लामाको दादागिरी बढेपछि खेलकुदमन्त्रीले मागे स्पष्टिकरण

लामाको दादागिरी बढेपछि खेलकुदमन्त्रीले मागे स्पष्टिकरण


– श्रीविक्रम भण्डारी

१३औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिका पूर्वसंयोजक लामा टेण्डी शेर्पाले गैरकानुनी रुपमा राष्ट्रिय खेलकुद संघलाई पत्राचार गरेपछि खेलकुद क्षेत्रमा सनसनी फैलिएको छ । पूर्वसंयोजक लामाले वर्तमान अवस्थामा पनि तयारी तथा पूर्वाधार समितिको संयोजक बनेर खेलकुदका सयौँ संघलाई पत्राचार गरेपछि खेलकुद तरङ्गित बनेको हो ।

०७४ साल पुष २० गते लामाले राष्ट्रिय खेलकुद परिषदको लेटरप्याड प्रयोग गर्दै राखेपअन्तर्गतका विभिन्न राष्ट्रिय संघलाई ‘विवरण उपलब्ध गराइदिनेबारे’ शीर्षक राखी पत्राचार गरेका हुन् । लामाले हस्ताक्षर गरेको उक्त पत्रमा सन् २०१९ मार्च ९ देखि १८ सम्म अर्थात् २०७५ साल फागुन २५ देखि चैत्र ४ नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि आवश्यक व्यवस्था गर्न त्यस संघबाट विवरण आवश्यकता परेको भन्दै पत्राचार गरेका हुन् ।

२०७४ साल भदौ ५ गते युवा तथा खेलकुद मन्त्रालयले साग तयारी तथा व्यवस्थापन समितिका सम्पूर्ण पुराना उपसमितिहरू विघटन गरी नयाँ समिति गठन गरेको थियो । उक्त उपसमितिहरू विघटन गर्दा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र तयारी समिति सचिवालयका सचिव रीम रानाभाटको पनि उपस्थिति थियो ।

त्यसपछि मन्त्रालयले भदौ २५ गते विजय बस्नेतलाई भौतिक निर्माण तथा तयारी समितिको संयोजक बनाएको थियो । नियुक्तिपश्चात बस्नेत राखेप परिसरमा कार्यालय खोलेर कार्य गर्दै आएका छन् । तर एक्कासी लामाले पुष २० आफुलाई भौतिक निर्माण तथा तयारी समितिको संयोजकको रुपमा रुपमा प्रस्तुत गर्दै राष्ट्रिय संघहरुलाई पत्राचार गरेपछि लामाले खेलकुदमा गर्न खोजेको के हो ? त्यो अहिले चर्चाको विषय बनेको छ । बाम गठबन्धनको सरकार बन्न लागेको हुनाले उनले यस्तो दम्भ र दादागिरी देखाएका हुन् भने पनि त्यो गैरकानुनी हो ।

यो विषयमा संयोजक बस्नेतसँग सम्पर्क गर्दा उनले आफु संयोजक हुँदाहुँदै अन्य ब्यक्तिले के–कति कारणले खेलकुद संघहरूलाई पत्राचार ग¥यो, त्यसको जवाफ सम्बन्धित निकाय मन्त्रालय र राखेपले दिनुपर्ने बताए ।

बस्नेतले मलाई युवा तथा खेलकुदमन्त्रीले भदौ २५ गते भौतिक निर्माण समितिको संयोजकमा नियुक्ति दिएको पनि प्रस्ट पारे । साथै त्यसपछि आफु राखेपमा कार्यालय सञ्चालन गरेर कार्य गर्दै आएको कुरा मन्त्री केसी र सदस्यसचिव विष्टलाई थाहा भएको बताए ।

यतिखेर लामाले के आधारमा संयोजक बनेर राखेपको लेटरप्याड प्रयोग गरी पत्रचार गरे त्यो आफुले बुझ्न नसकेको भन्दै उनले आश्चर्य व्यक्त गरे । उनले लामाको यो कार्य गैरकानुनी, अवैधानिक र हास्यास्पद भएको पनि बताए । आफुले कुनै पनि खेलकुदका संघलाई पत्राचार गर्दा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लेटरप्याड प्रयोग गर्दै आएको समेत खुलासा गरेका थिए ।

पूर्वसंयोजक लामाले आफुखुशी गैरकानुनी तरिकाले खेलकुद संघलाई पत्राचार गरेको जानकारी पाएपछि युवा तथा खेलकुदमन्त्री केसीले यसबारेमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव विष्टसँग पुष २४ गते स्पष्टिकरण सोधेका छन् । साथै तीन दिनभित्र उचित जवाफ पठाउन समेत भनेका छन् ।