राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४ अन्तर्गत भएको आठौं राष्ट्रिय आर्चरी च्याम्पियनसीपको रिकर्भ ब्यक्तिगत ७० मिटरमा पुरुषतर्फ मीन गौचन र महिलातर्फ आइशा तामाङ उपाधि जित्न सफल भएका छन् ।
थासाङ स्पोर्टस् क्लबका गौचनले स्वयम् आर्चरी क्लबका प्रेमप्रसाद पुनलाई फाइनलमा ७–३ अंकले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेका थिए । त्यस्तै कास्की आर्चरी क्लबका तिलक पुन मगरले कास्य पदक प्राप्त गरे ।
महिलातर्फ सेनाकी आइशाले आफ्नै दिदी सेनाकी ज्ञानु अवालेलाई ६–४ अंकले पराजित गर्दै स्वर्ण हात पारिन् । तेश्रो स्थानमा कञ्चनपुर आर्चरी क्लबकी तमन्ना क्षेत्री हासिल गरिन् ।
दशरथ रङ्गशालामा भएको च्याम्पियनसिपको कम्पाउण्ड ५० मिटर ब्यक्तिगत पुरुष तर्फको प्रतिस्पर्धामा राजधानी आर्चरी क्लबका सनातन मल्लले वेष्ट आर्चरी क्लबका प्रजित अग्रवाललाई पाखा लगाउंदै स्वर्ण जित्न सफल भए । सनातनले १ सय ४० अंक प्राप्त गर्दा प्रजितले १ सय १९ अंक प्राप्त गरेका थिए ।
यस्तै पुरुष स्ट्याण्डर्ड ब्यक्तिगत ३० मिटर तर्फको प्रतिस्पर्धामा स्वयंभु आर्चरी क्लबका धनेन्द्र छन्त्यालले स्वर्ण हात पारे । उनले बेष्ट अफ फाईभको गेममा ६ अंक बटुलेका थिए । दोश्रो स्थानमा रहेका वेष्ट आर्चरीका नवीनवीर बस्न्यातले रजत पदक पाए । उनले ४ अंक जोडेका थिए । नेपाली सेनाका डम्बर थापाले कास्य पदकमा चित्त बुझाए ।
सोही विधाको महिलातर्फ अन्नपूर्ण आर्चरी क्लबकी केशरी आले मगरले नेपाली सेनाकी मित्रा राईलाई ७–३ अंकले पराजित गर्दै स्वर्ण पदक हात पारिन् । तेश्रो स्थानमा अन्नपूर्ण आर्चरी क्लबकी रोजीना थापामगर रहिन् ।
पुरुष स्ट्याण्डर्ड ३० मिटर टिम तर्फको प्रतिस्पर्धामा नेपाली सेनाले स्वर्ण हात पा¥यो । सेनालाई स्वर्ण दिलाउन डम्बर थापा, तविन गुरुङ्ग र प्रेम वि.क.को टिमले ५ अंकको योगदान गरेका थिए । रजत पदकमा सिमित भएको वेष्ट आर्चरी क्लबका नविनवीर बस्न्यात, जोर्डन विक्रम थापा र ग्रिष्मा गुरुङको टोलीले एक अंक मात्र हासिल गर्दै दोश्रो स्थानमा चित्त बुझायो । अन्नपूर्ण आर्चरी क्लबका करुण बराल, शंकर थकाली र हिम कुमार रानामगरको टोलीले काश्य पदक प्राप्त गरेको थियो । दुईदिने च्याम्पियनसिपमा ७८ खेलाडीहरुले विभिन्न ६ विधामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया