‘ओलम्पिक कूटनीति’ र कोरियाली एकताको सपना

‘ओलम्पिक कूटनीति’ र कोरियाली एकताको सपना


– मनोज रिजाल, न्युयोर्क

उत्तर कोरियाको हेलचेक्र्याइँपूर्ण मिसाइल र आणविक परीक्षणबाट त्राहीमाम बनेका दक्षिण कोरियाली जनताले ‘लिटल रकेट म्यान’को उपनामसमेत पाएका उत्तर कोरियाली शासक किम जोङ–उनको ‘बालापना’लाई नजरअन्दाज गर्दै अर्को महिना दक्षिण कोरियाको प्योनचाङमा हुने शीतकालीन (विन्टर) ओलम्पिकमा सहभागी हुन निम्तो पठाएका छन् । बच्चाले चकचक ग¥यो भन्दैमा अभिभावकले बच्चाको रेखदेख र हेरचाह गर्न छाड्दैनन् । दक्षिण कोरियाले अहिले यस्तै सुझबुझपूर्ण व्यवहार प्रदर्शन गरेको छ । बच्चाहरूलाई खेलकुद मनपर्छ र खेलकुदको प्रस्ताव आएमा उनीहरूले नाइँ नै भनिहाल्ने सम्भावना अत्यन्त कम हुन्छ भन्ने मनोविज्ञान दक्षिण कोरियाले राम्ररी बुझेको हुनुपर्छ । र भयो पनि त्यस्तै ।

कहिले दुई खुट्टा आकाशतिर फर्काएर, अनि दुई हातले तल भुइँमा टेकेर फन्को लगाउँदै गरेको किमको भिडियो सार्वजनिक हुन्छ त कहिले अनौठो तरिकाले बन्दुकबाजी गरिरहेको उनको तस्बिर बाहिर आउँछ । अजीव र उट्पट्याङ खेलकुदहरूमा उनको गहिरो अभिरुचि रहेको तथ्य दक्षिण कोरियाले पक्कै पनि विश्लेषण गरेको हुनुपर्छ । शीतकालीन ओलम्पिक चिसो मौसममा खेलिने खेल हो, सामान्य तापक्रममा खेलिने खेल होइन । खेलकुदमा ‘एड्भेन्चर’ खोज्नेहरूलाई शीतकालीन ओलम्पिकले एकप्रकारले आकर्षित गरिरहेको नै हुन्छ । दक्षिण कोरियाले उत्तर कोरियाली शासकको यही मनोविज्ञानलाई ‘क्यास’ गर्न चाह्यो र बल उत्तरतर्फ फ्याँक्यो । उत्तरले उक्त बललाई बेवास्ता गर्छ वा दक्षिणतर्फ फ्याँक्छ भन्ने कुतूहल सबैमा थियो । धेरै सोचविचारपछि एघारौँ घडीमा आएर उत्तरले उक्त बल दक्षिणतर्फ फ्याँक्यो । त्यो बल अब ‘भली’ भयो, ‘भली’ भएपछि ‘पास’ भयो र ‘पास’ भएपछि एउटा ‘गेम’को सिर्जना भयो । एउटा ‘गेम’ले दुवै प्रतिस्पर्धी समूहलाई एउटा पद्धतिमा आबद्ध गराउँछ र ‘इङ्गेज’ गराइराख्छ । उनीहरूले खेलको भावनाअनुरूप खेल्नुपर्छ, जितेमा वा हारेमा पनि हाँसीखुसी रहनुपर्छ र खेलको परिणामलाई सहज रूपमा स्वीकार गर्नुपर्छ ।

