जरा छोडेर पात-पातमा काङ्ग्रेसका युवा !

जरा छोडेर पात-पातमा काङ्ग्रेसका युवा !


यादव शर्मा

जबसम्म ऊर्जा र क्षमता रहन्छ तबसम्म मानिस या मानिसको समूहमा आफ्नो पौरखमाथि विश्वास हुन्छ र अर्काको दुर्दिनमा आफ्नो भविष्य खोज्दैन । अर्को पक्षको बर्बादीमा मात्र आफ्नो भविष्य सुरक्षित कसैले ठान्न थाल्छ भने बुझ्नुपर्छ– ‘यो शक्ति या व्यक्ति खोक्रिएर ऊर्जा, आत्मविश्वास र क्षमताविहीन बनिसकेको छ ।’ नेपालको राजनीतिक सन्दर्भमा नेपाली काङ्ग्रेस यतिबेला आफ्नो सुरक्षित भविष्यका निम्ति अर्को पक्षको बर्बादीको प्रतीक्षा गर्नुपर्ने अवस्थामा पुगेको महसुस गर्न थालिएको छ ।

आफ्नो मौलिक विचारहरूको अन्त्येष्टिपश्चात् काङ्ग्रेस पञ्च र कम्युनिष्ट बन्न नसकेका मानिसको भिडमा रूपान्तरित भएको छ । तात्कालिक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजित भएको (२०५६ को निर्वाचन) अवस्थामा स्पष्ट बहुमत हासिल गर्न सक्ने काङ्ग्रेस यसपटक (२०७४ मा) कम्युनिष्टहरू एकजुट हुँदा प्रत्यक्षतर्फ ‘तेस्रो’ हुन पुग्यो । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमै नेपाली काङ्ग्रेसले सर्वाधिक प्रतिकूल चुनावी परिणाम व्यहोरेको छ । विचारविहीन बन्दै गएको पार्टीको शीर्षस्थ नेतृत्व प्रभावहीन हुँदा जुनस्तरको परिणाम हात लाग्ने हो, ठ्याक्कै त्यस्तै परिणाम काङ्ग्रेसले व्यहोरेको छ ।

संविधानसभाको नाममा संविधान जारी गर्न अगुवाइ गरेको दाबी गर्ने नेपाली काङ्ग्रेस संविधान कार्यान्वयनको क्रममा भएको पहिलो संसदीय निर्वाचनमा यसरी पछारियो कि अबचाहिँ यसले पाठ सिक्ला र आफूलाई सुधार गर्ने प्रतिबद्धतासहित मौलिक स्वरूप (अर्थात् २०६३ को परिवर्तनअघिको अवस्था) मा फर्कला भन्ने आशा गरिएको थियो । तर, शेरबहादुर देउवाको नेतृत्वमा रहेको काङ्ग्रेस पार्टीले न आफूलाई बदल्न खोज्यो, न त्यस पार्टीको नयाँ पुस्ताले नै साँचो अर्थको परिवर्तन खोजे ।

चुनावमा पराजयपश्चात् आफूलाई युवा दाबी गर्ने केही नेताहरू निकै जुर्मुराएका देख्दा लाग्थ्यो– ‘काङ्ग्रेसमा अब यिनले ज्यान भर्ने भए ।’ तर, समय बित्दै जाँदा युवा नेताहरू पनि ‘कुँडाकर्कट’स्तरका नेताहरूभन्दा धेरै भिन्न देखिन खोजेनन् । पार्टीलाई सुधार गर्नुपर्छ त भन्छन्, तर सुधारको प्रारम्भ कहाँबाट गरिनुपर्छ र कहाँसम्म पुऱ्याउनुपर्छ भन्ने विषयमा युवा भनिने पुस्ता पनि इमानदार र स्पष्ट देखिएन । मानिसहरू काङ्ग्रेसलाई समर्थन गर्नुपर्ने या मतदान गर्नुपर्ने कारण खोज्दै छन्, ‘कारण’ निर्माण गर्न युवाहरूले पनि नसक्ने–नचाहने सङ्केतहरू देखिँदै छन् ।

कम्युनिष्टलाई समर्थन गर्नु भनेको गणतन्त्र र धर्मनिरपेक्षतासहितको राजनीतिक व्यवस्थामा सहमति जनाउनु हो भन्ने बुझिन्छ । मधेसकेन्द्रित समूहहरूलाई समर्थन गर्नु भनेकै सङ्घीयता र क्षेत्रीयतावादलाई आत्मसात् गर्नु हो भन्ने पनि स्पष्ट छ । कम्युनिष्ट र मधेसकेन्द्रित समूहहरू समानुपातिक–समावेशी प्रतिनिधित्वसहितको संसदीय प्रजातन्त्रको समर्थनमा छन् । विश्वमा प्रचलित र नेपाली काङ्ग्रेसले चाहेजस्तो संसदीय प्रजातन्त्र यो होइन, जुन हामीले अहिले व्यहोरिरहेका छौँ । यसरी धर्मनिरपेक्षता, गणतन्त्र, सङ्घीयता र वर्णशङ्कर संसदीय प्रजातन्त्रका पक्षमा रहेकाहरूले कम्युनिष्ट र समतल भूभागकेन्द्रित राजनीतिक दलहरूलाई समर्थन गर्ने गरेको यस स्थितिमा काङ्ग्रेसलाई चाहिँ कस्ता मानिसले समर्थन गर्न सक्छन् भन्ने प्रश्न उठेको छ, तर नयाँ पुस्ताका नेताहरू पनि यस प्रश्नको जवाफ खोज्न असमर्थ छन् ।

