अन्तर्राष्ट्रिय तेक्वान्दोमा पाँच खेलाडीले जिते स्वर्ण

अन्तर्राष्ट्रिय तेक्वान्दोमा पाँच खेलाडीले जिते स्वर्ण


नेपालकी पुष्पा श्रेष्ठले अन्तर्राष्ट्रिय ओपन पे्रmण्डशिप तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण पदक जितेकी छन् । इटहरी रंगशालास्थित कर्भडहलमा शुरु भएको च्याम्पियनसिपमा पुष्पाले महिला ३७ केजी तौल समूहमा नेपालकी अनुजा परियालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् ।

पहिलो दिनको खेलमा महिला ३५ केजी तौल समूहमा नेपालकी सावित्रा तामाङ, ४६ केजीमा नेपालकी सिमोन सुनुवारले स्वर्ण जितेका थिए । पुरुष ३३ केजी तौल समूहमा नेपालका सुजन सिलवालले नेपालकै रोशन चौधरीलाई पराजित गर्दै स्वर्ण पदक जिते ।

महिला २९ केजीमा भारतकी नयना ताराले स्वर्ण जितिन् । त्यसैगरी पुम्सेतर्फ नेपालकी पुनम देवकोटा, सिंहा लिम्बु, सुस्मिता तामाङ, रविन गुरुङ, निशा दरनालले स्वर्ण जितेको आइओएफटीसीका प्रतियोगिता डाइरेक्टर दिवाकर महर्जनले बताए ।

च्याम्पियनसिपमा नेपाल लगायत अमेरिका, क्यानडा, भारत, बंगलादेशलगायत १२ देशको सहभागीता रहेको छ । यस अघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले राजधानी बाहिर अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुनु गर्वको कुरा भएको बताए । उनले आगामी दिनमा इटहरीबाट पाठ सिकेर अन्य क्षेत्रले पनि यस्ता प्रतियोगिता गर्नुपर्ने बताए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले इटहरीमा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप गरेर यो शहर जस्तो सुकै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्ने क्षमता प्रस्तुत गरेको छ । उनले इटहरीलाई खेलकुदको राजधानीको रुपमा विकास गर्ने बताए ।

प्रतियोगिता मंगलबारसम्म संचालन हुने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद ५० हजार पुरस्कार पाउने छ भने उत्कृष्ट कोचले २५ हजार पुरस्कार पाउने छ । प्रतियोगितामा ८७ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ७ सय २१ खेलाडीको सहभागीता रहेको प्रतियोगिताका संयोजक राष्ट्र राईले बताए ।