एउटा खेलले खेल्नुपुर्व एक–अर्काप्रति दिमागको अन्तरकुन्तरमा रहेको नकारात्मक पारोलाई पगालिदिन्छ । यसलाई ‘रिट्रिट’ भन्न सकिन्छ । ‘रिट्रिट’ भएपछि दिमाग ठण्डा हुन्छ । त्यसै पनि चिसो मौसमको ओलम्पिकले दिमाग ठण्डा पार्ने नै भयो । एकचोटि दिमाग ठण्डा भइसकेपछि अनि बल्ल सकारात्मक सोचको विकास हुन्छ । सकारात्मक सोचको विकास भएपछि सपना देख्न पाइन्छ । सपना देख्न थालेपछि त्यो सपना पूरा हुन्छ कि भनेर आशा गर्न पाइन्छ । आखिर आशामै त अडिएको हुन्छ जीवन ! दक्षिण कोरियाली जनताले पनि अब सपना देख्न थालेका छन् । अनि उत्तर र दक्षिण कोरियाको एकीकरण भइहाल्छ कि भनेर आशा गर्न थालेका छन् । एकीकरण यद्यपि अझै धेरै टाढाको कुरा हो, तर सपना साँच्न र आशा सिञ्चित गर्नबाट उनीहरू हतोत्साही भएका छैनन् ।

यदि घटनाहरूले कुनै नाटकीय मोड लिएनन् भने उत्तर कोरियाले दक्षिण कोरियाको प्योन्चाङमा यही फेब्रुअरी ९–२५, २०१८ मा हुने शीतकालीन ओलम्पिकमा भाग लिन आफ्ना खेलाडी र खेलको रिपोर्टिङ गर्न पत्रकारहरू पठाउनेछ । साथै खेलाडीलाई हौसला प्रदान गर्न करिब २३० को सङ्ख्यामा हर्षोल्लास गर्ने दर्शकहरू (चियरलिडर्स) पनि पठाउनेछ । उत्तर र दक्षिणका हिउँमा चिप्लिने खेल (स्किइङ)का खेलाडीले उत्तर कोरियाको एक रिसोर्टमा संयुक्त अभ्यास गर्नेछन् । उत्तर र दक्षिणका महिला हकी खेलाडीले एउटै टिमको रूपमा ओलम्पिकमा भाग लिनेछन् । एक अर्को शहरमा संयुक्त सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ । र, सबैभन्दा महत्वपूर्ण घटनाको रूपमा ओलम्पिक खेलकुदमा उत्तर र दक्षिण कोरियाका खेलाडीले एउटै संयुक्त झन्डामुनि आबद्ध भएर संयुक्त मार्चपास गर्नेछन् । उक्त झन्डा चानचुने झन्डा हुनेछैन । त्यो न त उत्तर कोरियाको हुनेछ, न त दक्षिण कोरियाको नै । उक्त झन्डालाई एकीकरणको झन भनिएको छ । यसमा सेतो पृष्ठभूमिमा नीलो रङको कोरिया प्रायद्वीपको नक्सा राखिएको हुनेछ । त्यस नक्सालाई कुनै कृत्रिम ‘३८ प्यारालल लाइन’ (उत्तर र दक्षिण कोरियाबीचको हालको विभाजन रेखा)ले विभक्त गरेको हुनेछैन । सिङ्गो र अविभाजित कोरिया प्रायद्वीपको नक्सा सर्लक्क राखिएको हुनेछ ।

नाटकीय जस्तो लाग्ने घटनाको विकासक्रम रातारात यहाँसम्म आइपुगेको भने होइन । पर्दापछाडिका कैयन सकारात्मक कूटनीतिक पहलकदमीहरूको परिणाम हो यो अहिलेको विकसित घटनाक्रम । गत डिसेम्बर पहिलो साता संयुक्त राष्ट्रसङ्घका एक उच्च राजनीतिक अधिकारी जेफरी फेल्टम्यानले उत्तर कोरियाको भ्रमण गरेका थिए । उनको भ्रमणले उत्तर कोरियालाई एक हदसम्म भए पनि ‘रिट्रिट’ गर्न मद्दत पु¥याएको मानिन्छ । तत्पश्चात् दक्षिण कोरियाली सरकार र यसअन्तर्गतको एकीकरण मन्त्रालयले आफ्नो कूटनीतिक पहल जारी नै राख्यो । उत्तर र दक्षिण कोरियाली ओलम्पिक टोलीले संयुक्त रूपमा मार्चपास गर्ने तथ्यलाई कतिपय दक्षिण कोरियाली जनताले नै रुचाएका छैनन् । उनीहरूको मुख्य तर्कको रूपमा हिजोसम्म दक्षिण कोरियाको आकाशमा मिसाइल र आणविक अस्त्रको वर्षा गराउने उत्तर कोरियालाई एउटै झन्डामुनि ल्याउनुहुन्न भन्ने रहेको छ । तर, बृहत्तर शान्तिको निम्ति दक्षिण कोरियाली जनताले सानो चित्त गर्नुहुँदैन भन्ने पक्षमा बढी जनमत देखिएको छ ।