कुनै बेला नेपाली काङ्ग्रेस आफ्नै मौलिक विचारले भरिपूर्ण थियो । राष्ट्रियता, संवैधानिक राजसंस्थासहितको बहुलवादमा आधारित संसदीय प्रजातन्त्र र समाजवादी आर्थिक कार्यक्रमको पक्षमा काङ्ग्रेस दृढतापूर्वक उभिएको थियो । धर्मसापेक्षताप्रति मौन सहमति जनाएर काङ्ग्रेसले हिन्दू अधिराज्यको पहिचान जोगाउन पनि सहयोग पुऱ्याएको थियो । नेपाली जनता जो गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा छन् तिनले कम्युनिष्टलाई, जो सङ्घीयता र क्षेत्रीयतावादका पक्षमा छन् तिनले समतल भूमिकेन्द्रित समूहलाई मतदान गरेझैँ बहुलवादमा आधारित संसदीय व्यवस्था, राष्ट्रियता, संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र समाजवादी आर्थिक कार्यक्रमलाई समर्थन गर्नेहरूले नेपाली काङ्ग्रेसलाई मतदान गर्ने गर्दथे । अब केका लागि काङ्ग्रेस पार्टीलाई मतदान गर्ने भन्ने प्रभावकारी कारण या जवाफको सृष्टि नगरीकन काङ्ग्रेसप्रति जनआकर्षण वृद्धि गर्न सम्भव देखिएको छैन, तर युवा नेताहरूबाट पनि यसप्रकारको जागरण र जाँगर प्रस्तुत हुन सकिरहेको छैन । शेरबहादुर देउवाजी अलिक अस्पष्ट रूपमा जे बोल्ने गर्नुहुन्छ काङ्ग्रेसका युवाहरू त्यही कुरा अलिक स्पष्ट रूपमा प्रस्तुत गर्ने गर्दछन् ।

नेपाली जनता जो गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा छन् तिनले कम्युनिष्टलाई, जो सङ्घीयता र क्षेत्रीयतावादका पक्षमा छन् तिनले समतल भूमिकेन्द्रित समूहलाई मतदान गरेझैँ बहुलवादमा आधारित संसदीय व्यवस्था, राष्ट्रियता, संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र समाजवादी आर्थिक कार्यक्रमलाई समर्थन गर्नेहरूले नेपाली काङ्ग्रेसलाई मतदान गर्ने गर्दथे । अब केका लागि काङ्ग्रेस पार्टीलाई मतदान गर्ने भन्ने प्रभावकारी कारण या जवाफको सृष्टि नगरीकन काङ्ग्रेसप्रति जनआकर्षण वृद्धि गर्न सम्भव देखिएको छैन, तर युवा नेताहरूबाट पनि यसप्रकारको जागरण र जाँगर प्रस्तुत हुन सकिरहेको छैन । शेरबहादुर देउवाजी अलिक अस्पष्ट रूपमा जे बोल्ने गर्नुहुन्छ काङ्ग्रेसका युवाहरू त्यही कुरा अलिक स्पष्ट रूपमा प्रस्तुत गर्ने गर्दछन् ।

यदि कुनै ‘इन्टेलिजेन्ट’ या इन्टेलिजेन्ट मानिने त्यस्तै कसैसँग कुनै प्रश्नको स्पष्ट जवाफ हुँदैन भने त्यस्ता मानिसको जवाफ निकै रमाइलो हुने गर्दछ । यसप्रकारका मानिसलाई ‘देशको स्थिरता र समृद्धिका निम्ति के गर्नुपर्ला’ भन्ने प्रश्न राखियो भने तिनको जवाफ हुनेगर्छ, ‘सबै मिल्नुपर्छ, सबैले राम्रो गर्नुपर्छ, इमानदारीका साथ काम गर्नुपर्छ, स्पष्ट दृष्टिकोण र दूरदृष्टि राख्नुपर्छ, भ्रष्टाचार तथा अनियमिततालाई नियन्त्रण गरिनुपर्छ,’ आदि आदि ।

