सरकार, राखेप र सञ्चारकर्मीको रहस्यमयी मौनता

सरकार, राखेप र सञ्चारकर्मीको रहस्यमयी मौनता


डलरकाण्ड
विदेशी मुद्राको अपचलनले अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष गणेश थापा विवादमा तानिए पनि सरकार, राखेप र सञ्चारकर्मीको मौनताले गर्दा डलरकाण्ड ओझेलमा परेको छ । हरेक महिना एएफसीको बैठकमा भाग लिन जाँदा थापाको फोटोसहित प्राथमिकताका साथ समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमले थापाको डलरकाण्डलाई किन ढाकछोप गरेका हुन् त्यो चर्चाको विषय बनेको छ । आर्थिक अनियमितताको कारणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गनाइसकेका थापाको बारेमा सञ्चारकर्मीले एक अक्षर पनि लेख्न नचाहनुको पछाडि ठूलै रहस्य छ भन्दा अतिशयोक्ति नहोला । अन्यथा एपीले सम्प्रेषण गरेको समाचारलाई पनि उनीहरूले कदापि बङ्ग्याएर प्रकाशित गर्ने थिएनन् । आखिर किन यो डलरकाण्डलाई सामसुम पार्न कोसिस भइरहेको छ र थापालाई उन्मुक्ति दिने घिनौनो खेल भइरहेको छ त्यसको गहिर्‍याइसम्म पुग्नु आवश्यक भएको छ । सानो कुराको जानकारी गराउँदासमेत प्रेस सम्मेलन गर्ने थापाले एक लाख डलर झ्वाम पारेको आरोप लाग्दासम्म किन कानमा तेल हालेर बसेका छन् त्यसैबाट पनि दोषी भएको सोझै अनुमान लगाउन सकिन्छ ।
अझ केही समय पहिले नेपाल ओलम्पिक कमिटी तथा खेलकुदका राष्ट्रिय सङ्घहरूको आर्थिक अपारदर्शिता र अनियमितताबारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्ले छानबिन समिति गठन गरेको थियो । उक्त समितिले सङ्घहरूमा आफ्नो कारबाही अगाडि बढाइरहेको अवस्थामा डलरकाण्डको पर्दाफास भएको थियो । गणेश थापामाथि धावा बोल्न ‘के खोज्छस् कानो आँखो’ जस्तै भएको अवस्थामा राखेपले डलरकाण्डलाई नजरअन्दाज गर्दा विभिन्न शङ्का–उपशङ्का उब्जिएका छन् । प्राप्त जानकारीअनुसार एपीले डलरकाण्डको पर्दाफास गरेको भोलिपल्ट नै एन्फा अध्यक्ष गणेश थापालाई स्पष्टीकरणका लागि राखेपले पत्र तयार गरेको थियो । तर, पत्र दर्ता–चलानीमै सीमित भई पछि फिर्ता भएको थियो । अहिले सो तयार भएको पत्र एन्फामा किन गएन र किन पठाइएन, त्यसबारे राखेपमा खुवै चर्चा–परिचर्चा हुन थालेको छ । स्रोतका अनुसार थापाको ठूलै राजनीतिक चलखेलका कारणले गर्दा पत्र रोकिएको थाहा भएको छ । थापाले उक्त पत्र रोक्न माओवादीको हेडक्वाटरलाई प्रयोग गरेको स्रोतको दाबी छ । माओवादीका वरिष्ठ नेताहरूसँगको निकट सम्बन्धका कारणले थापाले यो हरकत गरेको बुझिएको छ ।