‘उत्तर र दक्षिण कोरियाको जमेर बरफजस्तो भएको सम्बन्धलाई पगाल्ने र न्यानो बनाउने अवसर हो यो ओलम्पिकको संयुक्त मार्चपास,’ दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले भनेका छन् ।

यसैबीच सेटेलाइटबाट खिचिएका तस्बिरहरूको हवाला दिंदै केही सञ्चारमाध्यमले ओलम्पिक खेल शुरु हुनुभन्दा एक दिनअघि फेब्रुअरी ८ मा उत्तर कोरियाले विशाल सैन्य परेडको आयोजना गर्दैै छ भन्ने तथ्यको खुलासा गरेका छन् । तर, उक्त परेड उत्तर कोरियाले आफ्नो सेना स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउन आयोजना गर्न लागेको हो र उक्त घटनाको ओलम्पिक खेलको आयोजनासँग कुनै सम्बन्ध हुनेछैन भन्ने तथ्यसमेत बाहिर आएको छ ।

अहिलेसम्मको घटनाक्रम हेर्दा उत्तर कोरियाले ओलम्पिक खेलकुदबाट हात झिक्ने सम्भावना कम नै देखिन्छ । तर, जुन देश एउटा सिस्टममा आधारित नभई शासकको क्षणिक मुडमा आधारित भएर चल्दछ, जहाँ औँला ठड्याउने सचेत नागरिक समाज र मिडिया अस्तित्वमा नै छैन, जहाँ संवैधानिक रूपमै एकदलीय निरङ्कुश पुस्तैनी शासनको हैकम चल्छ, त्यस देशबारे भविष्यवाणी गरिहाल्नु अलिक हतार गरेजस्तो त हुन्छ नै । यद्यपि, एकीकरण र÷वा शान्ति चाहने उत्तर र दक्षिण दुवैतर्फका जनताले देखेको सपनालाई अवमूल्यन गर्ने अधिकार कसैमाथि रहनेछैन ।

साथै, दुवैतर्फका जनताले सिञ्चित गरेको आशा, भरोसामाथि तुषारापात गर्ने अधिकारसमेत कसैमाथि रहने छैन । एकीकरण हुनु, नहुनु आफ्नो ठाउँमा छ, तर सम्बन्ध सामान्यीकरण गर्न चालिएका हरेक कदमहरूलाई सकारात्मक रूपमा नै लिनुपर्ने हुन्छ । यो चिसो घनघोर हिउँ पर्ने मौसमको शीतकालीन ओलम्पिकमा उत्तर र दक्षिण कोरियाका खेलाडीहरू जति–जति हिउँमा सुलुलु चिप्लिँदै बग्नेछन्, त्यति–त्यति उनीहरूका मनहरू कञ्चन, सफा र सुन्दर हुँदै जानेछन्, विकार र प्रदूषण मुक्त हँुदै जानेछन्, निस्पट्ट हुस्सुका बीचमा चाँदीका धर्साहरू देखिन थाल्नेछन्, बादल फाट्दै जानेछ, अनि आकाश पनि स्निग्ध नीलो देखिन थाल्नेछ, किनकि त्यस वेलासम्ममा घामका सुनौला किरणहरू धरतीमा पदार्पण गर्न लालयित हुन थालिसकेका हुनेछन् ।

Email: [email protected]