पलायन हुनु हाम्रो नियति भए पनि हामी विदेशीचाँहि होइनौ

पलायन हुनु हाम्रो नियति भए पनि हामी विदेशीचाँहि होइनौ


-सुमल कुमार गुरुङ,
साधारणतया मानिसहरु उमेर छिप्पिइँदै गएपछि अथवा परिपक्व भएर केही बुझ्न थालेपछि धेरै विषयहरुमा जिज्ञासा र चासोहरु राख्दै जान्छन् । मैले किशोर अवस्थामा आइपुग्दासम्म आफ्नो पुर्वजहरुबारे केही कुराहरु बुवाबाजेहरुबाट सुनेको थिएँ । अहिलेसम्म केही बुझ्ने र जान्ने कोशिसमा मेरो उमेरले पचास नाघेर गयो । फेरि पनि धेरै बुझ्नैपर्ने कुराहरु बाँकी नै रहेको बोध हुन्छ । मैले बुवाबाट थाहा पाएअनुसार हाम्रो गाउँ चित्रे, पर्वतमा लगभग सात पुस्ता अघि मेरा पूर्वजहरु ल्वाङघलेल गाउँ, कास्कीबाट बसाइँ सरेर आएका रहेछन् । चित्रेमा आएपछि चित्रे गाउँको मुखियाली र जिम्मुवालको जिम्मेवारी लिएर शुरुमा त्यसगाउँका वासिन्दा भएर स्थापित भएका रहेछन् । मैले अहिलेसम्म सम्झेअनुसार ३०, ३५ वर्षअघि हाम्रो खलकको एकैबाजेका सन्तानहरुको चित्रेमा २७ घर पुगेका थिए, तर, अहिले चित्रेमा बस्ने त्यस खलकका केवल एकजना ढापकुनाको साइलाबाबा मात्र छन् । अहिले ती २७ घरमध्येका २६ घरका सन्तानहरु नेपालका विभिन्न ठाउँहरुमा मात्र नभई संसारका कुना-कुनामा फिँजिएका छन् । पोखरामा्, रिठेपानी, काठमाडौ, हङकङ, बेलायत र भारतमा बस्दै आएका छन् । झण्डै डेढसय वर्षजति चित्रेमा बसोबास गरेर विगत ३०, ३५ वर्षभित्र पुर्ख्यौली थलो छाडेर भाइखलकका सदस्यहरु सबै तितरबितर भएर देशविदेश लागेका छन् । अहिलेका नयाँ पुस्तालाई आफन्तबारे केही थाहा छैन, भन्नाले चिन्दैनन् । यो एउटा परम्पराको विचलन मेरो खलकमा मात्र नभई उहिलेदेखि विदेशमा नोकरीको सिलसिलामा विदेश पलायन हुने सम्पूण नेपालीहरुको यथार्थ हो । यसरी हामी एक ठाउँबाट मात्र नभई जीवनमा केही प्राप्त गर्नका लागि भागिरहेका छौं ।
६० लाख वर्षदेखि पृथ्वीमा प्राणीहरुको उत्पत्तिबारे तथा मानव सभ्यताको विस्तारबारे इतिहासकारहरुले आधुनिक मान्छेका विभिन्न स्वरुप र विभिन्न स्थानहरुमा स्थानान्तरण विभिन्न आधारहरु र प्रमाणहरुलाई लिएर विवरणहरु सम्प्रेषन गरेका छन् । आदिकालदेखि नै मानिसहरु वास्तवमा कुनै न कुनै हिसाबमा भागिरहेका छन् । आफ्नो भौतिक सुख र केही नौलो प्राप्तिका लागि सदा संघर्षरत् भएको देखिन्छ । आधुनिक युगको वैज्ञानिक आविष्कारहरुको चमत्कारले त अझ मान्छे आफ्नो गाउँ-ठाउँमामात्र सीमित छेनन् अहिले । महिनौं लाग्ने यात्रा अहिले घण्टाभरमा हामी आधुनिक यातायातको साधनले गर्दा एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छौं । त्यसैकारण अहिले हामी विश्वलाई एउटा गाउँको रुपमा लिन थालेका छौं जसलाई ग्लोबल भिलेजको संज्ञा दिएको छ । तर, जीवनको भोगाइ र यथार्थलाई बुझ्दा-बुझ्दै हामी कहाँ भागिरहेका छौ त ? हामी यतिधेरै व्यस्त छौं कि हामीले आफूलाई चियाउने फूर्सद नै प्राप्त गर्न