यतिबेला माओवादी पार्टीको हस्तक्षेपका कारण पुन: राखेपका सदस्यसचिव युवराज लामा धर्मसङ्कटमा परेका छन् । ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’जस्तै बनेको छ, यो डलरकाण्ड । थापालाई ठेगाना लगाउने उत्तम समयमा पार्टीको हस्तक्षेपले गर्दा लामालाई निकै कुठाराघात भएको छ । स्पष्टीकरणको पत्रलाई फाइलमा बन्द गर्नुपर्दा लामाले डलरकाण्डबारे खुलेर जवाफ दिनसमेत सकेका छैनन् । तसर्थ वर्तमान अवस्थामा अवाक् रहेका लामाले आफ्नो प्रभु अर्थात् नेतालाई रिझाउन पनि उनको गलत निर्देशनलाई शिरोधार्य गर्नुपर्ने बाध्यता भएको छ । लामाले यसअघि तेक्वान्दो युनियनको दर्तामा खुलेर विरोध गर्दा उनको पदसमेत दाउमा लागेकोले उनले अहिले यो रिक्स नलिएको थाहा भएको छ । नियम–कानुनसम्मत स्पष्टीकरण र छानबिन गर्ने राखेपलाई अधिकार भए पनि पार्टीको हस्तक्षेपले लामाका हातखुट्टा बाँधिएको प्रस्ट रूपमा देखिएको छ । यसरी सार्वजनिक रूपमा माओवादी नेता प्रचण्डले लामालाई खेलकुदको प्रचण्ड भने पनि कार्यअधिकार प्रयोग गर्नबाट रोक लगाएर झोले मात्रै भएको प्रमाणित गरिदिएका छन् ।
आफ्ना लागि कोडीको पाउ मोल्नसमेत पछि नपर्ने थापा चाकडीचाप्लुसीका पनि माहिर खेलाडी मानिन्छन् । शक्तिका पुजारीका रूपमा परिचित थापाले ‘गंगा आए गंगाराम, जमुना आए जमुनाराम’को भूमिका निर्वाह गर्ने क्रममा पछिल्लो समयमा माओवादीसँग बढाएको साँठगाँठलाई हेर्दा पनि सोझै अनुमान लगाउन सकिन्छ । डलरकाण्डको पर्दाफास भएयता ‘चुँ’समेत नबोलेका र सार्वजनिक स्थलमा समेत नदेखिएका थापा अहिले आफ्नो बचाउका लागि भित्रभित्रै गोप्य मन्त्रणा गरिरहेका छन् । सञ्चारकर्मीदेखि नेताहरूको घरदैलो धाइरहेका थापालाई अहिलेसम्म सबैले साथ पनि दिएका छन् । तर, थापाको कर्तुतलाई सञ्चारकर्मी र माओवादी नेताहरूले ढाकछोप गरे पनि अब एएफसी र फिफा भने चुप लागेर नबस्ने छाँट प्रस्ट देखिएको छ । हरेक हप्ता थापाका कर्तुतलाई छताछुल्ल पार्दै गएको अन्तर्राष्ट्रिय एकाउन्टिङ फर्म प्राइसवाटरहाउसकुपर्सले हमामसँग भएका अन्य आर्थिक लेनदेनको पनि पर्दाफास गर्ने जानकारी दिएको छ । हमामजस्तो शक्तिशाली व्यक्तिलाई त आजीवन प्रतिबन्ध लगाउने सक्ने ब्लाटरले भोलि हमामका हनुमानलाई पनि त्यही बाटो नदेखाउलान्चाहिँ भन्न सकिँदैन । तसर्थ यो डलरकाण्ड राष्ट्रिय मुद्दाभन्दा पनि अन्तर्राष्ट्रिय मुद्दा भएकोले ढिलै भए पनि गणेश थापालाई सडकमा ल्याउने पक्का भएको छ ।
डलरकाण्डमा देखिएको मौनतालाई कटाक्ष गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समय पहिले गणेश थापालाई पुर्जी थमाएको थाहा भएको छ । अख्तियारले थापालाई पुर्जी थमाएको जानकारीमा आए पनि अहिलेसम्म कुनै कारबाहीको प्रक्रिया भने अगाडि बढाएको छैन । अख्तियारले थापामाथि कस्तो किसिमको छानबिन प्रक्रिया अगाडि बढाउँछ र कारबाही गर्छ त्यो प्रतीक्षाको विषय बनेको छ । हन्डी लिन र दिनमा निकै पारखी मानिने थापाले एक लाख डलर पचाउन अहिले हन्डीकै खेलमा लागेको सूत्रको दाबी छ । आर्थिक अनियमितताका कारणले पटकपटक अख्तियारमा पुगिसकेका थापाले त्यहाँबाट सफाइ पाउँदा हन्डी नै कारकतत्व बनेको जगजाहेरै छ । फुटबलका मात्र नभई हरेक खेलका चतुर खेलाडीको रूपमा आफ्नो उच्च छवि बनाइसकेका थापाले डलरकाण्डलाई पनि ढाकछोप गर्न हन्डीकै प्रयोग नगर्लान् भन्न सकिँदैन ।
