नयाँ विधामा खेलकुद पत्रकारलाई पुरस्कृत गरिने

नयाँ विधामा खेलकुद पत्रकारलाई पुरस्कृत गरिने


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीलाई हरेक वर्ष प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्ड–२०७३ माघ २७ गते प्रदान गर्ने भएको छ ।

टोखामा हुने कार्यक्रममा विभिन्न ३५ खेलका खेलाडीलाई अवार्ड प्रदान गरिने खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराएका छन् । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश खेलका खेलाडीलाई पुरस्कृत गर्न लागिएको हो । यसअघि विभिन्न २५ खेलका खेलाडीलाई अवार्ड प्रदान गरिएको थियो ।

यो पटक फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, उसु, बक्सिङ, एथलेटिक्स, भलिबल, भारोत्तोलन, पौडी, जुडो, आर्चरी, सुटिङ, कुस्ती, लनटेनिस, सफ्ट टेनिस, टेबलटेनिस, कबड्डी, जिम्न्याष्टिक, बास्केटबल, ह्यान्डबल, हक्की, बुद्धिचाल, साइक्लिङ, स्क्वास, ट्रायथलन, खो खो,, स्नुकर तथा विलियर्ड, फेन्सिङ, शारीरिक सुगठन, ब्याडमिन्टन, आईटीएफ तेक्वान्दो, सेपाकताक्रो, फुल कन्ट्याक्ट कराते र गल्फका खेलाडी सम्मानित हुनेछन् । उनीहरुलाई जनही १० हजार नगद र अवार्ड प्रदान गरिने छ ।

त्यस्तै धावक स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट एक खेलाडीलाई सम्मान गरिने छ । यो अवार्डको रकम २५ हजार गजराज जोशी ट्रष्टले प्रायोजन गर्नेछ । यसपटकदेखि एक नयाँ विधा पनि थप गरिएको खेलाडी संघले जनाएको छ । नयाँ विधामा एक खेल पत्रकारलाई ‘एनएनआईपीए पत्रकारिता’ पुरस्कार रहेको छ । यो अवार्डको राशी १५ हजार रुपैयाँ रहेको छ ।