यस्तो मीठो जवाफ दिने व्यक्तिलाई सबै कसरी मिल्न सकिन्छ, के–के गरेपछि राम्रो हुन्छ, कसरी काम गरियो भने इमानदारी झल्कन्छ, के–के विषयमा कस्तो दृष्टिकोण राख्नुपर्छ, दूरदृष्टि राख्नु भनेको के हो र भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्न के–कस्ता कदम चालिनुपर्छ भन्नेजस्ता प्रश्न राखियो भने तिनको मुख बन्द हुन पुग्छ । टाँक भनेको के हो भन्ने प्रश्न गर्दा जानकार मानिसको जवाफ हुन्छ, ‘यो हड्डी या प्लास्टिकबाट बनेको, पहिरनमा प्रयोग हुने कपडाको दुई तर्फी भागलाई जोड्न प्रयोग हुने वस्तु ।’ तर, टाँकबारे जानकारी नभएको मानिसले दिने जवाफ बेग्लै हुन सक्छ, ‘टाँक भनेको अत्यन्तै राम्रो कुरा हो, यो मानिसका लागि अति उपयोगी हुन्छ, टाँक हाम्रा लागि नभइनहुने कुरा हो, टाँकबिना हामी बाँच्न सक्दैनौँ ।’

काङ्ग्रेसको युवा पुस्ताका नेताहरू पनि काङ्ग्रेसलाई बदल्ने सवालमा यसरी नै जवाफ दिँदै छन्, जसरी ‘टाँक’बारे ज्ञान नभएकाहरूले जवाफ दिने गर्दछन् । समस्या जरामा छ, पातका कुरा गर्दै छन् युवाहरू । उनीहरू भन्छन्, ‘पार्टी सुधार हुनुपर्छ, सबै मिलेर सबैलाई मिलाएर अघि बढ्नुपर्छ, प्रजातान्त्रिक पद्धति र व्यवहार हुनुपर्छ, मुद्दामा स्पष्ट दृष्टिकोण राख्नुपर्छ, महासमिति या विशेष महाधिवेशन बोलाएर छलफल गरिनुपर्छ, सबैले सोचमा परिवर्तन ल्याउनुपर्छ, परिवर्तन आफैँभित्रबाट सुरु गरिनुपर्छ,’ आदि–आदि । तर, कुन मुद्दामा कस्तो दृष्टिकोण राखिनुपर्छ र के–के कुरामा कसरी परिवर्तन ल्याइनुपर्छ भन्नेबारेमा युवा नेताहरू पनि स्पष्ट देखिएनन् ।

शेरबहादुर देउवाभन्दा जवान हुनु वा देउवाले भन्दा स्पष्ट रूपमा बोल्न सक्नु नै ओरालो लागेको काङ्ग्रेस सुध्रने कारण बन्न सक्दैन । मूल कुरा एजेण्डा हो, राष्ट्रियता एकल वा बहुल, संसदीय प्रजातन्त्र, समाजवाद, संवैधानिक राजतन्त्र र हिन्दूराज्यलगायतका एजेण्डामा काङ्ग्रेसले स्पष्ट र सकारात्मक दृष्टिकोण बनाउन सक्दा मात्र काङ्ग्रेसको विशिष्टता झल्कने र उसलाई मतदान गर्न कारणको प्रादुर्भाव हुने हो । तर, युवाहरू मूल एजेण्डाबारे मौन छन् । शेरबहादुर या रामचन्द्रले सकेनन्, हामी सक्छौँ भन्ने दाबी प्रस्तुत गरेकै आधारमा मानिसले विश्वास गर्नुपर्छ भन्ने होइन ।

काङ्ग्रेसबाहेक बाँकी सबै (४ वटै) राष्ट्रिय राजनीतिक दलहरू आ–आफ्नो विचार–मान्यताका कारण विशिष्ट देखिन्छन् । ठीक या बेठीक जे भए पनि उनीहरूसँग विचार–दर्शनको विशिष्टता छ, तर नेपाली काङ्ग्रेसको भने विचारविहीनतालाई नै विशिष्टता मान्नुपर्ने स्थिति छ । युवा नेताहरू कोही शेरबहादुर त कोही रामचन्द्र र कोही कोइराला थरीलाई पछ्याउँदै छन् । तिनको आशीर्वादमा नेता बन्न प्रयासरत युवाहरूले काङ्ग्रेस बदल्ने अठोट प्रकट गरिरहँदा समाजमा हास्यरसको भेल बग्न पुगेको छ ।

काङ्ग्रेसलाई बदल्ने एउटा ऐतिहासिक अवसर उक्त पार्टीका नेता–कार्यकर्तालाई आएको थियो, प्राप्त अवसरको उपपयोग गर्ने क्षमता काङ्ग्रेसको युवापुस्तामा देखिएन । सिलसिला मिलाएर आफ्नो कुरा राम्रोसँग प्रस्तुत गर्न त टुँडिखेलमा औषधि बिक्री गर्नेले पनि सक्छन् । मूल कुरा कस्तो ‘कुरा’ प्रस्तुत गर्ने र व्यवहारमा कसरी परिवर्तन ल्याउने भन्ने हो, यस प्रश्नमा युवा पुस्ताका नेताहरू पूर्ण रूपले चुकेका छन् । जरा छोडेर पात–पातको शयर गर्दा अरूको आँखामा त पर्न सकिन्छ, तर समस्याको समाधान हुने र पार्टीमा परिवर्तन आउने कल्पनाचाहिँ कदापि गर्न सकिँदैन ।