त्यस्तै हमामको चाकरी गरेर आफ्नो छोरा गौरवलाई पाँच वर्षअघि एएफसीमा ‘हेड अफ युथ कम्पिटिसन’ पदमा आसिन गराउन थापा सफल भएका थिए । तिनै गौरव थापाको खातामा पूर्वएएफसीका अध्यक्ष हमामले एक लाख डलर राखेर थापाको भरणपोषण गरेका थिए । यसरी छोरा गौरवको नाम बेचेर आफूले उक्त रकम सापटी लिएको स्वीकारिसकेका थापाले सो रकम पटकपटक गरी तिरेको पनि बताएका छन् । दुई वर्षअघि विवादास्पद व्यक्तित्व हमामसँग लिएको रकम थापाले कुन मितिमा कुन आयस्रोतबाट तिरे त्यसको कुनै पनि प्रमाण पेस गर्न सकेका छैनन् । तसर्थ हालै अख्तियारले गौरवको नाममा जम्मा भएको एक लाख डलरबारे छानबिन सुरु गरेको छ । सोबारे आयोगका प्रवक्ता ईश्वरीप्रसाद पौडेलले सर्वप्रथम गौरव सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् कि होइनन् त्यसकोे छानबिन हुने र गौरव छानबिनको दायराभित्र पर्ने–नपर्ने छानबिनपछि मात्रै बताउन सकिने प्रस्ट पारेका छन् । एक कानुनविद्का अनुसार गौरव सर्वप्रथम नेपाली भएको र उसको हरेक क्रियाकलापबारे राज्यलाई छानबिन गर्ने अधिकार भएको बताएका छन् ।
यस्तो दृश्य खेलकुदमा कहिल्यै देखिएको थिएन । अहिले डलरकाण्डको चर्चाले शिखर छुनुपर्नेमा खेलकुदमा सन्नाटा छाएको छ । खुलेर बोल्न त परै जाओस् कोही पनि डलरकाण्डबारे टीका–टिप्पणी गर्न चाहँदैनन् । किनकि त्यसको सम्बन्ध प्रत्यक्ष रूपमा गणेश थापासँग जोडिएको छ । थापाको हन्डी खाएकाहरू त यसलाई थापाको महान् कार्यका रूपमा गणना गर्न पनि पछि परेका छैनन् । एकजना सञ्चारकर्मी भन्दै थिए, ‘नेताहरूले जनताको करबाट उठेको रकम खानुहुन्छ, थापाले विदेशी रकम खाएर के भो त ? थापाले नेपालीको रगत–पसिनाको रकम नभई हमामको डलर खाएका छन्, यसमा आपत्ति गर्नु भनेको मूर्खता हो । यो कुनै बहस र समाचारको विषय पनि होइन । सक्ने भए तपाईं पनि खानुस्, कसले रोकेको छ ।’ स्वदेशी खाए पनि विदेशी खाए पनि ‘रकम’ त खाए नि भन्दा उनले त्यो बेग्लै विषय हो भनेका थिए । तर, उनी थापाले डलर कुम्ल्याएकोलाई आर्थिक अनियमितताभन्दा पनि सक्नेले खाने कुरामा जोड दिइरहेका थिए । जुन मुलुकको नियम–कानुनअनुसार पटक्कै मेल खाँदैन ।
