– श्रीविक्रम भण्डारी
नेपालको सन्दर्भमा पत्रकारिता पेसा जति जोखिमयुक्त छ, त्यसभन्दा जोखिमपूर्ण छ, सगरमाथा चढ्न । दुवैमा स्थापित हुन र सफलता पाउन फलामकै चिउरा चपाउनुपर्छ । त्यसैले आँट, साहस र धैर्य हुनेले मात्र यी पेसालाई आत्मसात् गर्छन् । जोखिमको पराकाष्ठा आफ्नो ठाउँमा हुन्छ भने निडरता आफ्नो ठाउँमा । र पनि हिमाल जति अटल छ, जति सुन्दर छ, त्यसलाई अवलोकन गर्दा जति आनन्द आउँछ, त्यसको आरोहण पक्ष त्यति नै जटिल छ, जुन आमनेपालीको कल्पनाभन्दा बाहिर कुरा छ ।
‘हिमाल’ त्यसमाथि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने चाहना राख्नु आमनेपालीको पहुँचभन्दा निकै टाढा छ । आर्थिक होस् या सामाजिक त्यत्तिकै चुनौतीको सामना गर्नुपर्छ हिमाल चढ्ने सपना देख्ने आमनेपालीका छोराछोरीले । यस्तोमा कुनै नेपालीले सगरमाथा आरोहण गर्ने आँट साहस देखायो भने त्यो दुस्साहस पनि ठहरिन सक्छ । तर, जहाँ इच्छा त्यहाँ उपाय भनेझँै अहिले नेपालका पाँचजना छोरीले पनि सगरमाथा चढने आँट र साहस देखाएका छन् । जुन आफँैमा मनन र तारिफ गर्ने लायक र योग्य छ ।
महिला र सगरमाथाको प्रेम–सम्बन्ध निकै रोचक र सनसनीपूर्ण छ । प्रथमपटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेकी जापानकी महिला आरोही जुन्को ताबेईको अदम्य साहसको अहिले पनि चर्चा गरिन्छ । यसर्थमा कि त्यतिबेला सगरमाथामा आरोहण गर्नेमा पुरुषहरूको बिगबिगी र बाहुल्य थियो । तत्कालीन समयमा महिलाले सगरमाथा चढ्नु भनेको काल्पनिक कुरा मात्र ठानिन्थ्यो । यस्तो विषम परिस्थितिमा महिला भएर पनि ताबेईले जुन आँट र साहस देखाइन् त्यो हिजो पनि प्रशंसा गर्न लायक थियो भने आज पनि छ, भोलि पनि सदाबहार रहनेछ । त्यसपछि विश्वका सयौँ महिलाले सगरमाथाको सफल आरोहण गरेर कैयौँ कीर्तिमान कायम गरिसकेका छन् ।
यस्तोमा नेपाली महिलाले सगरमाथा चढ्ने प्रयास नगरेका पक्कै होइनन्, तर उनीहरूलाई सफलता मात्र प्राप्त नभएको हो । वि.सं. ०५० मा पासाङ ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरेर त्यो कुरालाई प्रमाणित गरेकी थिइन् । ल्हामुको त्यो सफलता अहिले नेपाली महिलाका लागि मार्गदर्शन मात्र नभई नेपाली इतिहासको कोसेढुङ्गा साबित भएको छ । दुःखको कुरा ल्हामुको सगरमाथा सफल आरोहण गरेर फर्किने क्रममा निधन भयो । त्यसबेला स्वर्गीय ल्हामुको निधनले राष्ट्रलाई शोकमा डुबाए पनि उनले हासिल गरेको सफलताको उचाइको मापन गर्न सकिँदैनथ्यो । किनकि पासाङ ल्हामु शेर्पा ती नेपालकी छोरी हुन् जसलाई पहिलोपटक सगरमाथाको सफल आरोहण गर्ने सौभाग्य प्राप्त भएको थियो । उनले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेर आफूसँगै सम्पूर्ण नेपाली महिलाको नाम नेपालको इतिहासमा स्वर्णाक्षरले लेखाउन सफल भइन् ।