सकेको छैन । नेपालमा बसुन्जेल कसरी जागीरे बनेर, व्यापार गरेर अथवा विदेश गएर पैसा कमाएर सुखी सम्पन्न हुने भन्ने सोचाइमा बहुसंख्यक नेपालीहरु रुमल्लिएका छन् । जीवनज्ञापन गर्ने क्रममा भौतिक सुविधाको पूर्वाधार निर्माण गर्न र भविष्य सुरक्षित गर्नका लागि हामी सदैव संघर्षरत् हुन्छौं । हामी कहिल्यै सुरक्षित महशुस गर्दैनौं । मान्छेहरुका स्थानान्तरणको सन्दर्भमा केवल नेपाली मात्र नभई संसारभरिका सबै मानवजातिमा यो मानवीय अवगुण हावी भएको देखिन्छ । यसैकारण केही बटुल्न, केही खोज्न, प्राप्ती गर्न र केही आर्जन गर्न मान्छेहरु भागिरहेका हुन्छन्, पृथ्वीको कुना-कुना, यहाँसम्म कि दक्षिणी ध्रुव र उत्तरी ध्रुवका प्रत्येक कोणमा देश-विदेशका शिविरहरु अनुसन्धानका लागि स्थापित गरिसकेका छन् । यतिले मात्र नभई चन्द्रारोहण गरिसकेपछि ब्रम्हाण्डभित्रका उपयुक्त बस्ने ठाउँको खोजीमा मान्छे भागिरहेका छन् । मंगलग्रह अन्वेषणको अभियानले पनि दशक नाघिसक्यो ।
रोमन साम्राज्य विस्तार गर्ने क्रममा तत्कालीन गउल क्षेत्र (अहिलेको फ्रान्स) विजय गरेर नाघ्दै हालको बेलायतसम्म जुलियस सिजरका विशाल रोमन फौज बेलायत आएका थिए । २ हजारवर्ष पहिले किन आए रोमवासीहरु बेलायत ? तत्कालीन समयमा युद्धको माध्यमबाट समृद्धशाली भुभागहरु विजय गर्दै कब्जा गरेर साम्राज्य फैलाउने प्रचलन थियो । बेलायतको दक्षिणी भूभाग उब्जाउ र मलिलो भएको कारणले बाहृय आक्रमण भइरहन्थ्यो । त्यसपछि भाइकिङ अथवा समुन्द्री डाँकुहरुको पनि यो क्षेत्र प्रमुख गन्तव्य हुने गर्दथ्यो । शताब्दीयौंसम्म बेलायती भूमिलाई शासन गरेर रोम सभ्यताको ठूलो प्रभाव बेलायतवासीमाथि परेको थियो । बेलायतलाई शासन गर्ने क्रममा रोम महिलाहरु विजयपताका लिएर यहाँ आएका थिएनन् । त्यहाँ पुरुषयोद्धाहरु मात्र थिए तथा उनीहरुले बेलायतमा लामो समयसम्म शासन गर्ने क्रममा स्थानीय अंग्रेज महिलाहरुसँगको सम्पर्कबाट नयाँ सन्ततीहरुको वीजारोपण गरेर उहिले नै नयाँ नश्लका सन्ततीहरु जन्माए र रोमवासीहरुको रगत् अहिले धेरै संख्यामा बेलायतवासीहरुको शरीरमा प्रत्यक्ष तथा परोक्षरुपमा बगिरहेको कुरालाई हामी नकार्न सक्दैनौ । बेलायतको राजधानी लण्डोनियम रोमन शासकहरुले राखेको नाम हो । यो अप्रभंश भई अहिले लण्डन रहन गएको छ । बेलायतका जनताहरु कुनै न कुनै कालमा युरोपका अरु राष्ट्र र समुहका मानिसहरुसँग सम्बन्ध गाँस्दै आएको पाइन्छ । यसरी बेलायतमा मात्र नभई सम्पूर्ण विश्वभरि मानिसहरु मिस्सिइने परम्परा प्राचीनकालदेखि चल्दै आएको छ । अलेक्ज्यण्डरको भारतसम्मको आक्रमण, चैगेज खाँनको चीनदेखि मध्ययुरोपसम्मको राज्यविस्तार तथा मध्या एसियाका शासकहरुको भारतलाई लक्षित गर्दै सयौ युद्धहरुले ल्याएको परिणति सँगै विश्वमा मानव एकआपसमा मेलजोल हुँदै आएका छन् । नेपालका राजा अंशु वर्माकी छोरी राजकुमारी भृकुटीलाई सम्राट