भर्खरै छोराको विवाह सम्पन्न गर्यौँ । विवाहमा बाबुको भन्दा आमाको भूमिका धेरै गहन हुँदोरहेछ । म हाल नेपाल प्रहरीसँग सहकार्य गरी दुव्र्यसनविरुद्ध देशव्यापी अभियानमा संलग्न भएका कारण छोराको विवाहमा एक पिताका हिसाबले लिनुपर्ने पूरा जिम्मेवारी लिन सकिनँ । पिताका हिसाबले दिनुपर्ने समय पनि दिन सकिनँ । स्वयम्बरको दिन अगाडिको दिनमा हेटौंडामा कार्यक्रम थियो । त्यहाँबाट रातारात फर्किई स्वयम्बरसम्म भ्याएँ तर श्रीमती मसँग समय नदिएकोमा निकै रुष्ट हुनुहुन्थ्यो किनकि कार्ड बाँड्ने काम पूरै बाँकी थियो । विवाहभन्दा दुई दिनअगाडि धोक्रोजस्तो झोला गरी निम्तो कार्ड राखी मोटरसाइकलमा चढेर दिनभरिमा निकै कार्ड वितरण गरे तापनि थुपै्र शुभचिन्तक र साथीभाइ, नातागोता छुटिहालेछन् ।
विवाहमा हामी श्रीमान्–श्रीमतीबीच एक कुरामा भने सधैं मन मिल्दथ्यो त्यो के कुरामा भने हामी दुवैजना आफूले आतिथ्यका लागि बोलाएका पाहुनाहरूलाई रक्सी, वाइन, बियरजस्ता ड्रग्स दिएर पापको भागीदार हुन चाहँदैन थियौँ ।
आज पनि नेपालका धेरै मानिसलाई ड्रग्स भनेको रक्सी पनि हो भनेर थाहा छैन । नसा लाग्ने कुराहरू नै ड्रग्स भनेर खाने गरेका वस्तु हुन् र ती वस्तुहरूले मानिसको चेतना नै लट्यादिने हुँदा व्यक्तिले पिर, ताप, दु:ख, महसुस गर्न नसक्ने र दुखाइ पनि महसुस गर्न नसक्ने भएकाले यस्ता कुरालाई पेनकिलरको रूपमा वा डिपे्रसनजस्ता समस्या औषधिको रूपमा प्रयोग गरिएका हुन् । आजभन्दा झन्डै आठ हजार वर्षअगाडि रक्सी नै पेनकिलर औषधिको रूपमा दिइन्थ्यो, पछि क्रमश: गाँजा, पाउडरका रूपमा हिरोइन, ब्राउनसुगर, कोकिन त्यसपछि ट्याब्लेट हुँदै अहिले यस्ता औषधि, इजेक्सन र स्पे्रसको रूपमा समेत पाइन्छ ।
जब लट्याउने चिजवस्तुले व्यक्तिलाई छोड्नै नसक्ने गरी दुव्र्यसन बनाउँछ र त्यसरी दुव्र्यसनी बनाइसकेपछि उक्त व्यक्तिले त्यस्ता वस्तु छोड्नै नसक्ने भई सो वस्तु प्राप्त गर्नका लागि जस्तोसुकै अपराध गर्न पनि पछि पर्दैन भन्ने कुरा संसारभर प्रमाणित भयो त्यसपछि यस्ता चिजवस्तुलाई नियन्त्रण गर्न प्रत्येक देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा कानुन नै बन्यो । रक्सीलाई कतिपय अरब देशहरूले सेवनमा समेत रोक लगाई दण्डनीय अपराध बनाए । कति देशहरूले निश्चित वर्षसम्म खान नपाइने र त्यस्ता चिजवस्तुलाई उमेर नपुगेकाहरूलाई बेचेमा दण्डजरिवाना लाग्ने ऐन बनाए । धेरै मुलुकहरूले यो वस्तु जताततै बेचबिखन गर्न नपाइने व्यवस्था मिलाए । तर, दुर्भाग्यबस नेपालमा मतवाला जातको संस्कृतिसमेत जन्माएर परम्परा र