अहिले थापाका जासुसहरू खेलकुदमा भरिएका छन् । उनीहरूले खेलकुदमा थापाबारे चल्ने चर्चा र हुने चियागफबारे समेत दैनिक रिपोर्ट गर्न थालेका छन् । तसर्थ कसैले थापाको विरुद्धमा बोल्यो र टाउको उठाउने प्रयास गर्‍यो भने त्यसले अज्ञात मानिसको धम्की र खप्पी खानुपरेको छ । थापाको डलरकाण्डमा सरकारसमेत निरीह देखिएको अवस्थामा जो चोर उसैको ठूलो स्वर हुनु स्वाभाविकै हो । जय गणेश, तिम्रो लीला अपरम्पार छ । हमामले एक लाख चढाए अब ब्लाटरले २१ लाख चढाउन्, हामी यही प्रार्थना गर्छौं, जय होस् ।

खेलकुद शिक्षालाई सबैको सहयोग आवश्यक
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले खेलकुद शिक्षालाई उच्च शिक्षामा समावेश गर्न सबैको सहयोग आवश्यक रहने बताएका छन् । त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आयोजित ‘शैक्षिक क्षेत्रमा खेलकुद विज्ञानको आवश्यकता एवम् उच्च शिक्षामा खेलकुद शिक्षाको समावेश’ विषयक अन्तरक्रियामा बोल्दै खेलकुद कलेज स्थापना कार्य दलका संयोजकसमेत रहेका सदस्यसचिव लामाले भने, ‘खेलकुदलाई वैज्ञानिक ढङ्गले अगाडि बढाउन खेलकुद शिक्षालाई उच्च शिक्षामा समावेश गर्न शिक्षा र खेलकुदसँग जोडिएका मन्त्रालय, प्याब्सन, एनप्याब्सन, विश्वविद्यालय, हिसान, विभिन्न शैक्षिक संस्थान, प्राविधिक टोलीलगायत सिङ्गो राष्ट्रलाई साथ दिन आग्रह गर्दछु ।’
सदस्यसचिव लामाले खेलकुद विज्ञानको पद्धतिलाई अवलम्बन नगर्ने हो भने खेलकुदको वास्तविक विकास भाषणमा मात्र सीमित हुने बताउँदै अन्य मुलुकमा स्पोर्टस् कलेज र युनिभर्सिटीको अवधारणाको विकास भए पनि नेपालमा नभएकोले यस्तो अवधारणा अघि सारेको बताएका थिए । राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले खेलकुद शिक्षालाई उच्च शिक्षामा समावेश गर्ने राखेपको निर्णयलाई सबैले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकोमा राखेप गर्वित भएको बताउँदै आगामी दिनमा खेलाडी र खेलकुदको हितका लागि राखेपले अझ प्रभावकारी कार्यक्रम ल्याउने बताएका थिए ।

मिसन सागको प्रशिक्षण सुरु
भारतमा हुने आसन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गरी राष्ट्रिय खेलकुद परिषद्ले मिसन सागअन्तर्गत प्रथम चरणको तयारी प्रशिक्षण सोमबारदेखि सुरु गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित तीन भागमा विभाजन गरिएको मिसन सागको तयारी प्रशिक्षणको प्रथम चरण तीन महिनाको हुनेछ । प्रशिक्षणमा एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, उसु र जुडो गरी ६ खेलका एक सय एक पुरुष र ७६ महिलासहित एक सय ७७ खेलाडी सहभागी छन् । त्यसमा उपत्यकाबाहिर प्रशिक्षण गर्ने खेलाडीको सङ्ख्या ६३ रहेको छ । अन्य विभागीय टिमसहित एक सय १४ खेलाडीको प्रशिक्षण उपत्यकामा हुनेछ । प्रशिक्षणमा सहभागीले दैनिक दुई सय ५० का दरले खर्च पाउनेछन् ।