स्रोङचोङ गोम्पासँगको विवाह सम्बन्धले मानव मानवबीचको नयाँ सम्त्रन्ध उहिलेदेखि नै निर्माण हुँदै आएको तथ्या हाम्रो अघि छ । यो नाताले प्रगाढ बनाउँदै नयाँ नश्लको जन्म भएको हामीले पाउँछौ । भौगोलिक दुरीलाई पारगर्दै अहिले मान्छेहरु विस्तारै एकआपसमा मिसिइँदै गइरहेका छन् । यसर्थ हामी पलायन हुँदै एकै ठाउँमा कहिल्यै रहेनौ, हामी सदा चलायमान भएर धर्तीको प्रत्येक भूभाग आदिकालदेखि चहारिरहेका छौ ।
हजारौं वर्षदेखि मान्छे खोज र अन्वेषन गर्दै हिँड्दै आएका थिए । सोह्रौ शताब्दीदेखि युरोपका शक्तिशाली राष्ट्रहरुले आफ्नो साम्राज्य विस्तार गर्ने अभियानमा सम्पूर्ण विश्वको भौगोलिक रेखाहरु परिवर्तन गर्दै ल्याएका देख्छौ । यसैबेला प्राचीन अमेरिकी सभ्यता, चारसय वर्षको अन्तरालभित्र ल्याटीन अमेरिकाको इंका र माया सभ्यता लोप भएर जान्छ । सम्पुर्ण अमेरिकाभरि युरोपवासीहरुको प्रभुत्व हुन्छ । युरोपका धनाढ्यदेखि गरीबहरु नयाँ खोजबाट प्राप्त देशहरुको बहुमुल्य सुनचाँदी, हिरामोती, खनिजतत्वहरु र उब्जाउ भूभागहरु ओगट्नलाई लाखौंको संख्यामा युरोपबाट पलायन हुँदै अस्ट्रेलिया, अमेरिका र न्युजिल्याण्डहरुमा खनिएका थिए । अर्कोतिर अफ्रिकाली मुलुकहरु र एसियाली मुलुकहरुमा पनि साम्राज्य विस्तार गर्दै झण्डै पुरा विश्व नै युरोपेली शक्तिको मातहातमा जान्छ । अफ्रिकाका नेग्रोहरुको शोषन यिनै युरोपेली मुलुकहरुले उपनिवेश स्थापना गर्ने क्रममा गरेका हुन् । स्वयम् पलायन भएर जानु तथा जबर्जस्ती पलायन बनाएका लाखौंका संख्यामा दास बनाएर बेचेका निरीह कालाजातिलाई अमेरिकाका राष्ट्रपति अब्राहम् लिंकनको उदयले मात्र स्वतन्त्रता प्राप्त गरेकोथियो । त्यसभन्दा पहिले अमेरिकालगायत विश्वका कुना-कुनामा मानिसले मानिसलाई श्रम शोषण गरेको इतिहास देखिन्छ । धेरै टाढा किन जानु ? नेपालका मुक्त भनिएका कमैयाहरुको श्रमशोषन नेपालमा अझ यथावत छ । नेपालमा पनि कमारा-कमारीको किनबेचको प्रथा चन्द्र शमशेर जबराको पालासम्म थियो । तर्राई क्षेत्रमा परोक्ष रुपमा कमैयाको अनुरुप त्यो शोषण अस्तित्वमा थियो । यसरी शोषित हुनुबाट बच्न हजारौं वर्षदेखि भागिरहेका छन् भने कतिपय मानिसहरु शोषक बन्दै भागिरहेका छन् ।
एसियाका बलिया राष्ट्रहरु, जापानलाई छाडेर, भारत र चीन पनि युरेपेली उपनिवेशको ग्रहणले खर्लप्प निलेको थियो । विशेष गरेर उन्नाईसौं र वीसौं शताब्दीसम्म आइपुग्दा विश्वका मानवजातिहरु लगभग एकआपसमा घुलमिल भइसकेका थिए । मानव मानवबीच विभाजन गर्ने स्वार्थी मानव जमातले मान्छेलाई कहिल्यै एउटै समूहमा उभिन दिएनन् । तर, बेलायतको साउथ शिफिल्डमा हुर्केका प्रख्यात कवि जेम्स फ्याकोनर किरकपले यसै अनुभूतिलाई हृदयंगम गरी मानव कहिल्यै विदेशी हुँदैनन् भन्ने अभिव्यक्ति आफ्नो कवितामार्फत व्यक्त गरेका छन् । उनी वीसौ शताब्दीको अत्यन्त प्रभावशाली कविहरुमा पर्दछन् । उनले जापान