मुलुकवाट खेलाडी आउने क्रम जारी रहेको संयोजक राईले बताएका छन् । यो च्याम्पियनसिपमा नेपालवाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सहित नेपालका ३ सय खेलाडीले सहभागिता जनाउने भएका छन् ।

च्याम्पियनसिपमा उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई ५० हजार नगरको व्यवस्था गरिएको छ । त्यस्तै उत्कृष्ट महिला तथा पुरुष प्रशिक्षकलाई पनि २५ हजार प्रदान गरिने छ । च्याम्पियनसिपको १२ औं संस्करणसम्म आइपुग्दा नेपालमा आयोजना हुन लागेको यो तेश्रो पटक हो ।

यसअघि पहिलो संस्करण काठमाण्डौंमा र अर्को पोखरामा आयोजना भएको थियो । सास्कृतिक आदान प्रदान र पर्यटन विकासमा समेत टेवा पु-याउन उद्देश्यले आइओएफटीसीले प्रतियोगिता विभिन्न मुलुकमा आयोजना गर्दै आइरहेको छ ।