राजधानीका सार्वजनिक स्थानमा इन्टरनेट राख्ने काम अलपत्र

राजधानीका सार्वजनिक स्थानमा इन्टरनेट राख्ने काम अलपत्र


राजधानीका सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ ।

पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायत स्थानमा पनि इन्टरनेट राख्ने भनेपनि अर्थ अभावका कारण काम अघि बढ्न नसकेको काठमाडौँ महानगरपालिका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुर्व काफ्लेले जानकारी दिए ।

काफ्लेले एक स्थानमा इन्टरनेट राख्नका लागि ५५ लाख खर्च हुने हुँदा खर्चको स्रोत तत्काल नभएकाले काम अघि बढ्न नसकेको बताए । इन्टरनेट राख्नका लागि कामपा आफैँले गर्ने कि निजी कम्पनीलाई दिने भन्नेबारे पनि छलफल भएको नभएको काफ्लेको भनाई छ ।

पर्यटकीय दृष्टिकोणले महत्व बोकेका ऐतिहासिक सम्पदा र खुल्ला स्थानमा निःशुल्क इन्टरनेट राख्नसके उक्त स्थान मर्मत सम्भारको कार्य गर्नका लगि अन्यत्रबाट स्रोत खोज्नु नपर्ने र संख्यात्मकरुपमा आन्तरिक र बाह्य पर्यटकको संख्यामा पनि वृद्धि हुने महानगरको अपेक्षा छ ।

काठमाडौं महानगरपालिकाले २०७२ सालमा अवलोकन गर्न आउने आगन्तुकलाई मध्यनजर गर्दै रत्नपार्कमा निःशुल्क इन्टरनेट राखेको थियो । निःशुल्क इन्टरनेट राखेसँगै रत्नपार्क अवलोकन गर्न आउनेको संख्यामा वृद्धि भएको थियो ।