सुदूरपश्चिमाञ्चलमा भएको छैटौँ राष्ट्रिय खेलकुदअन्तर्गत उक्त ६ खेलमा पहिलो र दोस्रो स्थान हासिल गर्ने खेलाडीलाई प्रारम्भमा प्रशिक्षणमा राखिएको हो । गत कात्तिकको दोस्रो सातादेखि चार महिनाका लागि मिसन सागअन्तर्गत विभिन्न खेलका खेलाडीका लागि प्रशिक्षण सञ्चालन गरिएको थियो । त्यसबेला १२औँ साग निर्धारित समयभन्दा करिब एक वर्ष ढिला हुने भएपछि प्रशिक्षण केही समयलाई रोकिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राखेप सदस्यसचिव युवराज लामाले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको अधिकतम सम्भावना बोकेका खेलका खेलाडीलाई हाल प्रशिक्षणमा राखिएको बताउँदै क्रमैसँग अन्य खेललाई पनि समावेश गर्दै लैजाने जानकारी गराएका थिए । वैशाखमै प्रशिक्षण सुरु गर्ने योजना रहे पनि विविध कारणले हुन नसकेको लामाले जानकारी गराएका थिए ।
‘कथंकदाचित भारतको आन्तरिक कारणले साग फेरि स्थगित भए पनि फाइदा हामीलाई नै हुन्छ,’ सदस्यसचिव लामाले भने, ‘किनकि यो प्रशिक्षण राष्ट्रिय टिमको तयारी पनि हो । यसले अन्य अन्तर्राष्ट्रिय प्रतियोगितालाई पनि सहयोग पुर्‍याउनेछ ।’ सदस्यसचिव लामाले खेलाडीको सुविधा क्रमैसँग वृद्धि गर्दै लैजाने बताउँदै खेलाडीमा क्षमता भए पनि विगतमा प्रशिक्षण प्रक्रिया सही नभएकाले अपेक्षित नतिजा आउन नसकेको धारणा व्यक्त गरेका थिए ।

पर्वतीय खेलकुद पोखरामा
पर्वतीय खेलकुद महासङ्घ, नेपालको आयोजनामा प्रथम पर्वतीय खेलकुद महोत्सव फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसमेत रहेका महासङ्घका अध्यक्ष युवराज लामाको अध्यक्षतामा सम्पन्न बैठकले उक्त महोत्सव पोखरामा गर्ने निर्णय गरेको थियो । महोत्सवमा समावेश हुने खेलहरूमा अटो स्पोर्टस्, र्‍याफ्टिङ एन्ड क्यानोइङ, ट्रायथलन, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, क्रसकन्ट्री रेस, गल्फ, इक्वेसट्रियन, पारा ग्लाइडिङ तथा साइक्लिङ गरी १० खेल रहेका छन् । बैठकले महासङ्घको ‘फर नेचर एन्ड एडभेन्चर्स’लाई आफ्नो नाराको रूपमा पारित गरेको छ भने लोगो तथा झण्डालाई पनि अनुमोदन गरेको छ । गत महिना स्थापित महासङ्घमा राखेपमा आबद्ध आठवटा साहसिक तथा पर्यटकीय खेल समावेश भएकोमा नेपाल गल्फ सङ्घलाई पनि समावेश गर्दै सो सङ्घका महासचिव टासी घलेलाई महासङ्घको उपाध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी, आगामी भदौ पहिलो साता काठमाडौंमा पर्वतीय खेलकुदसम्बन्धी राष्ट्रिय गोष्ठी, असोज १४ गते पोखरामा अन्तरक्रिया तथा यसै महिनामा काठमाडौंमा प्राविधिकहरूको अन्तरक्रिया आयोजना गर्ने निर्णय गरेको छ । नेपाललाई अन्तर्राष्ट्रिय पर्वतीय खेलकुदको गन्तव्यको रूपमा विकसित गर्ने उद्देश्यसहित विभिन्न प्रचारात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै पोखरालाई नेपालको पर्वतीय खेलकुदको केन्द्रीय हबका रूपमा विकास गर्ने निर्णय बैठकले गरेको छ । महासङ्घले आगामी दिनमा सञ्चालन गर्ने विविध खेलकुदका विजयीलाई वितरण गर्ने पदकको नामकरण राष्ट्रिय गौरव, पर्वतीय, साहसिक र पर्यटन क्षेत्रसँग सम्बन्धित हुने गरी तयार गर्ने निर्णय गरेको छ ।

