झापामा अठार हजारले गराए स्वास्थ्य-बीमा

झापामा अठार हजारले गराए स्वास्थ्य-बीमा


स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको लगभग साढे तीन महिना अवधिमा झापामा १८ हजार बढीले स्वास्थ्य बीमा गराएका छन् ।

असोज २५ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा चारहजार २५६ घरधुरीका १८ हजार २१२ जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक रमेन्द्रप्रसाद कुशवाहले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमाका लागि मेची आँखा अस्पताल बिर्तामोड, शनिश्चरे, धुलावारी, सुरुङ्गा, शिवगञ्ज, खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र, बनियानी स्वास्थ केन्द्र, मेची अञ्चल अस्पताल भद्रपुर र आम्दा अस्पताल दमकलाई तोकिएको छ । एकसय ९२ जना अभिकर्ताले स्वास्थ्य बीमा गर्दै आएको प्रबन्धक कुशवाहले बताउनु भयो ।

पाँच जनासम्मको परिवारले वार्षिक दुई हजार ५०० सेवा शुल्क तिरेर स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाउने प्रावधान छ । पाँच जनादेखि बढी सदस्य भएको परिवारले ४२५ अतिरिक्त रकम तिरेर सदस्य बन्नु पर्नेछ । सदस्य भएपश्चात सो परिवारलाई वार्षिक ५० हजार रुपैँयाको उपचार खर्च प्रदान गरिने व्यवस्था गरिएको बताइएको छ ।