राष्ट्रपति बने पूर्वफुटबलर

राष्ट्रपति बने पूर्वफुटबलर


लाइबेरियाको राष्ट्रपति निर्वाचनमा पूर्वफुटबलर जर्ज वेहले बाजी मारेका छन् । जर्जले राष्ट्रपति निर्वाचनमा ६० प्रतिशत मत प्राप्त गरेपछि उनी लाइबेरियाको राष्ट्रपति बन्ने पक्का भएको हो । गत साता लाइबेरियामा राष्ट्रपतिको निर्वाचन भएको थियो । अब उनले वर्तमान राष्ट्रपति एलिन जोन्सन सरलिफलाई प्रतिस्थापन गर्नेछन् ।

जर्ज लाइबेरियामा निकै लोकप्रिय छन्, उनी पहिले खेलाडीको रूपमा चर्चित थिए भने अहिले राजनीतिक कारणले पनि लोकप्रिय बनेका छन् । यस्तो अवस्थामा जर्जले राष्ट्रपति निर्वाचनमा बहुमत ल्याएर राष्ट्रपति बन्ने पक्का भएपछि अहिले लाइबेरियाका जनता खुसीमा रमाएका छन् । निर्वाचनमा विजय हासिल गरेपछि विश्वभरिका फुटबल खेलाडी र उनका समर्थकले सामाजिक सञ्जालमार्फत जर्जलाई बधाई दिएका छन् ।

लाइबेरियामा राष्ट्रपतिको पहिलो चरणको निर्वाचन गत अक्टुबरमा भएको थियो । जसमा जर्जले सबैभन्दा बढी ३८.४ प्रतिशत मत प्राप्त गरेका थिए । दोस्रो चरणको निर्वाचन गत साता सम्पन्न भएको थियो । दोस्रो चरणको निर्वाचनमा पनि जर्जले सबैभन्दा बढी २८.८ प्रतिशत मत प्राप्त गर्न सफल भएका थिए । यसरी पहिलो र दोस्रो चरणको गरी जर्जले कुल ६० प्रतिशत मत प्राप्त गर्दै लाइबेरियाको भावी राष्ट्रपति चुनिन सफल भएका हुन् ।

सन् २००२ बाट सक्रिय फुटबलबाट सन्न्यास लिएपछि जर्ज राजनीतिमा होमिएका थिए । आफ्नो डेढ दशक लामो फुटबल करिअरमा जर्जले विश्वका चर्चित क्लबबाट फुटबल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । युरोपियन फुटबल क्लब परेस सेन्ट जर्मनी, एसिमिलान र त्यसपछि इंग्ल्यान्डका चर्चित फुटबल क्लबबाट जर्जले फुटबल खेलेका थिए । जर्ज त्यस्ता एक्ला अफ्रिकन खेलाडी हुन् जो ‘फिफा विश्वकप प्लेयर अफ दी इयर’ र प्रेस्टिजिअस बालन डाक्टरको उपाधिबाट सम्मानित भएका थिए ।

राष्ट्रपतिको निर्वाचनमा जर्जले भोट माग्न जाँदा फुटबललाई हतियार बनाएका थिए । सो अवसरमा लाइबेरियामा खेलकुदको विकास सँगसँगै सम्पूर्ण देशको विकासका लागि अहम् भूमिका निभाउने दाबी गरेका थिए । अहिले जर्जले देखाएको सपनामा लाइबेरियाका जनताले लालमोहर लगाएका छन् । अब जर्ज आफूले देखाएको सपनामा भविष्यमा कति खरो उत्रिन्छन् त्यो प्रतीक्षाको विषय बनेको छ । जर्जले मुलुकमा आर्थिक क्रान्ति ल्याउने जनतासमक्ष प्रतिबद्धता जाहेर गरेका छन् ।

अफ्रिकी राष्ट्र लाइबेरियामा दुई चरणमा भएको राष्ट्रपति निर्वाचन शान्तिपूर्ण तरिकाले भएको थियो । अपराधका कुनै छिटफुटका घटनासमेत भएका थिएनन् । लाइबेरियामा भएको यो शान्तिपूर्ण निर्वाचन र जर्ज राष्ट्रपतिमा निर्वाचन भएपछि लाइबेरियाले विकासको काँचुली फेर्ने त्यहाँका जनताको विश्वास छ । लाइबेरियामा जर्जको लोकप्रियता अन्यको तुलनामा निकै भएकाले उनले कार्यकाल सुखद रहने अनुमान पनि गरिएको छ ।

हेरौँ, फुटबलको मैदानमा आफूलाई सफल खेलाडी साबित गर्दै विश्वका फुटबलप्रेमीको मन जित्दै फिफा वर्ष खेलाडीको उपाधि पनि जितेका जर्जले आफ्नो देशको वागडोर सम्हालेपछि देशको जनताको मुहारमा कत्तिको खुसी ल्याउँछन् त्यो उनको आगामी क्रियाकलापले देखाउनेछ । यदि उनी फुटबलको मैदानझैँ यहाँ पनि सफल भए त्यो लाइबेरियाका लागि सबैभन्दा खुसीको कुरा हुनेछ ।