स्वर्गीय पासाङ ल्हामु शेर्पाको पदचिह्नलाई आत्मसात् गर्दै यतिबेला नेपाली पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आइरहेका पाँचजना महिला पत्रकारले सगरमाथा आरोहण गर्ने साहस जुटाएका छन् । त्यसका लागि उनीहरूले आरोहणसम्बन्धी विभिन्न तालिम लिएर लक्ष्य भेदनका लागि तम्तयार देखिएका छन् । यतिबेला उनीहरूको तयारी अन्तिम अवस्थामा पुगेको छ । सगरमाथामा आरोहणसँगै आर्थिक समस्याले पनि उक्त टोलीलाई नराम्रोसँग गाँजेको छ । तैपनि उक्त टोलीले हिम्मत भने हारेको छैन । सगरमाथा आरोहणलाई उनीहरूले अर्जुनदृष्टि बनाएका छन् । बाधा, अवरोधहरूलाई पन्छाएर अघि बढ्ने पाँच पाण्डवको टोलीले प्रतिबद्धता जाहेर गरेका छन् । त्यसका लागि उनीहरू युद्धमा खटिएको सिपाहीझैँ खटेका छन्– सगरमाथालाई नजिकबाट महसुस गर्न, आउँदो सिजनको मार्च महिनामा ।
झन्डै एक लाख वर्षको इतिहास बोकेको छ, सगरमाथाले । पृथ्वीमा मानवजातिको उत्पत्तिसँगै सगरमाथाको बिरासत थियो । त्यही बिरासतको आलिङ्गनको न्यानो मायाको अनुभूति गर्न ‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूल नाराका साथ महिला पत्रकार टोेली सगरमाथा आरोहणका लागि जुटेको छ । यात्राको क्रममा विभिन्न हिमालमा लुकेका वास्तविक घटनालाई प्रत्यक्ष नियाल्दै घटनाको सही समाचार लेख्न पाउने र यसले हिमालको दुनियाँलाई समाजमा वा मिडिया अझै जस्ताको त्यस्तै ल्याउन सक्ने विश्वास राखेका छन् । उनीहरूको दृढ विश्वास हेर्दा समाजमा केही परिवर्तन ल्याउन तत्पर देखिन्छ यो टोली । जसले भविष्यमा पत्रकारिता क्षेत्रमा प्रेरणादायी भूमिका खेल्नेमा दुईमत छैन । कलम चलाइरहेका पत्रकारले आइस एक्स चलाउन पनि सक्छ भन्ने सन्देश त दिन्छ नै तर समाज वा अरूलाई परिवर्तन गर्न आफू पनि परिवर्तन हुनुपर्छ भन्ने यो टोलीको विचार रहेको छ ।
जीवनलाई प्रयोगशाला मान्ने देउराली चाम्लिङ
हिमाल चढ्नकै लागि जन्मिएकीजस्ती देखिने ३५ वर्षीया देउराली चाम्लिङ टिममा सबैभन्दा म्याचुएर्ड छिन् । काम सानो–ठूलो नहुने, श्रमको सम्मान गर्ने र कामको सही मूल्याङ्कन हुनुपर्छ भन्ने मान्यता राख्छिन् । धरानको ‘ब्ल्यास्ट टाइम्स दैनिक’बाट पत्रकारिता सुरु गरेकी उनले त्यसपछि मीरा टाइम्स, वुमेन्स एरा मासिकको उपसम्पादक रहेर काम गरिन् । काठमाडौं भने उनको पत्रकारिता यात्रा मैत्री एफएमबाट सुरु भयो । यात्रा र साहसिक काममा रमाउने भएर होला उनी नेपालको ५० भन्दा बढी जिल्लामा पुगिसकेकी छिन् ।
जीवन एक प्रयोगशाला हो भन्ने मान्यता राख्ने उनी प्रत्येक बिहानी आफनो जन्मदिन मान्छिन् । भविष्यमा राम्रो ‘राइटर क्याम्प’ स्थापना गर्ने इच्छा राखेकी छिन्, जुन क्याम्पमा कृषि, पर्यटन र संस्कृति समेटिएको हुनेछ । उनी भन्छिन्, ‘कृषक र कृषि पेसालाई जबसम्म सम्मान हँुदैन तबसम्म देशमा विकास र परिवर्तन हँुदैन ।’ उनी आफ्नो दैनिक जीवनमा लेखक झमक घिमिरे र वैज्ञानिक स्टेफन हकिन्सबाट निकै प्रभावित हुने बताउँछिन् ।
मरेर बाँचेकी कल्पना महर्जन
