कीर्तिमानधारीलाई नगद पुरस्कारको घोषणा

कीर्तिमानधारीलाई नगद पुरस्कारको घोषणा


राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको राखेप च्याम्पियनसिपअन्तर्गत विभिन्न खेलमा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई राखेपले नगद पुरस्कार दिने भएको छ ।

व्यक्तिगत स्पर्धामा कीर्तिमान रच्नेलाई राखेपले १५ हजार नगद पुरस्कार उपलब्ध गराउने सदस्य–सचिव केशवकुमार विष्टले जानकारी गराए । त्यस्तै टिमतर्फ उत्कृष्ट घोषित हुने खेलाडीलाई पनि १५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरुप राखेपले उक्त पुरस्कार राशीको घोषणा गरेको सदस्यसचिव विष्टले बताए । पुरस्कार राशीको घोषणासँगै खेलाडीहरुले अझ मेहनत गर्ने र उत्कृष्ट परिणाम दिने कुरामा विष्टले विश्वास प्रकट गरेका छन् ।

आगामी वर्ष इण्डोनेसिया आयोजना हुने एसियाली खेलकुद र नेपालमा आउँदो वर्ष नेपालमा आयोजना हुन गैरहेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई मध्यनजर गरेर राष्ट्रिय च्याम्पियन आयोजना गरिएको हो । यो च्याम्पियनसिपमा उत्कृष्ट हुने खेलाडीलाई राष्ट्रिय टीममा राखेर स्वदेशी र विदेशी प्रशिक्षण राखेपले जनाएको छ ।