गेसोको दोस्रो वार्षिक भेला सम्पन्न

गेसोको दोस्रो वार्षिक भेला सम्पन्न


फार्नबोरो, यूके । हिजो दिउँसो, अल्डरसट, फार्नबोरो कम्युनिटि गेसोको आयोजनामा गेसोको दोस्रो वार्षिक भेला भव्यताका साथ सम्पन्न भएको छ । करीव दुर्इ हजार नेपालीहरुको सहभागिता रहेको सो भेलामा विविध रुपका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । सीता, विभा, र दीपाले संयुक्त रुपमा सञ्चालन गरेको सो कार्यक्रम रातको अबेरसम्म धुमधामका साथ चलेको थियो ।
संस्थाका अध्यक्ष पदमबहादुर गुरुङले गुर्खाहरुका मागको सुनुवाइ ब्रिटेनमा नहुने हो भने त्यसलाई अन्तर्राष्ट्रिय अदालतमा अन्तर्राष्ट्रिय मुद्दा संस्थाको विचार मुख्य रुपमा राखेका थिए । कार्यक्रमको औपचारिक चरणको मन्तव्यको सो क्रममा संस्थाका महासचिव महेन्द्रलाल राईले भूपू गुर्खाहरुको हकहितको लागि संघर्घरत संस्था भएको बताउँदै समाजमा व्याप्त रहेका अन्य संस्थाहरुका केही व्यक्तिहरुले गेसोको बदनामी गरी गेसोका शुभचिन्तक तथा कार्यकर्ताहरुमाझ भ्रम फैलाउने चेष्टा गरेको र सो भ्रममा नपर्न उपस्थित सबैलाई मन्तव्यमा सूचित गरेका थिए । स्मरणीय रहोस्, भूपू गुर्खा सैनिकहरुका हक र हितका लागि भनी संगठित संस्थाहरु गेसोसहित अन्य चारवटा सामाजिक रुपमा सार्वजनिक भएका छन् । ती हुन् गेसो यूके, बी.जी.ई.ए.एन, बी.जी.डब्लू.एस र एम.ई, एस. ए.ए. । माथि उल्लेखित संस्थाहरुमध्ये गेसो यूकेले…आफ्नो संस्था नै पक्का संस्था भएको र गेसोले आफ्नो लोगो तथा ब्यानर प्रयोग गरेको भन्दै स्थानीय पुलिस स्टेशनमा रिपोर्ट दर्ता गराएको थियो । सो संस्थाका अध्यक्ष भक्तशेर राईले पदमबहादुर गुरुङ र महेन्द्रलाल राईलाई निष्काशन गरी आफू अध्यक्ष भएको मेरो यूके डटकमको जिज्ञाशाको क्रममा बताएका थिए, त्यसैलै आफ्नो संस्थाको लोगो र ब्यानर त्यसरी प्रयोग गर्नका लागि वञ्चित गर्ने आफ्नो अधिकार रहेको बताएका थिए भने गेसोका एक संस्थापक सदस्य महेन्द्र राईले भक्तशेर राईले आफू बेलायतको प्रधानमन्त्री क्यामरुन हुँ भनेदेखि के तपाईँ पत्याउनुहुन्छ भनी मेरोयूके डट कमका सम्वाददातालाई फोनमा बताएका थिए । राईले अगाडि भने – “पुलिसमा रिपोर्ट गरिएको रहेछ, तर त्यसलाई मिलाइएको छ । गेसोको पूर्व सदस्यहरु भक्तशेर राई, नारण कन्दङ्वा, गजेन्द्र आईएसओ लिम्बू, वौद्धमान लिम्बू र सन्तोष थुलुङ लिम्बू गेसोको बारेमा समाजमा विभिन्न भ्रमहरु फैलाउने व्यक्तिहरु हुन् ।” मेरो यूके डट कमले अन्य व्यक्तिहरुसँग सम्पर्क राख्न सकेको छैन ।
हिजो भएको सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।
-याम, मेस, वाँकी फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।