राजश्री गुरुकुल र माउण्टग्लोरी उत्कृष्ट प्रदर्शन

राजश्री गुरुकुल र माउण्टग्लोरी उत्कृष्ट प्रदर्शन


छैठौं दि एक्सेलसियर कप अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जुनियर छात्र फाइभ ए साईट फुटबलमा राजश्री गुरुकुलले किट्स लनिङलाई ३–० गोल पराजित गर्दै च्याम्पियन बनेको छ । राजश्री गुरुकुलको जितमा करनदीप श्रेष्ठले दुई र विदुक श्रेष्ठले एक गोल गरेका थिए । जुनियर छात्र फाइभ ए साईट फुटबलमा किट्स लनिङका बिपिस मल्ल उत्कृष्ट खेलाडी भएका थिए ।

बास्केटबलको जुनियर छात्रतर्फ सामाखुसी बोडिङ स्कुल च्याम्पियन बनेको छ । उत्कृष्ट खेलाडी घोषित रबि शर्माको सर्वाधिक १३ स्कोरको सहयोगमा सेबले रेडिअन्टलाई २६–२१ को स्कोरले पराजित गरेको थियो । सिनियर छात्रातर्फ स्किब्सले जेनितमाथि २४–२२ को स्कोरमा स्तब्ध बनाउदै उपाधि जितेको थियो । स्किब्सकी पुजा चौधरी उत्कृष्ट खेलाडी चुनिइन् ।

त्यस्तै सिनियर छात्रतर्फ उत्कृष्ट खेलाडी चुनिएका पेम्बा शेर्पाको उत्कृष्ट प्रदर्शनमा वल्सनले रेडिअन्टलाई ६१–५५ को स्कोरमा हराउदै च्याम्पियन बनेको थियो । पेम्बाले टिमका लागि महत्वपूर्ण ४३ स्कोरको योगदान गरेका थिए ।

त्यस्तै सिनियर छात्रतर्फको फाइभ ए साईट फुटबलमा माउण्टग्लोरी च्याम्पियन बनेको छ । उपाधि भिड्न्तमा माउण्टग्लोरीले आयोजक दि एक्सेलसियरलाई ७–३ गोल अन्तरले हराएको थियो । माउण्टग्लोरीको जितमा दिपेश गुरुङ ४,आयुष घलान २ र सुरेन्द्र घलेले १ गोल गरेका थिए । आयोजक दि एक्सेलसियरका निमेश गोतामे २ र ससांक रुम्बाले १ गोल गरेका थिए । आयोजकका कर्मा निमा गुरुङ उत्कृष्ट खेलाडी चुनिए ।