समाजमा महिलाको विकास, नेपाली पत्रकारिता र नेवारी समाजमा विशेष योगदान गर्न चाहने ललितपुरवासी कल्पना महर्जन महिला टिमको बलियो सदस्य हुन् । ३२ वर्षीया कल्पना एउ छोराकी आमा पनि हुन् । झन्डै पर्यटन पत्रकारितामा एक दशक पार गरिसकेकी कल्पनाले हालका दिनमा आइपुग्दा धेरै सङ्घ, सङ्गठनहरूको नेतृत्व गरिसकेकी छिन् । कल्पनाले यसअघि सन् २०१४ मा पनि सगरमाथा आरोहण गर्ने प्रयास गरेकी थिइन् ।
तर, अभ्यास र तालिमअन्तर्गत मेरापिकमा हुटहुटीका कारण दुर्घटनामा परिन् । सात दिन कोमामा परेर सात हप्तामा साधारण अवस्थामा आइपुगेकी कल्पना त्यो क्षण सम्भिmँदै भन्छिन्, ‘मेरो दोस्रो जन्म हो र म बाँचेको सगरमाथा चढ्नलाई नै हो ।’ उनको सगरमाथाप्रतिको लगाव र झुकाव देखेर सबै दङ्ग छन् । कल्पनाको मिहिनेतको उनको सम्पूर्ण टिमले नै तारिफ गर्छ । कल्पना हाल मेघा टेलिभिजनमा सिनियर प्रोग्राम प्रिजेन्टर र प्रोड्युसर पनि हुन् ।
चुनौतीमा रमाउने रोशा बस्नेत
प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को धारणा भने २९ वर्षीया रोशा बस्नेतको हो । मोरङमा जन्मिएकी रोशा पत्रकारिता सँगसँगै जस्तोसुकै अप्ठ्यारो र बाधा–अड्चनमा पनि जुध्न तयार रहने बताउँछिन् । धेरैभन्दा धेरै अध्ययन गर्न रुचाउने रोशा हाल राष्ट्रिय समाचार समितिमा अङ्ग्रेजी समाचार सम्पादक हुन् । जीवनको सगरमाथा धेरैपटक चढिसकेकी उनी अब वास्तविक र सुन्दर सगरमाथा चढ्न साहस जुुटाएको बताउँछिन् ।
प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोलीको सफलताले नेपाली समाजलगायत विभिन्न क्षेत्रका महिलालाई प्रोत्साहन मिल्ने विश्वास राख्छिन् । सगरमाथा चढ्नु शारीरिक, मानसिक, आर्थिक र सामाजिक पक्षबाट नै निकै चुनौतीपूर्ण भएको उनको बुझाइ छ । साथै समय पनि धेरै नै खर्चिनुपर्ने कारण पाँचजना महिला पत्रकारलाई आफ्नो मिडिया हाउस, घरपरिवार, समाज र राष्ट्रले नै सहयोग र प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ ।
महिला सशक्तीकरणको सन्देश प्रियालक्ष्मी कार्की

न्युज २४ टेलिभिजनकी २७ वर्षीया प्रियालक्ष्मी कार्की टिमकी अर्की सदस्य हुन् । सानो उमेरदेखि नै स्पोर्टस् लभर प्रियालक्ष्मी साहसिक काम गर्न निकै रुचाउँछिन् । यात्रा गर्न र फरक–फरक दुनियाँ देख्न मन पराउने उनी पोजिटिभ भाइप्समा निकै विश्वास राख्छिन् । जीवनमा एकपटक सगरमाथा चढ्छु भनेर बसेकी उनी १० वर्षदेखि यही सोचमा थिइन् । यतिबेला सगरमाथाले आफूलाई बोलाएको महसुस भएको उनी बताउँछिन् ।
सगरमाथा चढ्नु उनको रहर र बाध्यता होइन, मात्र महिला सशक्तीकरणको सन्देश हो । जसले महिलालाई आधा आकाशको परिधिको संज्ञाबाट पूर्णता दिने कार्य गर्नेछ । जसलाई उनीले चुनौतीको रूपमा आत्मसात् गर्दै सफलताको मूर्त रूपमा ढाल्ने विश्वास प्रकट गरेकी छिन् । साथै यात्रा गर्नु जीवनमा सिक्नका लागि सबैभन्दा उपयुक्त अध्ययन भएको उनको ठम्याइ छ । गन्तव्य निश्चित हुनुपर्छ, उकाली, ओराली, भञ्ज्याङ–चौतारीको वास त यात्राको छाया हुन् । जुन आँट र साहसका अगाडि सूर्यका अगाडि दियोजस्तै हुन्– उनको कथन थियो ।
विश्वकीर्तिमान बनाउने सोचमा रोजिता बुद्धाचार्य
नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य टिमकी अर्की सदस्य हुन् । २५ वर्षीया रोजिताले पाँच वर्षअघिदेखि नेपाल टेलिभिजनमा आजको विज्ञान कार्यक्रम गर्दै आएकी छिन् । विज्ञानको संसारमा रमाइरहेकी रोजिता नेपालभन्दा अन्तर्राष्ट्रिय क्षेत्रमा बढी परिचित नाम हो । उनी हालै मात्र नासामा ताराहरूको अध्ययन र काम गरेर फर्किएकी हुन् । सधैँ टप गर्ने बानी लागेको रोजिताले नासामा पनि टप गरिन् । यसका साथै नासाको ६४ वर्षको इतिहासमा ताराहरूको अध्ययन गर्ने रोजिता पहिलो नेपाली हुन् । आफ्नो राष्ट्रको निम्ति एउटा इतिहास कोरिसकेकी रोजिता अब प्रथम महिला पत्रकार सगरमाथा आरोहणलाई सफल बनाउँदै विश्वकीर्तिमान बनाउने सोचमा छिन् । झमक घिमिरेको जीवनमा आधारित ‘जीवन काँडा कि फूल’ चलचित्रमा झमकको भूमिकामा पर्दामा देखिएकी उनी अब संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथाबाट आकाशका ताराहरूलाई नियाल्न चाहन्छिन् । उनी समाजमा रहेका हरेक मानिसको मात्र नभई जीव–जनावरसमेतको विकास हुनुपर्नेमा जोड दिन्छिन् ।
प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टिम आजभन्दा १० महिना अघिबाट सुरु भएको यात्रा हो । यो दौरानमा १३ सङ्ख्याबाट अहिले आएर पाँचमा सीमित भएको छ । यात्रा अगाडि बढ्दै जाँदा विभिन्न तालिम र अभ्यासको दौरानमा सङ्ख्या पनि घट्दै गएको टिमकी नेतृ कल्पनाले बताइन् । अबको दुई महिना विभिन्न तालिम र आर्थिक पक्ष र स्पोन्सरसिपका लागि दौडिने उनीहरूको योजना छ ।

यतिबेला निकै व्यस्त देखिएको यो टोलीको दिनचर्या भनेको आरोहणसम्बन्धी विभिन्न सङ्घसंस्था र व्यक्तिलाई जानकारी गराउनु रहेको छ । अहिले एउटै परिवारका सदस्यजस्तै देखिएका उनीहरू दोलखाको रोलपालिङमा अवस्थित ६ हजार मिटरको रामदुङ र यालुगङ दुई ससाना हिमाल आरोहण तथा तालिम लिएर फर्किएपछि सगरमाथालाई नजिकबाट बुझ्न थालेको प्रियालक्ष्मी बताएकी छिन् ।
सङ्गठित रूपमा कार्य गर्दा कुनै पनि कार्य असम्भव हुँदैन । त्यसका लागि कडा मिहिनेत सर्वस्वीकार्य सिद्धान्त हो । सगरमाथाको यात्राको क्रममा पनि टोलीले यो कुरालाई आत्मसात् गर्दै आएको छ । उनीहरू समाजको परिवर्तनका लागि केही गर्नुपर्छ भन्ने धारणामा प्रेरित छन् । समाज परिवर्तन गर्न आफूबाट परिवर्तन हुनु जरुरी ठान्छन् । सगरमाथा आरोहण २०१८ टोलीले आरोहणपछिको योजना पनि तयार पारेको छ । त्यसका लागि उनीहरूले पहिले आफूलाई योग्यताको लालमोहर लगाउने र त्यसैलाई हतियार बनाएर समाजमा अघि बढ्ने निष्कर्ष निकालेको छ ।
यस्तो अवस्थामा आर्थिक सहयोगका हातहरू उक्त टोलीको सफलताका लागि कोसेढुङ्गा साबित हुने रोशा बस्नेतको विश्वास छ । यो टोली लाजिम्पाटस्थित डिमर्रस डेस्टिनेसन एक्पिडिसन कम्पनीबाट तेन्जिङ शेर्पाको नेतृत्वमा सगरमाथा आरोहणका लागि आगामी चैतमा त्यसतर्फ प्रस्थान गर्दै छ । शेर्पाले यसभन्दा अघि १२औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
प्रतिक्रिया