[कविता]जङ्ग बहादुरको रातो घोडा

[कविता]जङ्ग बहादुरको रातो घोडा


-दाजु गुरुङ,
धेरै पहिले कोतबाट फुकेको
जङ्ग बहादुरको रातो घोडा
यही सडकै सडक भएर दरबार पसेको थियो
घोडा जति नै बड्के पनि, जति नै फड्के पनि
कालान्तर आफ्नै तबेलाबाट लडेको थियो
आफन्तै आफन्तहरुबाट मारिएको थियो,
तर चार भञ्झ्याङ्ग भित्रको खुल्ला चौरको चौकुनामा
अझै जङ्ग बहादुरको राता घोडाहरु जिउँदैछन्
शताव्दीयौंदेखि पहरामा तैनाथ छन्
हरपल आवतजावतका हरेक अनुहारहरुको फेरिस्ता राख्छन्
लाग्छ, राता घोडाहरु समयलाई चुनौती दिइरहेछन्
कोतको ज्यूँदो इतिहास बोकेर ।
जङ्ग बहादुर कोत रातो घोडा
विगत इतिहास बनिसकेको छ
तर विगत इतिहास वर्तमानप्रति अट्टहास गरिरहेछ,
किनकि जङ्ग बहादुर ढलेका छैनन्
राता घोडाहरु तबेलाबाट लडेका छैनन्
हिजो-आज गाम-बस्ती शहर-बजार
चोक-गल्ली सडकहरुमा
जङ्गेहरु ढल्की-ढल्की हिँडिरहेका छन्
राता घोडाहरु बड्की-बड्की दौडिरहेका छन्
भदौरे राँगो जस्तै,
आस्थाको धरोहर र वर्तमानलाई निर्ममताले कुल्चेर
भविष्यलाई एउटा भयावह शून्यतिर धकेल्दै ।
गलत इतिहासको गलत गणितलाई
न त कुनै सीमाले राकेको छ, न त कुनै आस्थाले छेकेको छ,
बरु जङ्गेहरुको संजीवनी कवज
दरबार पस्ने मायावी मुकुण्डो भएकोछ
किनकि जसरी भए पनि दरबार पस्नु छ
सबै जङ्गेहरुलाई जङ्ग बहादुर बन्ने रहर छ,
त्यसैले त दरबार पस्न घोडा छाद्नु पर्छ रे
दरबारमा बस्न घोडाको लस्कर बाँध्नु पर्छ रे
दरबारको लागि छाँदेको
दरबारको लागि बाँधेको
राता घोडा रोक्न पाइँदैन रे, छेक्न पनि पाइँदैन रे ।
नयाँ जङ्गेहरुको उर्दी छ, हुकुम छ
बेलगामी राता घोडाहरु जहाँ पनि हिँड्न सक्छन्
जसको बाली पनि चर्न सक्छन्
मन लागे टोक्न सक्छन्, सडक रोकेर ठोक्न सक्छन्
अनि हनुमान जस्ता भक्त र बलवान घोडाहरु
लुम्विनीमा परेड खेल्छन्
स्वयम्भूमा निशाना लगाउँछन्
खेत बारीमा बारुद फलाउँछन् ।
बर्बर पाषण वर्तमान
निरीह परेवाहरु आफ्नै आँगनमा,
आफ्नै आकाशमा खेल्न सक्तैनन्, उड्न सक्तैनन्
एक्लो पशुपतिनाथ निरीह परेवाहरुभन्दा निरीह छन्
अनि जङ्गे र राता घोडाहरु उन्मुक्त छन, बेलगाम छन् ।
हिजो आज जङ्ग बहादुरको बुख्याँचाले साह्रै तर्साउन थालेको छ
निरीह मानिसहरुका सपनाहरुमा ऐंठन पर्छ
आफ्नै घर-आँगनमा ढुक्क छैनन्
त्यसैले त नया जङ्गेहरु, सुन्निएको शरीरलाइ मोटाएको ठानेर
राता घोडाहरुको शौखिन बनेका छन्
अनि मुलुकलाई घोडशालामा रुपान्तरित गर्न
थरी-थरीका घोडशालाहरु खोलिएकाछन्
घोडशाला, वधशाला, ठग ठोगशाला
जङ्गेहरुलाई जे गर्न पनि छुट छ
घर-घरेडी र कित्ता काटको राजीनामा लेखनमा व्रहृम लुट छ ।
राजीनामा लेखनको भूत देखाएर
रातो घोडा दरबार चढ्ने व्रहृमास्त्र बनेकोछ
मानिसहरु कति निरीह छन्, जङ्ग बहादुरको व्रहृमास्त्रसामु
गाँस काटेर पाल्छन्
व्रहृमास्त्र टाउकामाथि झुण्ड्याएर जाँतो जस्तो ।
थाहा छ, आफैमाथि खसिरहेछ भनेर
त्यसैले त आफ्नै घर आँगनमा शरणार्थी बनिरहेछन् ।
दानवीर कर्ण भएर ।
सुनेको थिएँ –
जङ्ग बहादुर आफ्नो घरबारीको साह्रै माया गर्थे रे,
आँगन अनि साँध-सीमाको साह्रै ख्याल राख्थे रे
तर खोइ ? किन कुन्नी ? नयाँ जङ्गेहरु
छिमेकीहरुले ठेल्दै-ठेल्दै टाउकामा टेक्दा पनि
कहिलेकाँहि यस्तै हो भनेर ङिच्च हाँस्छन् रे,
कतै दरबार जाने रोडम्याप पो बिग्रन्छ कि भनेर ।
त्यसैले त आज मेचीले निकासको बाटो खोज्दैछ रे
कालीले बग्ने भीसा माग्दैछ रे
के गर्ने, जङ्गेहरुलाई दरबार जाने घोडा छान्दैमा ठीक्क
राता घोडाहरुलाई मल्ल युद्धमा ठीक्क
निरीह मानिसहरु जङ्गे र राता घोडाहरुदेखि दीक्क
त्यसैले त घरमा गौंथली बस्यो भनेर
घरमा मुसो पस्यो भनेर
नव जङ्गेहरु घरमा आगो लगाइरहेछन्
राता घोडाहरु आँगनमा मादल बजाउँदै ताण्डव नृत्य गरिरहेछन् ।
एउटा कहाली लाग्दो वर्तमान
सँधै बिझिरहने काल-खण्ड ।
तर मानिसहरुले बिर्सिएका छैनन्
भन्दैछन्, धेरै पहिले जङ्ग बहादुरको रातो घोडा
यसरी मात्तिएको थियो
यसरी नै पात्तिएको थियो
कालान्तरमा आफ्नै तबेलाबाट लडेको थियो ।
[email protected]