प्रदेश खटाइने कर्मचारीको एक तह बढुवा माग

प्रदेश खटाइने कर्मचारीको एक तह बढुवा माग


विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गर्न नेपाल निजामती कर्मचारी संगठनले सरकारलाई आग्रह गरेको छ । केन्द्रीय कार्यसमितिको तेस्रो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गरे संगठनका पदाधिकारी एवं सदस्य जुनसुकै ठाउँमा गएर काम गर्न तयार रहेको बताए । संघबाट प्रदेश तहमा कर्मचारी पठाउँदा जुनसुकै तहका कर्मचारीलाई एक श्रेणी बढुवा गरी पठाउनुपर्नेमा उनले जोड दिए ।

संगठनले वर्तमान सरकारबाट भएका पूर्वाग्रही ढंगका नियुक्ति, सरुवा, बढुवा, काजलगायतलाई खबरदारी गर्दै आएको छ । यसैगरी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा खटिएर निर्वाचन सफल गर्ने कर्मचारीलाई धन्यवाद दिनाका साथै कर्मचारी समायोजन गर्दा आधिकारिक ट्रेड युनियन र राष्ट्रियस्तरका ट्रेड युनियनसँग वार्ता र संवाद गर्नुपर्नेमा जोड दिएको छ ।

समाजमा व्याप्त भ्रष्टाचार न्यूनीकरणका लागि कर्मचारीले स्वच्छ, निष्पक्ष र पारदर्शी भएर काम गर्नुपर्ने, निजामती अस्पतालबाट दिने सुविधालाई सरल र सहज बनाउनुपर्ने, सेवा दिँदा पहिले आउने सेवाग्राहीलाई प्राथमिकता दिनुपर्ने, सेवाग्राहीको पहुँचका लागि नागरिक सहायता कक्ष स्थापना गर्नुपर्ने बताइएको छ ।

यसैगरी नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती राष्ट्रिय कर्मचारी संगठनबीच एकीकरणका लागि आवश्यक छलफल र संवाद अगाडि बढाइने भएको छ । सवारी चालक, हुलाकी हल्कारा, वन रक्षक कार्यालय सहयोगीलगायत श्रेणीविहीन पदलाई पाँचौँ तहबाट छैटौँ पदमा वृद्धि गर्न पनि माग गरिएको छ ।