अन्तर्राष्ट्रिय तेक्वान्दोमा मैत्री टिम च्याम्पियन

अन्तर्राष्ट्रिय तेक्वान्दोमा मैत्री टिम च्याम्पियन


नेपालको मैत्री तेक्वान्दो डोजाङ १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा टिम च्याम्पियन बनेको छ । मैत्री ११ स्वर्ण, ८ रजत र ११ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको हो ।

इटहरी रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा नेपाल आर्मी १० स्वर्ण, ६ रजत र १२ कांस्य हात पार्दै दोश्रो भयो भने सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब ८ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ तेश्रो भयो । नेपालबाट सहभागी टिम मध्ये उक्त टिमहरुले शीर्ष तीन स्थान हात पारेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् को विशेष सहयोगमा (आईओएफटीसी) को विशेष सहयोगमा आईओएफटीसीद्वारा आयोजित प्रतियोगितामा सहभागी विदेशी टिम मध्ये अमेरिका टिम प्रथम भयो । अमेरिकाले ४ स्वर्ण, ३ रजत र १ कांस्य प्राप्त ग¥यो । ४ स्वर्ण, २ रजत र ३ कांस्यसाथ बंगलादेश दोश्रो तथा १ स्वर्ण र ३ रजतसाथ युके तेश्रो भयो ।

प्रतियोगिताको ग्योरोगीतर्फ पुरुषमा भारतका अभिषेक यादव तथा महिलामा नेपालकी दक्षिणा ठकुरी उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही ५० हजार नगद पुरस्कार पाए । पुम्सेको पुरुषमा भारतका बेदाशिष दास तथा महिलामा नेपालकी सीना मादेन उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट दुवैलाई समान २५–२५ हजार नगद पुरस्कार पाए ।
प्रशिक्षकतर्फ पुरुषमा भारतका सौरभकुमार सिंह तथा महिलामा नेपालकी विकेश विडारी उत्कृष्ट घोषित हुँदै २५–२५ हजारका दरले नगद पुरस्कार हात पारे ।

अन्तर्राष्ट्रिय निर्णायकतर्फ पुरुषमा नेपालका भारतका सुन्दरमणि पटेल तथा महिलामा नेपालकी विमला भण्डारी उत्कृष्ट निर्णायक चुनिए । राष्ट्रिय निर्णायकको पुरुषमा रेशमकुमार पुन मगर तथा महिलामा विद्या राई उत्कृष्ट ठहरिए । उत्कृष्ट चारैले ५ हजारका दरले नगद पुरस्कार जिते ।

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) उत्कृष्ट टिम घोषित भयो । एनटीएले समग्रमा ४० पदक जित्यो । एनटीएले ५ स्वर्ण, १५ रजत र २० कांस्य जित्यो । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १२ राष्ट्रका ७ सय २१ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।