पूजाआजसमेतमा यसको दुरुपयोग गर्ने संस्कार विकास गरियो । एकातर्फ सरकारले यसलाई नेपालमा राजस्व वृद्धिको अहम् वस्तु मानेर उत्पादन तथा बेचविखनमा छुट दिने नीति राख्यो भने अर्कोतर्फ परम्परा, संस्कृतिमा मात्र होइन रमाइलो गर्ने कसैलाई खुसी पार्ने आतिथ्य प्रदान गर्ने, सम्मान प्रकट गर्ने नाममा समेत रक्सीजन्य वस्तुको दुरुपयोग हुन थाल्यो । स्थिति यस्तो बन्यो कि नेपालमा घरघरमा जाँडरक्सी बनाउन र पसलपसलमा यसलाई बेच्न लगभग छुट नै दिइयो । अहिले पनि कतिपय अरबका मुलुकमा रक्सी खानै पाइँदैन र खाँदा पनि लुकेर खानुपर्छ तर नेपालमा हामी रेस्टुरेन्ट, भोज, पार्टीमा मात्र होइन घरभित्रसमेत सानको साथमा बार बनाएर छोराछोरी र बाबुआमाकै अगाडि यसलाई पिउन सक्छौँ । आखिर यो दुस्साहस हामीहरूमा कसरी बढिरहेको छ । जुनप्रकारले समाजमा रक्सी सेवन गर्ने दुस्साहस बढेको छ त्यही अनुपातमा तरकारी पसलमा पनि रक्सी बेच्ने दुस्साहस बढिरहेको छ । स्थिति यस्तो आइसकेको छ कि अब त्यसबारे नकारात्मक कुरा कसैले भनिहाले पनि सेवनकर्तालाई फरक पर्दैन किनकि उसलाई यो विश्वास हुन थालिसकेको छ कि रक्सी रामै्र कुरा हो ।
आज संसारमा सबैभन्दा बढी ड्रग्सका दुव्र्यसनीहरू रक्सी सेवनकर्ता नै छन् र उनीहरू उपचारमा आउन ढिला गर्ने हुँदा आफू, आफ्ना परिवार र समाजलाई प्रसस्त क्षति गरेपछि मात्र उपचारमा आउने गर्छन् । साधारणतया गाँजा खाने व्यक्ति सात वर्षपछि उपचारमा आउने गरेका छन् भने रक्सीका सेवनकर्ता बाह्र वर्षभन्दा माथि मात्र उपचारमा आउने गर्छन् । यसको मुख्य कारकतत्व यही हो कि जुन परिवारमा कसैले रक्सी सेवन गरिरहेको छ त्यो सदस्यलाई बाँकी सदस्यले यसले ड्रग्स खाइरहेको छ भन्ने नै पर्दैन । जतिबेला त्यस सदस्यबाट ठूलो क्षति र आफ्नै सुरक्षामाथि खतरा देख्छन् त्यसपछि मात्र त्यो परिवारको होस खुल्दछ । त्यसरी होस खुल्दा निक्कै अबेर भइसकेको हुन्छ ।
रक्सीले चेतनामा नै असर गर्ने हुँदा यसको सेवनपश्चात् व्यक्तिको सोच नै परिवर्तन हुन्छ र त्यहीअनुरूप व्यवहार पनि परिवर्तन हुन थाल्दछ । थोरै रक्सी पिउँदा ऊ लठ्ठिनुको साथै उत्तेजना आउँछ । त्यसैले करिब तीन पेकसम्म रक्सी सेवन गर्दा ऊ ठूलाठूला कुरा गर्न, अङ्गे्रजी बोल्न, फूर्ति लगाउन, बढीबढी धाकधक्कु लगाउन, नाच्न गाउनअघि सर्न, झगडा गर्न तम्सिन, निहुँ खोज्न सक्छ । यदि उसले अलि बढी रक्सी सेवन गरे ऊ शिथिल हुनछ । तीन पेकभन्दा माथि रक्सी सेवन गर्न थालेपछि ऊ नाचगान, फूर्तिफार्ती छोडी सुत्न खोज्ने, नबोल्ने, झोक्राउने, बोल्दा पनि ढिलो गरी बोल्ने, उसको