खेलाडीको सुविधामा सरकारको बक्रदृष्टि
राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीलाई प्रोत्साहनस्वरूप दिन लागेको पुरस्कार तथा अन्य सुविधामा सरकारले अडचन पैदा गरेपछि सरकार र परिषद्बीच तनाव उत्पन्न भएको छ । खेलकुदको माध्यमबाट मुलुकको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा बढाउने खेलाडीलाई पाँच महिनाअघि राखेपले प्रोत्साहनस्वरूप पुरस्कृत गर्ने निर्णय गरेको थियो । राखेपको ९०औँ बोर्ड बैठकले राष्ट्रिय खेलकुद, दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलमा पदक जित्ने खेलाडीलाई नगदसहित आवासको व्यवस्था गर्ने निर्णय गरेर प्रोत्साहन गर्ने योजना बनाउनुका साथै उक्त खेलहरूमा पदक जित्ने खेलाडीलाई पहिलेको पुरस्कार राशिमा वृद्धि गरेर ओलम्पिकमा स्वर्ण पदक जित्नेलाई एक करोड प्रदान गर्नेसम्मको निर्णय गरेको थियो । यसैगरी विभिन्न रोगले पीडित ओलम्पियन खेलाडी र अन्यलाई पनि उपचारका लागि सहयोगको प्रस्ताव गरेको थियो ।
तर राखेपको यो निर्णयमाथि अङ्कुश लगाउँदै सरकारले पुरानै पुरस्कार राशिको व्यवस्था गरी सच्याएर पठाउन राखेपलाई पत्राचार गरेको छ । सरकारले यसरी खेल र खेलाडीप्रति उपेक्षा दर्शाएपछि राखेपले आफ्नो ९०औँ बोर्ड बैठकको निर्णयमा अडिग रहँण्दै त्यसमा सहमति प्रदान गर्न अर्थ मन्त्रालयमा जवाफ पठाएको छ । अर्थ मन्त्रालयले वर्तमान अवस्थामा पर्याप्त बजेटको अभाव देखाउँदै राखेपले प्रस्ताव गरेअनुसार रकम उपलब्ध गराउन नसक्ने जनाएबाट सरकार र राखेपबीच तनाव उत्पन्न हुन पुगेको छ ।
अर्थ मन्त्रालयले रकम सच्याएर ल्याउन बार्गेनिङ गरिरहेको अवस्थामा राखेप र खेलाडीले सरकारको यो कदमको विरोध गरेका छन् । उनीहरूले अध्यादेश ल्याएर आफ्नो दुनो सोझ्याउने सरकारले खेलकुद र खेलाडीप्रति किन सौतेलो व्यवहार गरेको हो भन्दै प्रश्न गरेका छन् । सरकारले जहिले पनि खेलाडीलाई दिने रकममा कन्जुस्याइँ गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले आरोप लगाएको छ । सङ्घले खेलाडीहरूले बगाएको रगत र पसिनाको सरकारले खिल्ली उडाएको भन्दै राखेपको निर्णय कार्यान्वयन गर्न जोड दिएका छन् । खेलाडीले अन्तर्राष्ट्रियस्तरमा सफलता पाउन उनीहरूलाई प्रोत्साहन गर्नुपर्ने राखेपले आग्रह गरेको छ ।