र विभिन्न युरोपेली मुलुकहरुमा ३० वर्षभन्दा बढी प्राध्यापनको सिलसिलामा बेलायतबाहिर बिताएका थिए । उनले मान्छेभित्रको स्वारथ र सम्प्रदायिक भावनालाई लिएर विश्व एकताको लागि उहिले नै आव्हान गरेका थिए । उनको एउटा कविता मैले अहिले सम्झिरहेको छु, “No Men Are Foreign” अर्थात् “कुनै मानिस विदेशी होइनन्” । उनको यो कवितामा एउटा सिँगो मानव समाजको यथार्थलाई लिएर विश्वमित्रताको लागि आव्हान गर्दै उनले कवितामार्फत राम्रो सन्देश दिएका छन् । जीवनज्ञापन गर्ने क्रममा जुन देशमा तपाईको मृत्यु हुनेछ त्यसदेशको लागि तपाई विदेशी हुँदैनौ । तपाईको शरीरको अंशबाट बनेको माटो अब त्यो देशको माटो बन्न जान्छ । तर, त्यस धर्तीमा मिस्सिएको माटोको सुवास त्यसै देशमा रहन्छ, । माटोको सुवास र रंग संसारभरि एउटै हुन्छ भने हामी कसरी विदेशी हुन्छौं । त्यसकारण तपाई त्यो देशमा नजन्मे तापनि अब त्यस देशका लागि रहन र बस्ने मौलिक अधिकार प्राप्त भइसकेको छ भने तपाई विदेशी हुँदैनौ । अस्ट्रेलियाका मूल आदिवासीहरु अबोरिजिनहरु हुन् तर, युरेपेलीहरुले अस्ट्रेलियालाई अत्रि्रमण गरेपछि आफ्नै मूलथलोमा अल्पसंख्यक भएर अहिले अस्तित्व नै मेटेर जाने अवस्थामा छन् । जब मान्छेले विजय गर्दै भूमि अत्रि्रमण गर्दछन्, मान्छेको हिंसात्मक प्रवृति हावी हुँदै कमजोरलाई शोषण गर्ने अमानवीय गुणको विकाश परोक्ष रुपमा भइरहेका हुन्छ । त्यसैले सुरक्षित स्थानतर्फ हामी भागिरहेका हुन्छौं । तपाईलाई थाहा हुँदैन, तपाईको जीवनको संध्या कहिल्ये र कहाँ हुन्छ, र तपाईलाई यो पनि थाहा हुँदैन कि तपाई कहिले र कहाँ मृत्यु हुँदैछ । संसार सानो भइसक्यो हामी सबै एकै घरका सन्तान हौं । मानव समूहभित्रका सबैं दाजुभाइ, दिदी बहिनी हुन् । यसरी कविले आफ्नो कवितामा व्याख्या गरेका पंक्तिहरुमा यथार्थता थियो । उनी ९१ वर्षको उमेरमा सन् २००८मा स्वर्गवास भएका थिए ।
हामी नेपालीहरु अहिले विश्वका कयौं राष्ट्रहरुमा छरिएर बसेका छौं । तपाईको भौतिक शरीरको जन्म नेपालमा भए तापनि तपाईको मृत्यु कहाँ हुन्छ त्यो तपाईलाई थाहा हुँदैन । हामी एक तमासले भागिरहेका छौं । तर, हामी यही धर्तीको एउटा भागमा बाँचिरहेका हुन्छौं । विश्व हाम्रो घर हो, त्यसकारण हामी संसारको कुनै राष्ट्रमा बसोबास गरे पनि हामी विदेशीचाँही होइनौं भन्ने सोच्नुपर्छ । जतिले जस्तै पहिचान बोकेर हिँडेता पनि सर्वप्रथम हामी मानव हौ र दोश्रो अहिलेको समयले छ्रट्टयाएको मानव वर्गीकरणले गर्दा नेपालीको अस्तित्वमा रहेको हाम्रो चिनारीमात्र नेपाली हुन आउँछ । नेपालीको अस्तित्व बोकेर हामी कहाँ, कहिलेसम्म भाग्ने हो त्यसको बारेमा देशमा अहिले नेतृत्व गरेर बसेका जमातले उत्कृष्ट वातावरण सिर्जना गरेर देशबाट अब पलायन हुने र भाग्नेबाट रोक्न सक्नुपर्दछ भन्ने स्तम्भकारको अनुरोध छ ।
The Author can be reached at [email protected]