शरीरहरू पनि ढिला हुने हुन थाल्दछ । यदि त्योभन्दा बढी रक्सी दिए ऊ बेहोस हुन सक्छ । यस्ता बेहोस भएका मानिस हामीहरूले बाटाघाटा, पार्टी, पर्व समारोहहरूमा प्रसस्त देख्ने गर्दछौँ । त्योभन्दा पनि बढी लिँदा शरीरका सबैभन्दा सानो रक्तनली जुन टाउकोभित्र हुन्छन् ती फुटेर उसको ठाउँको ठाउँ मृत्यु हुन सक्छ । यसरी मृत्यु भएको अवस्थालाई ओभरडोज वा बे्रनहेमरेज भएको पनि भनिन्छ ।
हामीले वरिपरि रक्सी सेवनकर्ता हेर्यौँ भने तिनका व्यवहारबाट उसले कति रक्सी पिइरहेको छ भनेर अनुमान लगाउन सक्छौँ । म सानो छँदा एक जँड्याहाले (त्यतिबेला रक्सी खानेलाई पनि जँड्याहा भनिन्थ्यो) बडेमानको शिरिषको रूख समाती यसलाई उखेल्दिऊँ ? भन्दै अङ्गालो मारिरहेको मैले देखेको थिएँ । आज आएर मैले बुझेँ– त्यो मूर्ख तथा उत्तेजनात्मक व्यवहार उसले करिब तीन पेग रक्सी खाएर गरेकोे रहेछ । मैले धेरै पार्टीहरूमा जुटो प्लेटमाथि सुकेको रूख ढलेझैं मान्छे ढलेको देखेको थिएँ । मैले बल्ल बुझेँ त्यो निकै बढी खाएर भएको रहेछ । एकजना व्यक्ति अर्को परिवारमा खाना खान आउँदा त्यहीँ निदाएर खान बोलाउनेले परिवारै मिली झ्याल्टुङ पार्दै उसको घरमा पुर्याउन जानुपरेको पनि मैले देखेको छु । यसबाहेक रक्सी सेवन गर्दा व्यक्ति अनुभूति गर्न नसक्ने र निर्णय गर्न नसक्ने हुँदा उसको परिवार विखण्डन हुनुको साथै त्यस्ता व्यक्तिको जागिर, व्यवसाय चौपट भई दुर्घटनामा पर्न पनि सक्छ । त्यसैले जब रक्सी पिएको व्यक्ति पुलिसले देख्छ उसको लाइसेन्स खोसी दण्ड पनि गरिहाल्छ ।
एउटा मेरो साथी यस्तो पनि थियो कि जसको घरमा रक्सी खान बोलाएको छ अलिअलि पिइसकेपछि त्यहीँ खुवाउनेलाई पिट्न थाल्थ्यो । जसले खुवाउन बोलाएको त्यो परिवार नै घरबाट भाग्नुपर्दथ्यो । अर्को एउटा साथी छ जो रक्सी पिए कि सबैसँग पुराना कुराहरू सम्झीसम्झी निहुँ खोज्न आइपुगिहाल्छ । कोही–कोही व्यक्ति आफ्नै तालमा हाँसेर नाच्न वा गाउन थाल्ने पनि हुन्छन् । नसा लाग्ने चिज खाएका कारण ऊ मूर्ख भइहाल्छ र उत्तेजनामा आएका कारण गल्ती गर्न सक्ने हुँदा क्यासिनोजस्ता स्थानमा फोकटमा रक्सी खुवाई पैसा बढी खर्च गराउने रणनीति नै लिइएको हुन्छ । आज बन्दुक बोक्ने कर्मचारीले रक्सीको नसामा प्रसस्त ठूला क्षतिका घटना घटनाएका छन् । यस्तो खतरनाक ड्रग्स हाम्रो समाजमा बुझ्नै नबुझी सेवन गर्ने प्रचलन बढिरहेको छ । यसको विरोध सुरु हुनुपर्छ । कमसेकम हामी विवाह भोज, पार्टीमा रक्सी रँख्न बन्द गरौँ । रक्सीविरुद्ध अभियान सुरु गरौँ, मैले आफ्नो छोराको विवाहमा यो प्रयास गरेँ ।
प्रतिक्रिया