राखेपले छैटौँमा स्वर्ण पदक जित्नेलाई १० हजार, दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्नेलाई पाँच लाख, एसियाली खेलकुदमा स्वर्ण पदक जित्नेलाई २५ लाख र ओलम्पिकमा स्वर्ण पदक जित्नेलाई एक करोड प्रदान गर्ने निर्णय गरेको थियो । त्यस्तै तीन वा तीनभन्दा बढी साग गेम्सको अफिसियल खेलमा स्वर्ण पदक वा एसियाडमा स्वर्ण पदकसहित दुई पदक र ओलम्पिक खेलाडीले सक्रिय खेलजीवनबाट सन्न्यास लिएमा २५ लाखबराबरको आवासको व्यवस्था गर्नका लागि निर्णय गरेको थियो । नेपालमा यो सुविधा पाउने दुई खेलाडी एथलेटिक्सका वैकुण्ठ मानन्धर र तेक्वान्दोका दीपक विष्ट मात्र भए पनि सरकारले यसरी कन्जुस्याइँ देखाउनु विडम्बनाको विषय बनेको छ ।

र्‍याफ्टिङ एन्ड क्यानोइङको कार्यक्रम
नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ सङ्घले भविष्यमा सञ्चालन गर्ने विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । हालै आयोजित पत्रकार सम्मेलनमा विभिन्न चार प्रतियोगिता र तीन तालिम सञ्चालन गर्ने सङ्घका महासचिव कुमार रानाभाटले जानकारी गराएका थिए । गत असार ३० गते सङ्घको दोस्रो साधारणसभाले मनबहादुर न्यौपानेको अध्यक्षतामा चयन गरेको कार्यसमितिको पहिलो बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । सङ्घका अनुसार असोज १२ र १३ गते पोखरामा फ्लेटवाटर राष्ट्रिय क्यानोइङ च्याम्पियनसिप, मङ्सिर १५ र १६ मा भोटेकोसीमा स्लालोम वाइल्ड वाटर च्याम्पियनसिप, भोटेकोसीमै मङ्सिर १७ र १८ मा हिमालयन ह्वाइटवाटर च्यालेन्ज तथा फागुन ९ र १० मा त्रिशूलीमा फ्रिस्टायल एन्ड वाइल्ड वाटररेस आयोजना गर्ने जानकारी गराएको छ ।
त्यस्तै, भदौ २८ देखि पोखरामा दुईहप्ते फ्लेटवाटर क्यानोइङ तालिम, मङ्सिर ५ देखि भोटेकोसीमा १० दिने स्लालोम तालिम तथा माघ १८ देखि त्रिशूलीमा तीनहप्ते वाइल्डवाटर तालिम गर्ने बताइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई यो खेलप्रति आकर्षित गर्न सङ्घले पहल गर्ने जनाएको छ । पर्वतीय खेलकुद महासङ्घका अध्यक्षसमेत रहेका राखेप सदस्यसचिव युवराज लामाले यो खेलको माध्यमबाट देशको अर्थतन्त्र वृद्धिमा टेवा पुर्‍याउन सकिने धारणा व्यक्त गरेका थिए । र्‍याफ्टिङ एन्ड क्यानोइङ सङ्घ पर्वतीय खेलकुद महासङ्घमा पनि आबद्ध छ ।

चेतन पाण्डेलाई पितृ शोक
नेपाल लोकतान्त्रिक खेलकुद पत्रकार सङ्घका संस्थापक अध्यक्ष चेतन पाण्डेलाई पितृ शोक परेको छ । पाण्डेका पीता चिन्तनराज पाण्डेको यही साउन १४ गते ७२ वर्षको उमेरमा दु:खद् निधन भएको हो । स्वार्गीय पाण्डे विगत लामो समयदेखि विभिन्न रोगबाट पीडित हुनुहुन्थ्इो । राष्ट्रबैंकमा तीन दशक सेवा गरेका पाण्डे पछिल्लो समयमा हिमालय बैंकमा कन्सल्टेन्टको रूपमा कार्यरत हुनुहुन्थ्इो । पत्रकारिता क्षेत्रमा समेत विशेष दखल राख्ने पाण्डेको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।