चिसो बढेपछि सामुदायिक विद्यालय तीनदिनका लागि बन्द

चिसो बढेपछि सामुदायिक विद्यालय तीनदिनका लागि बन्द


 अत्यधिक चिसो र शीतलहरका कारण कञ्चनपुरका सामुदायिक विद्यालय आजदेखि तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयमा बसेको बैठकले जिल्लाका सबै सामुदायिक विद्यालयमा यही पुस २४, २५ र २६ गते बिदा दिने निर्णय गरेको हो । “अत्यधिक चिसोसँगै शीतलहर चल्न थालेपछि बालबालिकालाई विद्यालयमा पढाउनसमेत अप्ठेरो हुन थालेकाले विद्यालय बिदामा मिलान हुने गरी तीनदिन विद्यालयमा बिदा दिने निर्णय गरेका छौँ”, जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले भन्नुभयो ।

विद्यालयमै आगो बालेर बालबालिकालाई पढाउनु पर्ने अवस्था आएकाले बिदा दिइएको उहाँले बताउनुभयो ।

अत्यधिक चिसो र शीतलहरका कारण कञ्चनपुरको जनजीवन नराम्ररी प्रभावित भएको छ । चिसो बढेसँगै सुकुम्बासी, निकुञ्ज पीडित तथा मुक्तकमैया बस्तीका बासिन्दा बढी प्रभावित भएका छन् । न्यानो लुगा र चिसो छल्ने सामथ्र्य नभएका गरिब बस्तीका बासिन्दा चिसोबाट बढी प्रभावित भएका हुन् ।

पर्याप्त न्यानो लुगाफाटो नभएका कारण कठ्याङ्ग्रिँदो जाडोमा प्रभावित हुनुपरेको ढक्का निकुञ्ज पीडित शिविरमा बस्दै आउनुभएका सरिता नेपालीले बताउनुभयो ।

चिसोका कारण गरिबीको मार खेप्दै आएका निकुञ्ज पीडित बस्तीका गर्भवती, सुत्केरी महिला, नवजात शिशु, विद्यालय जाने उमेरका केटाकेटी र वृद्धावस्थामा रुघाखोकी ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ ।

बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण कृषकले लगाएको आलु, गोलभेँडालगायतका तरकारीबालीसमेत प्रभावित भएको छ । डढुवाका कारण तरकारी बालीमा असर देखिन थालेपछि किसानलाई विषादीको प्रयोग गर्न कृषि प्राविधिकले सल्लाह दिन थालेका छन् ।

बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, निमोनिया र श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढ्न थालेको छ ।

बाक्लो हुस्सु र कुहिरोका कारण यहाँको यातायात सेवासमेत प्रभावित बनेको यातायात व्यवसाय समितिका अध्यक्ष नवीन भट्टले बताउनुभयो । चिसोले घर बाहिर हिँडडुुल गर्न कठिनाइका कारण मानिस यात्रामा निस्कन सकेका छैनन् ।