काठमाण्डौं । एनेकपा माओवादीको राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुले शीर्ष नेताहरू गुटबन्दी अन्त्य गर्ने पूर्वप्रतिबद्धताविपरीत चलेको भन्दै आपत्ति जनाएका छन्। गुटबन्दी अन्त्य गर्ने सातौँ विस्तारित बैठकको निर्णयसमेत कुल्चँदै नेताहरू पुरानै ढर्रामा चल्न खोजेको उनीहरुको भनाइ छ। महाधिवेसन आयोजक समिति विस्तार सम्बन्धमा छलफल गर्न बुधबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा सदस्यहरुले विचार समूहका नाममा गुट उपगुटको अभ्यास गर्ने पुरानै शैली पछ्याएको भन्दै नेताहरुप्रति आक्रोश पोखेका हुन्। अध्यक्ष प्रचण्ड तथा उपाध्यक्षद्वय डा। बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले महाधिवेशन आयोजक समितिमा थप्ने नयाँ सदस्यको नामावली प्रस्ताव गरेको भन्दै सदस्यहरुले आपत्ति जनाएका हुन्। बैठकमा अध्यक्ष प्रचण्डले ६८ सदस्य थप गरी महाधिवेशन आयोजक समितिलाई १ सय ७५ सदस्यीय बनाउने प्रस्ताव गरेकाथिए।
कूल १ सय ४८ सदस्यीय केन्द्रीय समितिका ४१ सदस्यले पार्टीबाट बाहिरिएर मोहन वैद्य नेतृत्वमा नेकपा-माओवादी नामक नयाँ पार्टी गठन गरेका थिए। पार्टी विभाजनपछि पहिलोपटक गत साउन २ देखि ५ गतेसम्म राजधानीमा बसेको सातौँ विस्तारित बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेसँगै महाधिवेशन आयोजक समिति विस्तार गर्ने निर्णय गरेको थियो। बढुवाको स्पष्ट मापदण्डबिना जथाभावी निर्णय गर्न लागिएको गुनासो महाधिवेशन आयोजक समिति सदस्यहरुको छ। उनीहरुले विस्तारित बैठकले महिला, दलित, आदिवासी जनजाति र वरिष्ठतालाई पदोन्नतिको आधार बनाउने निर्णय गरेपनि शीर्ष नेताहरुले गुटगत संलग्नताको आधारमा आफू निकटकालाई प्राथमिकता दिएको बताए।
बैठकमा राज्य समिति इन्चार्जहरुले आयोजक समिति विस्तारका लागि शीर्ष नेतृत्वलाई सुझाव दिन गठित आयोगले आफूहरूसँग समन्वय नगरी स्वेच्छाचारी ढंगले नाम सिफारिस गरेको भन्दै आपत्ति जनाएको बुझिएको छ। नेता कृष्णबहादुर महरा नेतृत्वको आयोगले करिब २ सयजनाको नाम बढुवाका लागि प्रस्ताव गरेको हो। बैठकअघि आयोगका सदस्य समेतको उपस्थितिमा अध्यक्ष प्रचण्डको लाजिम्पाटस्थित निवासमा बुधबार बिहान भएको कार्यालयको छलफलले २ सय मध्येबाट ६८ जनाको नाम टुंगो लगाएको थियो। माओवादीले विस्तारित बैठकबाट केन्द्रीय समिति भंग गरेसँगै अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय भट्टराई र श्रेष्ठ तथा सचिव पोष्टबहादुर बोगटी सदस्य रहेको कार्यालय गठन गरेको थियो।
मोहन वैद्य समूहमा रहेका तत्कालीन केन्द्रीय सदस्य जोखबहादुर महरा “प्रताप” एकीकृत नेकपा माओवादीमै फर्केकाछन् । पुरानै पार्टी फर्किएका महरा बुधबार पार्टी कार्यालय कोटेश्वरमा बसेको राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकमा सहभागी भएकाछन् । वैद्य समूहमा सक्रियतापूर्व लागेका महरा पार्टी विभाजनपछि भने निस्क्रिय रहँदै आएकाथिए । वैद्य समूहले क्रान्ति र विद्रोहको भ्रम दिएर पार्टी फुटाउने आत्मघाती काम गरेकाले आफू सो समूहबाट अलग भएको महराको भनाइछ।-देब, काठमाण्डौं, मेस
प्रतिक्रिया