प्रदेश राजधानी र प्रमुखलाई थाती राख्दै तोकियोे राष्ट्रियसभा निर्वाचनको मिति

प्रदेश राजधानी र प्रमुखलाई थाती राख्दै तोकियोे राष्ट्रियसभा निर्वाचनको मिति


प्रदेश राजधानी र प्रदेश प्रमुख नतोक्दै सरकारले राष्ट्रियसभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ । आकस्मिक बोलाइएको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा माघ २४ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति तय गरेको हो ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको वैठकले प्रदेशलाई थाती राख्दै राष्ट्रियसभाको निर्वाचन माघ २४ गतेका लागि तोक्ने निर्णय गरेको छ । संविधानको धारा ८६ को उपधारा २ को क खण्डमा टेकेर राष्ट्रियसभा निर्वाचन मिति घोषणा गरेको हो । राष्ट्रिय सभा निर्वाचन सम्वन्धि अध्यादेश २०७४ को दफा ५ को उपदफा १ बमोजिम आगामी माघ २४ गते बुधवार निर्वाचन गराउने र यसलाई नेपाल राजपत्रमा प्रकाशन गर्न निर्णय गरेको छ ।

त्यसैगरी, मन्त्रिपरिषदको आगामी वैठकले प्रदेश प्रमुख तोक्ने तयारी समेत गरेको स्रोतले जानकारी दिएको छ । तर प्रदेश राजधानी तोक्ने काममा भने सरकारले तत्परता देखाएको छैन । प्रदेश राजधानी नतोके थप समस्या हुने देखिएको छ । प्रदेश प्रमुख मात्र तोकिदा प्रदेशसभा गठन लगायतका विषयमा संकट हुने देखिएको छ ।