राष्ट्रिय बक्सिङको सेमिफाइनल समिकरण पुरा

राष्ट्रिय बक्सिङको सेमिफाइनल समिकरण पुरा


राखेप च्याम्पियनशिप अन्तर्गत २७ औं पुरुष र आठौं महिला राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा नेपाल आर्मीका ललिता महर्जन र एपीएफकी नंग्जा बुढामगर उपाधि नजिक पुगेका छन् ।

महिला लाईट फ्लाईवेटको ४८ केजी तौल समूहमा ललिताले नेपाल प्रहरीकी दिवाना शेर्मालाई (३/२) अंकको आधारमा पराजित गरिन् । एपीएफकी नंग्जा बुढामगर ४८ केजी तौल समूहको अर्को सेमिफाईनल खेलमा भक्तपुरकी शर्मिला लामालाई अंकको आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् ।

यसैगरी ५१ केजी तौल समूहमा सहोदर दिदी–बहिनीको भेट भएपछि दाङकी बहिनी बिमला थापामगरले आर्मीकी गीताकुमारी थापामगरका लागि खेल परित्याग गरेकी थिईन् । सोहि तौल समूहमा एपीएफकी माला राईले पनि फाईनलमा स्थान पक्का गरिन् । मालाले नक्सालकी रोशनी राईलाई ५–० अंकको आधारमा पराजित गरेकी थिईन् ।

महिला वेन्टमवेटको ५४ केजी तौल समूहमा आर्मीकी विमला श्रेष्ठ फाइृनलमा प्रवेश गरेकी छन् । विमलाले एपीएफकी माया चौधरीलाई पनि ५—० अंककै आधारमा पाखा लगाएकी थिईन् । सोही तौल समूहको अर्को खेलमा भक्तपुरकी निता गोसाईले पनि फाइनलमा स्थान पक्का गरिन् । निताले मकवानपुरकी सन्जुमाया थिंगलाई पराजित गरिन् ।

महिला ५७ केजी तौल समूहमा एपीएफकी सन्जु लामाले फाइनल भिडन्त पक्का गरिन् । सन्जुले नेपाल आर्मीकी चन्द्रकला थापालाई अंककै आधारमा पराजित गरिन् । सोेही समूहको अर्को खेलमा नक्सालकी कुसूम तामांगले कास्कीका कुसुम थापामगरलाई हराउदै फाईनलमा प्रवेश गरिन् ।

महिला ६० केजी तौल समूहमा एपीएफकी संगिता सुनारले आर्मीकी मिनु गुरुङ विरुद्ध ३/२ ले अगाडी रहंदै उपाधि भिडन्तमा काठमाण्डौंकी मन्दिरा पुतुवारसंग भेट पक्का गरिन् । पुतुवारले पनि कैलालीकी संजिता चौधरीलाई ३/२ अंकले नै पाखा लगाईन् । ६४ केजी तौल समूहमा आर्मीकी पुनम राउत र एपीएफकी विनिता थापामगर फाइनलमा प्रवेश गरिन् ।

६९ केजी तौल समूहमा एपीएफकी मनिता राई र नेपाल प्रहरीकी अनुराधा लामा फाइनलमा प्रवेश गरेका छन् । ७५ केजी तौल समूहमा एपीएफकी सरस्वती राणा र आर्मीकी सबिना श्रेष्ठ फाईनलमा प्रवेश गरेका छन् ।

झापाको बितामोड बजारमा जारी प्रतियोगिताको पुरुष सेमिफाइनलको ४९ केजी तौल समूहमा सुनसरीका सुलभ राज तुलाधरले एपीएफका लक्षुमण तामाङलाई तथा आर्मीका तेज बहादुर देउवाले नेपाल प्रहरीका चन्द्र बहादुर थापालाई अंकको आधारमा हराउदै फाईनलमा स्थान पक्का गरे ।

यस्तै पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी र एपीएफका विक्रम परियारले फाइनलमा स्थान सुरक्षित गर्दा ५६ केजी तौल समूहमा एपीएफका पुरन राई र विमल रोका स्वर्णका लागि भिड्ने भएका छन् । यसैगरी पुरुष ६० केजी तौल समूहमा झापाका प्रकाश लिम्बु ईजाम र आर्मीका एकबहादुर घलेले फाइनलको यात्रा तय गरे ।

६४ केजी तौल समूहमा भने आर्मीका दिपक श्रेष्ठ र नेपाल प्रहरीका भूपेन थापामगरले भिडन्त पक्का गरेका छन् । यस्तैगरी ६९ केजी तौल समूहमा आर्मीका विष्णु घले र एपीएफका विकास लामाले फाइनलमा स्थान सुरक्षित गरे । यस्तै ७५ केजी तौल समूहमा आर्मीका दिपेश लामा र एपीएफका कौशल जंग थापाले स्वर्णका लागि भिडन्त तय गरेका छन् । त्यस्तैगरि ८१ केजी तौल समूहमा झापाका मनोहर बस्नेत(म्याक्स) र टिकापुरका सौजन थापाले उपाधिका लागि भिडन्त गर्नेछन् ।